व्यक्तिवृत्त:

नेपाली रङ्गकर्मका पूर्ण कद

कथा लेखन र नाट्यकर्म, यी दुई कर्मले उनलाई धेरै सन्तुष्टि दिँदै आएको छ। भन्छन्, ‘एउटा कथा छापिएको दिन म जति खुशी हुन्छु, अभिनय गरेर घर फर्किएको साँझ पनि त्यत्तिकै खुशी हुन्छु। मलाई यिनै कुराले सन्तुष्टि दिलाउँछ।’

नेपाली रङ्गकर्मका पूर्ण कद

२०३७ सालको जनमतसंग्रहपछि पञ्चायती व्यवस्था केही लचिलो हुने अपेक्षाविपरीत पञ्चायतभित्रका अनुदार–अनुहारहरूले झनै निरंकुश चरित्र देखाउन थाले। सत्ताको शीर्षासनमा अनुदारवादीहरू पुगे। परिवर्तनको उच्च चाहना बोक्ने विद्यार्थी, शिक्षक, कलाकर्मीहरू भने मुर्झाएनन्, झन्झन् सल्बलाउन थाले।

प्रजातन्त्रको तीव्र आकांक्षा राख्ने जनपंक्तिका मनोभावलाई पर्गेल्दै त्यही समयताका नाट्य–सर्जक अशेष मल्लले लेखे– ‘हामी वसन्त खोजिरहेछौं’। वसन्त अर्थात् परिवर्तन। वसन्त अर्थात् प्रजातन्त्र। प्रतिकात्मक रुपमा प्रजातन्त्र प्राप्तिको आवाज बोकेको यो नाटकमा सक्रियतापूर्वक अभिनय गर्ने मुख्य कलाकर्मी थिए– ओममणि शर्मा

यही असारमा ८२ वर्ष टेकेका शर्मालाई केही दिनअघि सांस्कृतिक संस्थानले सम्झियो। जीवनका ऊर्जावान् वर्षहरू नाट्यकर्म र साहित्य लेखनमा समर्पित गरेका र अझै पनि नाट्य–संस्था ‘सर्वनाम’ को व्यानरमुनि नाट्यकर्म गर्न तत्पर यी प्रतिभालाई संस्थाले ‘राष्ट्रिय नाट्य पुरस्कार’ द्वारा सम्मानित गर्‍यो, असार ५ गते। उनले पुरस्कार पाएपछि पत्नी सावित्री मल्ल कक्षपति र आफूसँगै बसेर अशेष मल्लले फोटो खिचाए र खुशी बाँड्दै लेखे, ‘सर्वनाम आज यो अवस्थामा आइपुग्नुमा ओममणि शर्माको अतुलनीय योगदान त छँदैछ। समग्र नेपाली रङ्गकर्मको इतिहासबाट उहाँको नाम झिकिदिने हो भने त्यो अधुरो हुनेछ।’

‘मण्डले’को भूमिका

अभिव्यक्ति स्वतन्त्रता हडपिएको तत्कालीन समयमा निरंकुश शासन पद्धतिमाथि प्रहार गर्ने शक्तिशाली माध्यम थिए– कला, साहित्य, नाट्यकर्मलगायत। प्रगतिशील वृत्तका कलाकर्मीहरू गीत–संगीतको माध्यमद्वारा परिवर्तनको आवाज घन्काइरहेका थिए। zहरदेखि गाउँबस्तीसम्म। प्रजातान्त्रिक वृत्तमा उभिएका मल्लले भने प्रभावकारी मानिने सडक नाटकमार्फत जनचेतनाको खहरे उर्लाउने विचार बोके र लेख्न थाले नाटकहरू। २०३६/०३७ तिर मल्लकृत ‘सडकदेखि सडकसम्म’ राजनीतिक नाटक थियो, जसमा शर्माको भूमिका ‘नेगेटिभ’ थियो। अर्थात् मण्डलेको। तत्कालीन व्यवस्थाका खराब पात्रहरूलाई सम्बोधन गर्नुपर्‍यो भने ‘मण्डले’ भन्ने गरिन्थ्यो। मण्डलेको दबदबाबीच देश र जनता पिल्सिइरहेका बेला उनले ‘नेगेटिभ’ भूमिका स्वीकारेर जनपंक्तिबीच सुसन्देश बाँडे।

त्यसको एकाध वर्षपछि प्रदर्शित बहुचर्चित सडक नाटक ‘हामी वसन्त खोजिरहेछौं’ मा पनि शर्माले ‘मण्डले’ कै भूमिका पाए। उक्त नाटक त देशका अनेक जिल्लामा प्रदर्शन भयो। धनकुटा, तेह्रथुम, दाङ, प्यूठान, डडेलधुरा, डोटी सबैतिर। शर्मा भन्छन्, ‘यो नाटक यति प्रभावकारी रह्यो कि, तत्कालीन समय जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्यो।’

‘हामी वसन्त खोजिरहेछौं’ले नेपाली नाट्य जगत्मा दीर्घकालीन छाप छाडेको छ। पञ्चायतको चरम रुप प्रदर्शित भएको बेला मञ्चित सो नाटक पछिल्लो समय पनि मञ्चित भयो, कोरोना कालअघि। करिब साढे तीन दशकपछि पनि शर्माले सो नाटकमा उत्तिकै स्फूर्ति र तन्मयपूर्वक अभिनय क्षमता देखाए। यसबाट नाट्यकर्मप्रति उनको समर्पण–भावलाई चिन्न यथेष्ठ सघाउ पुर्‍याउँछ।

सडक नाटक लिएर देशाटन गर्दा स्थानीय प्रशासनको बक्रदृष्टि पर्नु स्वाभाविकै रह्यो, कतिपय जिल्लामा त लखेटाइमा समेत पर्‍यो पूरै नाट्यटोली नै। झापामा नाटक प्रदर्शन हुँदा तत्कालीन मेची अञ्चलाधीश लक्ष्मण गुरुङले पनि हेरेका थिए। नाटक हेरेपछि अञ्चलाधीश पूरै क्रुद्ध भए र कलाकारहरूलाई मेची अञ्चल कटाउन लगाए।

वीरगञ्जबाट आईकम उत्तीर्ण गरेपछि काठमाडौं आई बीकम पढ्न थाले उनले। त्यतिबेला राजेश्वर देवकोटा शिक्षा मन्त्री थिए। एक पटक देवकोटाको गाडीमा विद्यार्थीले ढुंगामुडा गरेछन्। केही विद्यार्थीसँगै उनी पनि पक्राउ परे। पाँच दिनसम्म हिरासतमा बसेर छुटे।

त्यही नाटक लिएर बागलुङ पुगे, मल्ल–शर्मासहितको टोली। कस्तो संयोग, मेची अञ्चल कटाउने तिनै अञ्चलाधीश गुरुङ धवलागिरि अञ्चलाधीश भएर बागलुङ पुगेका रहेछन्। आफ्नो कार्यालयमा बोलाएर अञ्चलाधीशले थर्काए, ‘मैले तिमीहरूलाई मेचीबाटै खेदेको थिएँ, फेरि यहाँ आयौ ? भोलि नै बागलुङ छाड्नू।’

नाट्यकर्मअघि लेखनको नशा

१९९८ सालमा मकवानपुरको भीमफेदीमा जन्मिएका शर्माको बाल्यकाल उतारचढावले भरिए। राणाकालीन समयमा नै उनका बुबाले बनारसबाट संस्कृतमा शास्त्री उत्तीर्ण गरेका थिए। नेपाल फर्किएर तीनधारा पाठशालामा अध्यापन गर्ने इच्छा राखे पनि जागिर दिइएन उनलाई। बनारसमा छँदा बुबाको उठबस बीपी कोइरालासँग रहेछ र राजनीतिप्रति धेरै चासो राख्थे।

बुबामा राजनीतिप्रतिको सचेतनता यति घनीभूत थियो– भीमफेदीमा होटल र पसल खोल्दा नामै राखेका थिए– ‘जनता होटल’। उनी सम्झिन्छन्, ‘हाम्रो होटलमा कांग्रेसका नेता–कार्यकर्ताहरू आउँथे, खाना खान्थे र सुत्थे।’ उनलाई धमिलो सम्झना छ, २०१० सालतिर कृष्णप्रसाद भट्टराई भीमफेदीस्थित उनको होटलमा आएका थिए र बुबासँग केही घन्टा नै गफिएका थिए।

२०११ सालमा भीमफेदीको पसल बाढीले बगाएपछि सपरिवार बसाइँ सरे, बारामा। सम्झिन्छन्, ‘भीमफेदी छाडेपछि मेरो पढाइको क्रम टुटेको थियो तर बुबाले शुरुमा मोतिहारी (भारत) र पछि पटनामा लगेर भर्ना गरिदिनुभयो र मैले पटनाबाटै एसएलसी उत्तीर्ण गरेँ।’

वीरगञ्जबाट आईकम उत्तीर्ण गरेपछि काठमाडौं आई बीकम पढ्न थाले उनले। त्यतिबेला राजेश्वर देवकोटा शिक्षा मन्त्री थिए। एक पटक देवकोटाको गाडीमा विद्यार्थीले ढुंगामुडा गरेछन्। केही विद्यार्थीसँगै उनी पनि पक्राउ परे। पाँच दिनसम्म हिरासतमा बसेर छुटे।

अलिअलि राजनीतिको नशा चढिसकेको थियो त्यतिबेलै। २०२४ सालदेखि भने काठमाडौंमै बस्न थाले, स्थायी रुपमा। परशु प्रधान, किशोर पहाडी, कविताराम श्रेष्ठसँगको संगत बाक्लिँदै जान थाल्यो। भन्छन्, ‘मलाई त्यतिबेला साहित्यको भोक लागेको थियो। काठमाडौंका साहित्यिक जमघटहरूमा भिज्न र रमाउन थालेँ।’ यो क्रम २०२९ सालसम्मै तन्कियो।

२०२९ सालमै उनी जागिरे भए– नेपाल बैंकमा। कार्यालय सहायकका रुपमा। शुरुमा थापे, २ सय ३४ रुपैयाँ तलब। त्यति तलबले तत्कालीन समय काठमाडौंमा राम्ररी टिक्न सकिन्थ्यो। जागिरसँगै साहित्य लेखन र गतिविधिमा सक्रिय रहे उनी। २०३० सालमा पद्मकन्या कलेजमा कविगोष्ठी गर्दा भने मण्डलेहरूको आक्रमण पनि झेले।

२०३३ सालमा साहित्यिक पत्रकार संघले नेतृत्व पाउँदा भवानी घिमिरे भए अध्यक्ष। उनीचाहिँ महासचिव। तत्कालीन समय पुरुषोत्तम बस्नेत, किशोर नेपाललगायत साहित्यिक पत्रकारिताका साथै राजनीतिक गतिविधिमा समेत सक्रिय थिए। सम्झिन्छन्, ‘हामीले पुरुषोत्तम बस्नेतको घरमा धेरै पटक बैठक गर्‍यौँ। हाम्रो उद्देश्य प्रजातन्त्र प्राप्तिसँग जोडिएको थियो।’

एनमा लेखनप्रति झुकाव भने पटनामा अध्ययन गर्न बस्दाताका नै भयो। पटनाको जुन होस्टलमा उनी बस्थे, त्यहीसँगै एक जना शिक्षक पनि बस्थे। तिनै शिक्षकले उनलाई हिन्दी भाषा सिकाए। सम्झिन्छन्, ‘एक पटक मैले तिनै शिक्षकलाई हामीले पनि कविता प्रतियोगितामा भाग लिन पाउँछौं भनेर सोधेँ। उनले सकारात्मक जवाफ दिएपछि मैले हिन्दीमा लेखेको कविता थुप्रै विद्यार्थीमाझ सुनाएँ। त्यसले मलाई लेखनतिर डोर्‍याउन निकै सघाउ पुर्‍यायो।’

लेख्न त उनले २०२२ सालदेखि नै कथा/कविता लेख्न थाले। बढी ढल्किए कथातिर। २०४२ सालमा साझा प्रकाशनबाट छापियो– ‘छाप’। १५ थान कथा संग्रहित ‘छाप’ भित्र तत्कालीन समयका चर्चित साहित्यिक पत्रिकाहरू मधुपर्क, मिर्मिरे, ज्योतिश्री, आकार, कुरौटे, रैवारे, दीपिकामा छापिएका कथाहरू समेटिएका छन्।

‘छाप’ पछि लामो शून्यता रह्यो, कथा प्रकाशनमा। करिब–करिब चार दशक पुग्नै लाग्दा पनि दोस्रो कथाकृति निस्किएको छैन। भन्छन्, ‘मसँग तीन वटा कथाकृतिलाई पुग्ने कथाको पाण्डुलिपि छन्। अब प्रकाशनका लागि तारतम्य मिलाउनुपर्ला।’

२०३३ सालदेखि शुरु भएको मल्ल–शर्माको सहयात्रा आजपर्यन्त जारी छ। आजसम्म उनले अशेष–लिखित र निर्देशित नाटकबाहेक अरूका नाटकमा शून्य नै अभिनय गरेका छन्। भन्छन्, ‘मलाई एक–दुई ठाउँबाट प्रस्ताव आएको थियो तर मैले अरूले लेखेका र निर्देशन गरेका नाटक खेलिनँ।’

अचेल निकै प्रकाशनसंस्थाहरू उदाएका छन्। उनको दृष्टि भने रत्न पुस्तक भण्डारतिरै सोझिएको छ। भन्छन्, ‘पाण्डुलिपि तयार पारेर रत्नलाई दिने विचार गरेको छु।’

कथा लेखनमा केन्द्रित उनले थुप्रै नाटकमा अभिनय गरे पनि नाटक भने लेखेनन्। किन त ? उनको स्पष्टीकरण छ, ‘कथा लेख्ने नाटक लेख्न सक्छन् तर मैले भने नाटक लेखनमा रुचि नै देखाइनँ। म कथा लेखनमा जति सफल भएँ, नाटक लेखनमा सफल हुन सक्दिनँ भन्ने लागेर पनि नाटक नलेखेको हुँ।’

कथामा भने उनले सामाजिक जीवनका तन्तुहरूलाई गहिराइमै पुगेर छाम्ने प्रयत्न गरे। भन्छन्, ‘मैले सामाजिक जीवनका कथाहरू लेखेँ। आफ्ना पात्रहरूलाई कहिल्यै पनि खसालेर वा होच्याएर लेखिनँ। नारी पात्रमाथि लेख्दा पनि उनीहरूलाई हेय दृष्टिभावले हेरिनँ।’

कथा लेखन र नाट्यकर्म, यी दुई कर्मले उनलाई धेरै सन्तुष्टि दिँदै आएको छ। भन्छन्, ‘एउटा कथा छापिएको दिन म जति खुशी हुन्छु, अभिनय गरेर घर फर्किएको साँझ पनि त्यत्तिकै खुशी हुन्छु। मलाई यिनै कुराले सन्तुष्टि दिलाउँछ।’

नाटकप्रति हुरुक्कै

नाट्यकर्ममा पूरै तन्मयसाथ भिज्दा उनी बैंककै जागिरे थिए। कहिलेकाहीं त बैंकबाट बिदा लिएर पनि नाटक खेल्न निस्किन्थे। बैंकका माथिल्लो तहका कर्मचारीदेखि महाप्रबन्धकसमेत उनको नाट्य–मोहसँग परिचित थिए। भन्छन्, ‘हाकिमहरूले पनि मप्रति सद्भाव राख्थे।’

अशेषले लेखेका प्रायः सबै नाटकमा अभिनय–क्षमता देखाइसकेका छन् उनले। २०३३ सालदेखि शुरु भएको मल्ल–शर्माको सहयात्रा आजपर्यन्त जारी छ। आजसम्म उनले अशेष–लिखित र निर्देशित नाटकबाहेक अरूका नाटकमा शून्य नै अभिनय गरेका छन्। भन्छन्, ‘मलाई एक–दुई ठाउँबाट प्रस्ताव आएको थियो तर मैले अरूले लेखेका र निर्देशन गरेका नाटक खेलिनँ।’

आफू अभिनित नाटकहरूमा ‘तुवाँलोले ढाकेको बस्ती’ मा गाउँका जनतालाई शोषण गर्ने चरित्र, ‘सडकदेखि सडकसम्म’का मगन्ते, ‘नाटकहरूको नाटक’ मा हल मालिक, ‘शकुनीका पासाहरू’ मा अन्धो धृतराष्ट्र, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मा दशरथ र पछिल्लो समय अभिनित ‘भिक्षाम् देही’ मा नागरिक खोज्ने नागरिकको भूमिका उनी सदैव सम्झिन्छन्।

नाट्यकर्मलाई नै जीवनको आखिरी लक्ष्य र पाथेय मान्दै आएका शर्माबारे मल्लका यी शब्दहरू पुनः उद्धृत गर्नु सान्दर्भिक हुनेछ, ‘समग्र नेपाली रङ्गकर्मको इतिहासबाट उहाँको नाम झिकिदिने हो भने त्यो अधुरो हुनेछ।’

पछिल्लो समय अभिनित ‘भिक्षाम् देही’ पछि पनि उनले दुइटा नाटकमा अभिनय गरे। ‘रक्तबीज’ र ‘शकुनी पासाहरू’। ‘भिक्षाम देही’मा भने नागरिकता लिन जाँदा घूस माग्ने कर्मचारीप्रति कटाक्ष छ। यो नाटकमा बाह्य देशसँग भिक्षा माग्ने, गरिब जनतालाई देखाएर अनुदान माग्ने तर जुन व्यक्तिलाई देखाएर अनुदान मागिएको हो, उनीहरूलाई नदिने र आफैँले कुम्ल्याउने प्रवृत्तिमाथि कटाक्ष गरिएको छ।

नाटक मञ्चन/प्रदर्शनका निम्ति देशका विभिन्न भूभाग टेकिसकेका छन् उनले। विदेशमा भारत, पाकिस्तान, बंगलादेश, थाईल्याण्डमा गई नाट्य प्रदर्शन गरेका छन्। भन्छन्, ‘बैंककमा नाटक प्रदर्शन गर्दा स्थानीयहरूले हाम्रो भाषा बुझेनन्। तर हामीले संवादभन्दा हाउभाउबाट नाटक प्रदर्शन गरेका हुँदा भाषा नबुझ्नेले पनि नाटक बुझे र कतिपय दर्शक त रोए पनि।’

चलचित्रमा पनि

रङ्गमञ्च र सडक नाटकबाट खारिएका उनले केही चलचित्र र टेलिचलचित्रमा पनि अभिनय गरे। चलचित्र ‘चेलीबेटी’ मा हिरोइनको मामाको भूमिका निर्वाह गरेका उनले थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरे। जसमध्ये बीपी कोइरालाको कथा ‘एक रात’ मा निर्वाह गरेको भूमिका उनी सदैव सम्झिरहन्छन्।

केही चलचित्र र टेलिचलचित्रमा अभिनय गरे पनि मोह भने नाटकमै छ। भन्छन्, ‘फिल्म, टेलिफिल्ममा भन्दा मलाई नाटकले नै सन्तुष्टि दिएको छ। एकजना फिल्मकर्मीले मलाई अभिनयका निम्ति प्रस्ताव राखे तर म नाटकको कलाकार हुँ, नाटकमै रमाउँछु भनेँ र खेलिनँ।’

जीवनको आठ दशक यात्रा छिचोल्दा पनि उनी नाट्यकर्ममै रमाए। कथा लेखनमै रमाए। यी सबै कर्म उनले काठमाडौंमा डेरा जीवनमै गरे।

गएको वर्ष मंसिरमा ललितपुरको इमाडोलमा छोराले घर निर्माण गरेपछि मात्र उनले घर–बसाइको अनुभूति बटुल्न पाए। नभए अविच्छिन्न करिब छ दशकसम्म उनले डेराका जिन्दगी गुजारे। २०२१ सालदेखि नै। भन्छन्, ‘४५ वर्ष त एउटै घरमा डेरा बसेको अनुभव छ मसँग। धोविधाराको एउटा घरभेटीकहाँ करिब आधा शतक नै बिताएँ।’

०००

जुन समय व्यवस्थाबाट आशीर्वाद पाएका रङ्गकर्मीहरू पौराणिक/धार्मिक भावना विस्तार गर्ने आशयका साथै शासकहरूका प्रशस्तिमा नाटक लेखेर मञ्चन गरिरहेका थिए, शर्मा भने त्यही समय जनचेतनाका सम्वाहक बनेर सडकमा उत्रिएका थिए। नाट्यकर्ममार्फत प्रजातन्त्र मागिरहेका थिए, वसन्त खोजिरहेका थिए र गरिरहेका थिए– तात्कालिक कठिन र दुर्धन्य समयको मनोव्यथालाई समाजीकरण।

कुनै सन्देह छैन, नाट्यकर्मबाट नै उनले सामाजिक रुपान्तरणका निम्ति उच्च आवाज उठाए। तात्कालिक विषम परिस्थितिमा सिर्जनात्मक सक्रियता देखाएर समाज र जनपंक्तिलाई परिवर्तनप्रति गहन बोध गराए। रङ्गमञ्चमै डुबेका पूर्ववर्ती पुस्ताका हरिप्रसाद रिमाल र प्रचण्ड मल्लपछि उनकै खोजी हुन्छ अब।

रङ्गमञ्च मूल्यपरक विधा हो। यो यथार्थलाई उनले जीवनको यो विन्दुसम्म आइपुग्दा पनि आत्मसात गरिरहेका छन्। गहन रुपले। नाट्यकर्मलाई नै जीवनको आखिरी लक्ष्य र पाथेय मान्दै आएका शर्माबारे मल्लका यी शब्दहरू पुनः उद्धृत गर्नु सान्दर्भिक हुनेछ, ‘समग्र नेपाली रङ्गकर्मको इतिहासबाट उहाँको नाम झिकिदिने हो भने त्यो अधुरो हुनेछ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved