अमेरिकामा सर्वोच्च अदालतले खोस्यो गर्भपतन गर्न पाउने संवैधानिक अधिकार

सर्वोच्च अदालतको यो निर्णयलाई पहिल्यैदेखि गर्भपतन अधिकारमा प्रतिबन्ध वा सीमा तोक्न माग गरिरहेका रिपब्लिकन र धार्मिक अनुदारहरूको क्षणिक विजयको रूपमा लिइएको छ।

नेपालभ्युज

अमेरिकामा सर्वोच्च अदालतले खोस्यो गर्भपतन गर्न पाउने संवैधानिक अधिकार
सर्वोच्च अदालतको फैसलापछि खुशी मनाउँदै गर्भपतनविरोधी प्रदर्शनकारीहरू।

वासिंगटन। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले आज त्यहाँका महिलाले गर्भपतन गर्न पाउने संवैधानिक अधिकार खोसेको छ।

सन् १९७३ मा रोय विरूद्ध वेडको मुद्दामा आदेश दिँदै सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई महिलाको संवैधानिक अधिकारको रूपमा स्थापित गरेको थियो। उक्त आदेशसँगै देशैभर गर्भपतन वैध हुन पुगेको थियो।

सर्वोच्च अदालतको यो निर्णयलाई पहिल्यैदेखि गर्भपतन अधिकारमा प्रतिबन्ध वा सीमा तोक्न माग गरिरहेका रिपब्लिकन र धार्मिक अनुदारहरूको क्षणिक विजयको रूपमा लिइएको छ।

अनुदारवादीहरूको बहुमत रहेको सर्वोच्च अदालतले १५ हप्तापछि गर्भपतन गर्न नपाइने मिसिसिपीको कानूनको सहारा लिँदै सर्वोच्चको नजीर उल्टाएको हो। ९ सदस्यीय इजलासमा ६-३को बहुमतले रोय र वेडको मुद्दा उल्टाउने निर्णय गरेको हो।

निर्णयसँगै प्रधानन्यायाधीश जोन रोबर्ट्सले बेग्लै टिप्पणी लेख्दै आफूले मिसिसिपीको कानून प्रयोग मात्रै गरेको तर अघिल्ला नजिर उल्टाउन थप कुनै कदम नचालेको उल्लेख गरेका छन्।

सर्वोच्च अदालतका अनुदारवादी न्यायाधीश स्यामुएल एलिटोले गरेको यस्तै प्रकारको निर्णयको खेस्रा गत मे महीनामा बाहिर आएपछि त्यसको विरोध शुरू भएको थियो। आजको निर्णय एलिटोकै खेस्रा मुताबिक तयार भएको छ।

सन् १९७३ को फैसलामा सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकाको संविधानले प्रदान गरेको व्यक्तिगत गोपनियताको अधिकार अन्तर्गत महिलाले आफ्नो गर्भपत गर्नसक्ने उल्लेख गरेको थियो।

गर्भपतनको अधिकार संवैधानिक अधिकारको रूपमा नरहने सर्वोच्च अदालतको यो निर्णयले अमेरिकाका विभिन्न राज्यले गर्भपतनलाई अवैध घोषणा गर्ने कानून बनाउने छुट दिएको छ।

अमेरिकाका ५० मध्ये २६ राज्य पहिले नै गर्भपतनलाई गैरकानूनी घोषणा गर्न तम्तयार छन्।

– द वायरबाट।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved