निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री श्रेष्ठ

नेपालभ्युज

निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री श्रेष्ठ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन्।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीको रिले अनशनलाई भर्चुअल रुपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए। उनले भने, “अदालतको सम्मान गर्दै राष्ट्रको गौरवको आयोजना यो अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। यो कामलाई हामी अगाडि बढाउँछौँ। सरकारलाई दबाब दिने उद्देश्यले सुरु गरिएको रिले अनशनको अन्त्य गर्नुपर्छ।’’

यो विषयमा केही समयदेखि अन्यौलता थपिएको बताउँदै उनले भने, “सर्वोच्चको पूर्ण पाठ आइसकेको छ। यो पूर्णपाठले निजगढमा विमानस्थल बन्न रोक्ने काम भएको छैन।’’

गत २४ जेठदेखि जारी अनशन बिहीबारबाट स्थगित गरिएको छ। निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थी विमानस्थल निर्माण नगर्ने निर्णय पुनरवलोकन हुनुपर्ने माग गर्दै रिले अनशनमा बसेका थिए।

गत १२ जेठमा सरकारले हालसम्म गरेको सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश सुनाएको थियो।

सो आदेश सुनाएको एक महीनापछि बुधबार पूर्णपाठ सार्वजनिक भएसँगै निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला भएको छ।

वातावरणीय क्षतिलाई हरसम्भव न्यूनीकरण गरी, प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा विमानस्थल निर्माण गर्न सकिने विकल्प पूर्णपाठमा दिइएको छ।

निजगढ विमानस्थलका लागि आर्थिक वर्ष २०७१/७२ देखि बजेट विनियोजन भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved