भूकम्पपछि तालिबान सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

पश्चिमा देशले मान्यता नदिएका कारण तालिबानी सरकारले भूकम्पसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सक्ने सम्भावनामाथि पनि प्रश्न उठेको छ।

नेपालभ्युज

भूकम्पपछि तालिबान सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

एजेन्सी। मंगलबार बिहान ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएपछि अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि याचना गरेको छ।

अफगानिस्तानमा भूकम्पका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ठूलो धनजनको नोक्सानी भएको छ। भूकम्पमा करीब १५ सय मानिस घाइते भएका सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पका कारण अफगानिस्तानको पाक्तिका प्रान्तमा सबैभन्दा धेरै क्षति पुगेको बताइएको छ। उक्त प्रान्तमा मानवीय सहायताका लागि संयुक्त राष्ट्रसंघको तर्फबाट पहल पनि शुरु भएको छ। भूकम्प गएको २४ घण्टा बित्दा पनि उद्धार कार्य पूर्ण रुपमा अझै सञ्चालनमा आउन सकेको छैन। समाचारहरूमा जनाइए अनुसार ठूलो वर्षा र कम स्रोतका कारण त्यहाँ उद्धार कार्य सञ्चालनमा ढिलाइ भएको हो।

भूकम्पमा ज्यान जोगिएका मानिसहरूका अनुसार पराकम्पनका कारण त्यहाँका सडक पूर्ण रुपमा क्षति भएको छ भने सञ्चारमाध्यमका टावर ध्वस्त भएका छन्। भूकम्पका कारण मृत्यु हुनेको संख्या हालको भन्दा धेरै बढ्न सक्ने उनीहरूले बताएका छन्।

अघिल्लो वर्ष मात्रै अफगानिस्तानको सत्ता समालेको तालिबानी सरकारका लागि भूकम्पपछिको अवस्था समाल्न गाह्रो हुने देखिएको छ। अफगानिस्तान सरकारलाई अपदस्त गर्दै तालिबानले सरकार गठन गरे पनि पश्चिमा देशले यसलाई मान्यता दिएको छैन। पश्चिमा देशले मान्यता नदिएका कारण तालिबानी सरकारले भूकम्पसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सक्ने सम्भावनामाथि पनि प्रश्न उठेको छ।

अफगानिस्तानको खोस्ट शहरभन्दा २७ किलोमिटर पर केन्द्रविन्दु बनाएर आएको भूकम्पको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो।

अफगानिस्तान अहिले आर्थिक रुपमा संकटग्रस्त अवस्थामा छ। सरकारका एक उच्च अधिकारी अब्दुल काहर बल्खीका अनुसार अहिलेको अवस्थालाई पार लगाउन तालिबान सरकार एक्लैलाई आर्थिक रुपमा असहज अवस्था छ। दातृ निकाय, छिमेकी देश र शक्ति राष्ट्रहरूले साथ दिइरहेको उनले बताए। उनले भने, “आर्थिक सहयोगको मात्रा बढाउनु पर्नेछ, दशकपछि आएको ठूलो भूकम्पसँग जुध्नका लागि अफगानिस्तानलाई ठूलो मात्रामा आर्थिक सहयोगको आवश्यकता छ।”

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानलाई सहयोग गर्न राष्ट्र संघ सम्बद्ध सम्पूर्ण निकायलाई ‘पूर्ण रुपमा’ परिचालन गर्ने बताए। स्वास्थ्य समूह, खाद्यान्न र आपतकालीन उद्धारका समग्रीसहित समूहलाई घटनास्थलमा पठाइएको राष्ट्रसंघले जनाएको छ।

पाक्तिका जिल्लाको गयान र बर्माल गाउँ भूकम्पका कारण सबैभन्दा बढी प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय समाचारमा जनाइएअनुसार गयान भन्ने गाउँ पूर्ण रुपमा क्षति भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved