हिलो र धूलोमुक्त हुँदै पोखरा बसपार्क

नेपालभ्युज

हिलो र धूलोमुक्त हुँदै पोखरा बसपार्क
पोखरा बसपार्क

पोखरा। जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ। यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ।

अहिले बसपार्कको आधा भागमा ग्राभेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण गर्न थालिएको छ। पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, “लामो समयदेखि पोखराको बसपार्कमा देखिएको समस्या कम गर्न थालिएको छ। तत्कालका लागि हिलो र धूलोमुक्त बनाउन लागेका छौँ।” नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम भएसँगै बसपार्क अब हिलो र धूलोमुक्त हुने उनको भनाइ छ।

उनका अनुसार पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्क सुधार कार्य अगाडि बढेको हो। आधा भाग ग्राभेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम भइरहेको छ।

यसैबीच पोखरा बसपार्कका प्रमुख आचार्यले बसपार्कको सबै भाग सम्याएर तत्कालका लागि धूलो र हिलोमुक्त बनाउन निर्देशन दिएका छन्। उनले दीर्घकालीन समस्या समाधानका लागि डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्ने बताए।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका प्रमुख धनराज आचार्यले गत जेठमा बसपार्कको नाला निर्माणको शिलान्यास गरेका थिए। झण्डै ४७ वर्ष अगाडि अर्थात् १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ। उपत्यका नगरविकास समिति अहिले महानगर प्रमुखको नेतृत्वमा छ। अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved