कृष्णभूषण बलका केही कविता

यता मधेशतिर चैत लागिसक्यो
हावा मत्ता हात्तीझैँ बेस्सरी मात्तिएको छ

नेपालभ्युज

कृष्णभूषण बलका केही कविता

(दशक बित्यो, कवि कृष्णभूषण बलको भौतिक अस्तित्व समाप्त भएको। १३ असार २०६९ केवल ६५ वर्षकै उमेरमा उनको देहावसान भएको थियो।

इलाममा जन्मिएका उनले विराटनगरलाई कर्मथलो बनाए। विराटनगरमै रहेर काव्य लेखनमा आफूलाई तिखारे। त्यसकै प्रतिफल हो– दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य–२०४१) र भोलि बास्ने बिहान (कवितासंग्रह–२०४१)।

पञ्चायतकालीन दिनहरूमा ‘सुनाखरी लामा’ उपनामबाट समसामयिक विषयमा लेखहरू पनि लेख्ने बलको मूल चिनारी कविकै बन्यो। यस पटक उनको दशौँ वार्षिकी पारेर केही चर्चित कविता राखेका छौँ।)

छोरी हराएको सूचना

नक्षत्रमा साँढे डुक्रिएको कथा सुनेर तर्सिएकी मेरी छोरी
नेपाली धरती हल्लिने गरी आकाश पड्क्यो उसैको आँखामा अशान्ति
चञ्चल नानी स्वभाव
निवुवाको फूलमा भरिएका शितको गुलियो चाख्दै खेल्दै थिई
फेरि एकै छिनमा पहेंलपुर तोरी बारीभित्र उफ्रिदै खेल्दै थिई
अचानक मेरो आँखाको निन्द्रा बोकेर हराई।

मौरीको घारबाट निकालेको आलो मह जस्तै बोलीले सज्जिएकी
उषाको पछ्यौरीले छोप्दाछोप्दै पनि प्रष्टै देखिने नानी आँखा बोकेकी
मेरो प्राणको सञ्जीवनी बोकेर कोशी गण्डकीको निनादमा मलाई ब्युँझाउने
कवितामा आफू खेलेर मलाई सधैँ सधैँ कुत्कुती लगाई रहने
हिमाली आस्थाको रंगीन जामा लाएकी
वर्ष सातकी मेरी सानी छोरी
अचानक मेरो गीतको भाकासँगै हराएकी छे
भेट्नु भएमा,
पँधेरीमा गाग्री बोकेर गुन्यु चोलीमा बिहानै पानी भर्न आउने
कुनै पनि दिदी/बहिनी
अथवा त्यस्तै हुलिया भएकी आमालाई खबर गरिदिनु होला
धेरै त भन्दिन,
यो छोरी भेटिए सिंगै नेपाल भेटिएको सम्झनु होला।

०००

चैतको हावा

यता मधेशतिर चैत लाग्यो
रुखहरू नांगो पारेर हावा मत्ता हात्तीझैँ मात्तिएको छ
केवल फूलहरूको सुगन्ध मात्रै समेट्ने कहाँ हो र हावाले
युगौँयुगको धूलोहरू पनि बढारिरहेछ
युगौँ बाँचेको रुखहरू पनि सहजै ढालिरहेछ।

कति इतिहास यस्तै हावाले बनाएछ जो हामी पढ्छौँ
कति इतिहास यस्तै हावाले बनाउँछ जो हामी लेख्छौँ
आत्मविश्वासको एउटा घरको निर्माण गरेको छु मैले पनि
यद्यपि कमजोर घरहरू मात्र नउडाओस् यस हावाले
यद्यपि कमजोर आवाजहरू मात्र नउखेलोस् यस हावाले।

समुद्रको पानी आकाशमा उडाइदिन सक्छ यस्तै हावाले
आकाशबाट बर्सेको पानी पनि हटाइदिन सक्छ यस्तै हावाले
कसरी अब यसो नभनूँ कि यो देशमा लागेको बादल पनि हटाउन सक्छ यो हावाले
कसरी अब यसो नभनूँ कि यो देशको अमिल्दो इतिहासको पन्ना पनि च्यातिदिन सक्छ यस्तै हावाले।

बाँसका चोङ्गेहरू बिगुल फुकेझैँ गरी एउटा क्रान्ति फुकिरहेछ आज हावाले
रुखका बुढा पातहरू आकाशभरि भुमरीमा धकेलिरहेछ आज हावाले
यस्तो लाग्छ ठेकेदारहरूले नाफा खाएर बनाएको घर अब धेरै दिन टिक्दैन
यस्तो लाग्छ नांगो डँडाल्नोमा न्यानो हुने घामलाई पनि अब बादलले छेक्दैन।

‘ऊँ मानि पद्मे हुं रे हुं’ लेखिएको मेरो अघिको ध्वजा बेस्सरी फर्फराइरहेछ आज हावामा
मेरै घरअघिको पीपलको रुख पनि स्वतन्त्र कराइरहेछ आज हावामा
लाग्छ यसरी हावा सत्य र शान्तिको बाटो गुज्रिरहेछ
लाग्छ यसरी हावा एउटा वसन्त भित्र्याउने सुरमा बिल्कुल आतुर छ।

यो हावा ! निश्चित लक्ष्यमा पुग्नुअघि कुनै अवरोध आइपरे
यो हावा ! निश्चित दिशामा पुग्नुअघि कुनै पहाडमा ठोक्किए
के ठेगान ? फर्केर आउँदा ‘ऊँ मानि पद्मे हुं रे हुं’को ध्वजा पनि च्यातेर नलैजाओस्
के ठेगान ! सारालाई शीतल दिने पीपलको रुख पनि ढालेर नहिँडोस्।

यता मधेशतिर चैत लागिसक्यो
हावा मत्ता हात्तीझैँ बेस्सरी मात्तिएको छ
डाडु पनिउँ हातमा लिने भान्से हो ! आगोदेखि होसियार
सारा परिवारको टुप्पी समाएर बाबु बन्न खोज्ने हो !
आगोदेखि होसियार !
हावादेखि होसियार !

०००

नवीन दाइ, जसलाई म भेटिरहन्छु

सम्झनाको क्षितिजबाट एउटा नौलो सूर्य सधैँ उदाउँछ
एक्लै एक्लै बादलका झुत्रे पर्दाहरू च्यातेर मभित्रको मनतिर कतै छरिन्छ
म यिनै प्रेरणाहरू बोकेर अक्षरका सुन्दर थुँगाहरू सँगालेर मालाहरू गाँसिरहन्छु
म सधैँ यस्तै उज्यालोमा, त्यो नौलो सूर्यलाई अझै भेटिरहन्छु।
सधैँ भेटिरहन्छु।

अनिष्ट सपनाजस्तै सुने माईथानका बथान बथान परेवाहरू आकाशतिर उडेनन् अरे
चोक बजारमा चारो टिप्न ती बथान बथान परेवाहरू बस्दैबस्दैनन् अरे
के त भित्ताको नियमित सधैँ च्यातिनुपर्ने क्यालेन्डरको पन्न अब नच्यातिने अरे ?
फेरि सुने पाङ्दुरे गफजस्तै जाज्वल्य सूर्यझैँ विचरा नवीन अब रहेनन् अरे।

कहाँ मृत्युशय्या अँगालेर भीष्मपितामहले पनि नरम नरम ओछ्यानहरूमा
कहाँ फुल्छन् र फूलहरू पनि बिनाकाँडा नै सादा सादा रुखहरूमा
कठोर सत्य मृत्यु अँगाल्यौ परि योद्धाले झैँ तिमीले पनि साहित्यका तिखा धारिला काँढाहरूमा
लाखौं रोएर जहाँ बाँधिरहेछन् तिमी एक्लै कहिले हाँस्न चाहेनौँ त्यही त हो तिम्रो महानता
अझै सम्झनाको क्षितिजबाट एउटा नौलो सूर्य सधैँ डराउँछ
अझै एक्लै बादलका कुनै पर्दाहरू च्यातेर मभित्रको मनतिर कतै मरिन्छ
म यिनै प्रेरणाहरू बोकेर अक्षरका थुँगाहरू सँगालेर मालाहरू गाँसिरहन्छु
म सधैँ यस्तै उज्यालोमा त्यो नौलो सूर्यलाई सधैँ भेटिरहन्छु
अझै भेटिरहन्छु।


Comment

One thought on “कृष्णभूषण बलका केही कविता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved