‘मिडिया’ र ‘सम्वाददाता’ : दुई लघुकथा

हस्तलिखित खबर पढेपछि सम्वाददाता उफ्रिए, ‘यस्ता खबर लेख्छन् कहीँ ? आजका केटाहरू आफूलाई पत्रकार ठान्न थाले।’

नेपालभ्युज

‘मिडिया’ र ‘सम्वाददाता’ : दुई लघुकथा

मिडिया

–विश्वम्भर प्रसाद चन्द्रा

उनले तीन जना व्यक्तिलाई बाढीले बगाउनबाट बचाएका थिए। सबैजसो मिडिया च्यानलले उनको बहादुरीको प्रशंसा गर्‍यो। सबै च्यानलमा उनी ‘हट ब्रेकिङ न्यूज’ बनेर देशकै हिरो बने।

एउटा च्यानलवाला भने उनीसँग माफी माग्दै प्रायश्चित गर्न आए। किनभने उक्त च्यानलले उनको बहादुरीको प्रत्यक्ष फोटोग्राफी गर्न पाएको थिएन। उनी चाहन्थे कि, उक्त कामका लागि उनले राष्ट्रिय पुरस्कार पाउन्। त्यसका निम्ति उनी बेग्लै किसिमको फोटोग्राफी गर्न चाहन्थे।

मिडियावालाले उनलाई उर्लिरहेको नदीमा कुद्नका निम्ति तयार तुल्याए। उनी प्रसिद्धि र पुरस्कारका लागि उर्लिरहेको नदीमा कुदे। विभिन्न एंगलमा उनको फोटो लिन थालियो।

अचानक नदीमा ज्वारभाटा उब्जियो र नदीले उनलाई सधैँका निम्ति बगाएर लग्यो। नदीले उनको जिन्दगीलाई ‘रिटेक’ गर्ने अवसर नै दिएन। उनलाई थाहा थिएन, प्रत्यक्ष प्रसारणको ‘रिटेक’ केवल मिडियामा हुन्छ, वास्तविक जिन्दगीमा हुँदैन।

०००

सम्वाददाता

–दीपक ‘मशाल’

नवरात्रीको दिनमा एउटा सानो शहरको एक्लो सिनेमाघरमा चलिरहेको अश्लील फिल्मको अश्लील पोस्टर हरेक दश कदममा देखिन्थे। बाटो हिँडिरहेका युवती–महिलाहरू असहज ठान्दै लाजले भुइँतिर हेर्न बाध्य देखिन्थे। आवाराहरूको छेडछाड बढ्न थाल्यो।

आक्रोशित हुँदै उनले र उनका कैयौँ साथीहरूले अश्लील फिल्मको विरोधमा आन्दोलन गर्ने योजना बनाए। उनीहरूले सबभन्दा पहिला चेतावनीस्वरुप एक खबर बनाए र प्रसिद्ध अखबारको नगर सम्वाददाताको कार्यालयमा गएर दिए।

हस्तलिखित खबर पढेपछि सम्वाददाता उफ्रिए, ‘यस्ता खबर लेख्छन् कहीँ ? आजका केटाहरू आफूलाई पत्रकार ठान्न थाले।’

युवाहरूले अनुनय गरेपछि सम्वाददाताले भने, ‘ठीक छ, तिमीहरू जाउ। म यो खबरलाई मिलाएर प्रेसमा पठाइदिन्छु।’

दोस्रो दिन अखबारको साना शहरका निश्चित पानामा यसरी समाचार आयो, ‘नवरात्रीको पावन समयमा नगरमा चलिरहेको अश्लील फिल्मको विरोधमा शहरका युवाले एकजुट भएर आन्दोलन गर्ने तयारी गरेका छन्। उनीहरूले आगामी योजनाबारे एक गोप्य स्थानमा बैठक राखेका थिए। अतः धेरै दिलोज्यान दिएर हाम्रा खोजी सम्वाददाताले उनीहरूले बैठक राखेको गोप्य स्थान फेला पारे…।’

(पाखी (हिन्दी साहित्यिक मासिक) को मार्च २०११ को अंकबाट भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved