झापा-मोरङमा भीषण वर्षा हुँदा दुई हजार घर डुबानमा, सप्तकोसी नदीको जलस्तर बढ्यो

अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले दुई हजारभन्दा बढी घर डुबाउँदा सयौँ सर्वसाधारण विस्थापित भएका छन्।

नेपालभ्युज

काठमाडौं। अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले दुई हजारभन्दा बढी घर डुबाउँदा सयौँ सर्वसाधारण विस्थापित भएका छन्।

मोरङको गछिया खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ। सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो। बाढीले मोरङमा मात्रै करिब १५ सय जना प्रभावित भएका छन्। सिंघिया र केसलिया खोलामा तटबन्ध नहुँदा विराटनगरवासी हरेक वर्ष डुबानमा पर्दै आएका छन्।

झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षाले सप्तकोसी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजसँगै सुनसरी, सप्तरी र उदयपुरमा सतर्कता अपनाइएको छ। उदयपुरमा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ।

झापाका हजारभन्दा बढी घर डुबानमा परेका छन्। मेची, रतुवा, मावा, कमल, कन्काईलगायतका नदीमा आएको बाढीले घर डुबानसँगै दुई हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। नदी किनारका सुकुम्बासी बस्ती प्रभावित छन्। प्रमुख जिल्ला अधिकारी छवि रिजालले अप्ठ्यारोमा परेका करिब ३ सय जनालाई सुरक्षित स्थलमा सारिएको बताए। गौरादह, गौरीगन्ज, कमल, शिवसताक्षी, बाह्रदशी र भद्रपुरमा पनि बाढी बस्तीमा पसेको उनले बताए ।

निरन्तरको वर्षासँगै सप्तकोसी नदीको जलस्तर बढेको छ। मंगलबार दिउँसो ब्यारेजमा पानीको बहाव १ लाख २८ हजार २ सय २५ क्युसेक प्रतिसेकेन्ड थियो । ब्यारेजमा जलस्तर बढेपछि अपराह्न ४ बजे १९ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved