एसीसी महिला टी-२० : फाइनल पुग्न यूएईसँग भिड्दै नेपाल

सेमिफाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले फाइनल प्रवेशसँगै एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

नेपालभ्युज

एसीसी महिला टी-२० : फाइनल पुग्न यूएईसँग भिड्दै नेपाल
फाइल फोटो

काठमाडौं। एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज यूएईको सामना गर्दैछ। च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ।

मलेसियामा जारी प्रतियोगिताको समूह ‘बी’ को उपविजेता बनेको नेपालको भेट समूह ‘ए’ को विजेता यूएईसँग हुन लागेको हो।

समूह चरणअन्तर्गतको बुधबारको अन्तिम खेलमा कतारलाई १५३ रनको फराकिलो अन्तरले पराजित गर्दै यूएई समूह विजेता बनेको हो।

सेमिफाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले फाइनल प्रवेशसँगै एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता शीर्ष वरीयताका राष्ट्रको सहभागिता रहनेछ।

१० राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपको छनोट प्रतियोगिता पनि हो।

यो प्रतियोगिताको फाइनल खेल्ने शीर्ष दुई टिमले एसिया कप खेल्न पाउनेछन्।

नेपालले समूह चरणमा लगातार शुरुआती तीन खेल जित्दा एक खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएको थियो।

तर, अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको नेपाल समूह विजेता बन्न सकेन। समूहमा चारै खेल जितेर विजेता बनेको हङकङले अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनलमा नेपालसँग खेल्ने यूएईले भने समूह चरणमा अपराजित रहँदै तीन खेल जित्दा एक खेल नतिजाबिना नै सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved