राष्ट्रिय सभा बैठक

एमालेका सांसदको विरोध बाबजुद तीन ओटा विधेयक पारित

नेपालभ्युज

एमालेका सांसदको विरोध बाबजुद तीन ओटा विधेयक पारित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूको बहिष्कारबीच राष्ट्रियसभा बैठकले बजेटसँग सम्बन्धित विभिन्न तीन ओटा विधेयक पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको छ।

त्यसअघि बैठकमा अर्थमन्त्री जनार्दन शर्माले तीनवटै विधेयकलाई मूल रूपमा नै सुझाव दिन पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए। बैठकमा अर्थमन्त्रीले उक्त विधेयक पेश गर्दा एमालेका सांसदहरूले विरोध जनाएका थिए।

एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ। एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्‍याएर मुलुकलाई हानि पुर्‍याएकाले त्यसको निष्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताए।

बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरूको माग रहेको र एमाले संसदीय दलको बैठकले उक्त माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उनले बताए।

त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए। एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची बढाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved