‘अमेरिका’ र ‘भीड’ : दुई लघुकथा

अनुयायीहरूको भीडले त्यो बालकको उत्तेजनालाई नजरअन्दाज गर्दै अघि बढिरह्यो। कुनै बटुवाले त्यो बालकलाई धम्क्याउँदै भने, ‘ओइ, चुप लाग…कसैले तैले चिच्याएको सुने भने तँलाई समातेर पिट्छन्। देख्या छैनस्, उसको पछाडिको भीड…।’

नेपालभ्युज

‘अमेरिका’ र ‘भीड’ : दुई लघुकथा

अमेरिका

–सञ्जीव ठाकुर

यो कथा एक सम्पन्न किसान परिवारको हो। समृद्धि यति थियो कि, गोठमा कैयौँ जोडी गोरु, कैयौं जोडी गाई बाँधिएका थिए। गोरुहरू हृष्टपुष्ट, कर्मठ र आज्ञाकारी। गाईहरू पनि दुधालु, दूधले भरिएका थुन भएका। एउटा गाई भने मनमौजी थियो, धेरै दुःख दिन्थ्यो। परिवारका सदस्यहरू त्यस गाईको व्यवहार देखेर हैरानी महसुस गरिरहेका थिए।

एकदिन परिवारका एक तातो रगत र जोश भएका युवाले निश्चय गरे कि, मध्याह्नमा त्यो गाईलाई नदीको किनारमा लैजाने र तातो बालुवामाथि त्यसलाई कुदाउने। मात्तिएको गाईलाई सुधार्ने यही तरिका नै उसलाई उत्तम लाग्यो। र, आफ्नो कामबारे अग्रिम जानकारी दिने हेतुले उनी हजुरबुबाको कोठामा गए।

नातिको कुरा ध्यानपूर्वक सुनिसकेपछि हजुरबुबाले एउटा प्रश्न गर्दै भने, ‘बाबु ! जुन समय तिम्ले गाईलाई तातो बालुवामाथि दौडाउँछौ, त्यस समय तिमीचाहिँ कहाँ हुन्छौ ?’
हजुरबुबाको सवाल सुनेपछि नातिको बोली बन्द भयो र उनले आकाशतिर हेर्न थाले।

०००

भीड

–अनिल गंगल

सडकहुँदै अघि बढिरहँदा एकाएक कोलाहल सुनियो। पछाडि फर्केर हेरेँ, एउटा भीड तीव्र गतिमा यतैतिर आइरहेको थियो। भीडको अघिअघि एक बामपुड्के व्यक्ति हातमा अनेक रंगका पट्टि भएको ध्वजा समाएर नांगै खुट्टा हिँडिरहेका थिए।

ध्वजाको पछाडि एक जना दिगम्वर हातमा कालो रंगको कमण्डलु लिएर नांगो खुट्टा हिँडिरहेका थिए। उनको शरीरबाट पसिना चुहिरहेको थियो। दिगम्वरको पछिपछि अनुयायीहरूको भीड थियो र उनीहरू अहिंसा, धर्म र ज्ञानको विजयको नारा हावामा उछाल्दै नांगै खुट्टा दौडिरहेका थिए।

होहल्ला सुनेर पसलमा बसेका पसले र ग्राहक कान त्यतैतिर सोझिए। केही व्यक्ति तमासाले भरिएको भीडमा मिसिएर अघि बढ्न थाले। नारामा जोश र उत्तेजना घोलिएका थिए। भीड झन्झन् विस्तारित हुँदै गयो। बाटाको दायाँ–बायाँ भीड र कोलाहल देखेर मानिसहरू संकोच मान्दै उभिइरहे।

बाटो नजिकै खेलिरहेका केही बालकले त्यो उच्च स्वर सुने, उनीहरू खेल्दाखेल्दै रोकिए। कपडाले भरिएको यस संसारका बीच एक जना व्यक्ति निःसंकोच वस्त्रहीन भएको दृश्य देख्नु उनका निम्ति आश्चर्यको विषय थियो।

ती बालकहरूमध्ये एक जना यस्तो दृश्य देखेपछि यति धेरै उत्तेजित भए र जोशमा उफ्रिँदै र कुद्दै उनी चिच्याउन लागे, ‘नांगा, नांगा, नांगा…।’

दिगम्वरसँगै हिँडिरहेका अनुयायीहरूको भीडले त्यो बालकको उत्तेजनालाई नजरअन्दाज गर्दै अघि बढिरह्यो। कुनै बटुवाले त्यो बालकलाई धम्क्याउँदै भने, ‘ओइ, चुप लाग…कसैले तैले चिच्याएको सुने भने तँलाई समातेर पिट्छन्। देख्या छैनस्, उसको पछाडिको भीड…।’

बालक चुप लाग्यो र दिगम्वरको पछाडि दौडिरहेको भीडलाई दिक्क मान्दै हेरिरह्यो।

(कथादेश (हिन्दी मासिक) को फेब्रुअरी २००४ को अंकबाट भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved