एक्सनमा उत्रिए धनगढीका मेयर : अतिक्रमित संरचनामा डोजर चलाए

मेयर गोपाल हमालले निर्वाचित भएसँगै अतिक्रमण क्षेत्र हटाउने प्रतिबद्धता गरेअनुसार डोजर चलाउन शुरु गरेका हुन्।

एक्सनमा उत्रिए धनगढीका मेयर : अतिक्रमित संरचनामा डोजर चलाए

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकामा सार्वजनिक जमिन अतिक्रमण गरी बनाएका संरचना भत्काउन थालिएको छ। मेयर गोपाल हमालले निर्वाचित भएसँगै अतिक्रमण क्षेत्र हटाउने प्रतिबद्धता गरेअनुसार डोजर चलाउन शुरु गरेका हुन्।

पहिलो चरणमा उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन शुरु गरेको छ। नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको छ। उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन्।

नगरपालिका नापी शाखा प्रमुख भुवन शाहीले उक्त अतिक्रमण हटाउने कार्य १९ ओटै वडामा चल्ने बताए। उनले शुरुवातमा वडा नम्बर ५ को सुकुटे नालाबाट शुरु गरिएको र विस्तारै सबै वडाको अतिक्रमण हटाउने तयारी भइरहको बताए।

असार २ गते वडा नम्बर ५ को बालबिहानीदेखि शुरु भएको अतिक्रमण हटाउने काम असार ९ गतेसम्म राष्ट्र बैंक चोकसम्म सम्पन्न भएको जानकारी दिए। उक्त क्षेत्रमा बनाइएका चार ओटा पक्की घर, ८ ओटा ट्वाइलेट, १० ओटा पर्खालहरू भत्काएको शाहीले बताए।

उनले भने, “सुकुटे नाला नक्सामा १० देखि १२ मिटर देखाएको छ, सोही क्षेत्रभित्र बनाएका सबै संरचना भत्काएका छौँ, यो काम विस्तारै सबै वडामा हुने छ।” केही स्थानमा गलत नियतले खोलाको किनारसम्मै नापी गरिएको भेटिएको भन्दै त्यसलाई बदर गर्ने पक्रिया बढाइने पनि उनले बताए।

धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण भएकाले यसमा भएका अतिक्रमण नहटाउन्जेल डुबानको समस्या समाधान नहुने उनको तर्क छ। उनले भने, “यो वर्ष सुकुटी र कैलाली नालाको अतिक्रमण हटाउछौँ। अर्को वर्ष १९ वटै वडामा भएका/गरेका सबैखाले अतिक्रमण हटाउँछौँ।”

धनगढीलाई आगामी ५० वर्षसम्म डुबान हुन नदिन खोलानाला अतिक्रमण हटाउनु अनिवार्य भएको हमालले बताए। भने, “यसअघि पनि नगर कार्यसमितिको पहिलो निर्णय धनगढीको डुबान समस्या हल गर्ने भन्ने थियो। अतिक्रमण भएको केही ठाउँमा नापजाँच पनि भएको थियो। अहिले हामी त्यहीँबाट काम गर्दैछौँ। अतिक्रमण हटाउन सबैको समर्थन मिलेको छ, अर्को वर्ष सबै अतिक्रमण खाली गर्ने किसिमले हामी काम गर्नेर्छौँ।”

उपमहानगरपालिकाले अतिक्रमण हटाउन बजेटको व्यवस्था गर्ने र एकै पटक २०/२५ एक्स्काभेटर र डोजर लगाएर युद्धस्तरमा काम गर्ने हमालले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved