बेइजिङ डायरी

चिनियाँ सुन्दरीको नेपाल मोह

बसमा चढ्दा निकै भीडभाड हुने गर्थ्यो। बसमा सीट छोडिदिने, गह्रुङ्गा झोला बोक्न सघाउने आदि नेपाली बानीले चिनियाँ युवतीहरुलाई अचम्म लागेको थियो। उनले भनिन्, ‘चीनमा यसरी नचिनेको मान्छेलाई सहयोग गर्ने कुरालाई अनौठो मानिन्छ। त्यस्तो परिपाटी चीनमा छँदैछैन भने पनि हुन्छ।’

चिनियाँ सुन्दरीको नेपाल मोह

‘मैले नेपाली भाषा जानेकी छु, कि म नेपाली भाषा जान्दछु। कुन ठीक हो सर बताइदिनु हुन्छ कि?’

म्यासेन्जरमा नचिनेको मान्छेको प्रश्नले एकछिन घोरिन बाध्य बनायो।

उनले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पनि पठाएकी रहिछन्। इन्ट्रोमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेको र काठमाडौंमा बसोबास गर्ने भनेर उल्लेख थियो। कालो फ्रकको दुवै फिरेल समाएको हँसिली बीस बाईस वर्षे युवतीको फोटो थियो। कुनै गुरुङ अथवा तामाङ जातिकी होलिन् भन्ने मैले अनुमान गरेँ।

उनी अनलाइन नै थिइन्। मैले जवाफ लेख्नुको साटो प्रश्नै सोधेँ ‘कस्तो प्रश्न सोध्नु भएको विदेशीले जस्तो?’

केहीबेरमा जवाफ आयो ‘नमस्ते सर। म विदेशी नै हुँ।’

मलाई जिस्क्याए जस्तो लाग्यो। झट्ट दिमागमा आयो अनि लेखेँ ‘यो उमेरमै गैरआवासीय नेपाली? कति चाँडो विदेशी हुन मन लागेको तपाईंलाई?’

निकै चाँडो उनले लेखिन् ‘म चिनियाँ हुँ। नेपाली भाषा पढेको हुनाले केही जान्दछु।’

म सगरमाथाको चुचुरोबाट एकैचोटि केचनाकबलमा थेचारिएँ।

नेपाली भाषा लेख्ने र बोल्ने चिनियाँसँग काम गर्न थालेको एक दशक हुँदा पनि यतिको शुद्धसँग नेपाली लेखेर प्रश्न गर्ने चिनियाँ भेटेको थिइनँ। उनको बारेमा जान्ने इच्छा जाग्यो। उनीसँग वी च्याटमा जोडेर कुराकानी गरेँ। उनले प्रयोग गर्ने शब्द, वाक्य संरचना, शैली र प्रस्तुति हामी नेपालीको भन्दा अब्बल रहेछ। गत वर्ष मात्र युन्नान जातीय विश्वविद्यालयबाट मूल विषय नेपाली लिएर गत वर्ष मात्र स्नातक भएकी चिनियाँ युवतीको नाम रहेछ पुहाई छियोङ।

सन् १९९८ मा युन्नान प्रान्तको सदरमुकाम खुन्मिङदेखि दक्षिणमा पर्ने युसीमा जन्मिएकी पुहाई छियोङको नामै फेरिएको छ। सन् २०१६  देखि उनी मोहिनी बनेकी छन्। उनलाई नेपाली सिकाउने पहिलो नेपाली गुरु परशुराम पौड्यालले उनको नाम मोहिनी राखिदिएका हुन्।

मोहिनीका परिवारमा दाइभाउजू र बुबाआमा तथा १० वर्षकी र ३ वर्षकी भदैनी छन्। बुबाआमा र दाजु भाउजू किसान हुन्। उनीहरु तरकारी उत्पादन गर्छन्, युसीलाई तरकारीको भण्डार भनेर चिनिन्छ।

गाउँमै ६ कक्षासम्म पढेकी मोहिनीले अर्को जिल्लामा गएर मिडल स्कुल पढिन्। माध्यमिक विद्यालय पढ्नका लागि उनले फेरि अलिक टाढाको स्कुलमा जानु पर्‍यो। टाढा भए पनि उनी घरबाटै धाएर पढ्ने गर्थिन्।

१२ कक्षा उत्तीर्णपछि स्नातक तहमा उनी नेपाली भाषा पढ्न थालिन्। नेपाली भाषा पढ्ने उनको रुचि अथवा रोजाइ भन्दा पनि संयोग हो। स्कुल पढ्दा उनको मनपर्ने विषय रसायनशास्त्र थियो। त्यसैगरी उनलाई मनपर्ने अर्को विषय अंग्रेजी पनि थियो। स्कुलमा उनी आफूले जानेका अंग्रेजी भाषाका शब्दहरु निर्धक्क उच्चारण गर्थिन्। जानेका वाक्यहरु पनि प्रयोग गरिहाल्थिन्। उनलाई पढाउने गुरुआमाले ‘ओहो तिमीले बोलेको अंग्रेजी भाषा कति राम्रो’ भनेर फुर्क्याउँथिन्। त्यसपछि त उनमा अंग्रेजी सिक्ने हुटहुटी चल्यो।

सन् २०१७ मा उनी युन्नान जातीय विश्वविद्यालय नेपाली भाषा पढ्न प्रवेश गरिन्। माध्यमिक विद्यालयमा पढ्दा पहिलोपटक उनले नेपालको नाम सुनेकी थिइन्। उनले भनिन् ‘मसँगै पढ्ने एकजना साथीले खै कहाँबाट हो कुन्नि नेपालको बारेमा थाहा पाएका रहेछन्। उनी सधैँ भन्थे म पछि नेपाल जान्छु। नेपाल सुन्दर छ। त्यहाँको दृश्यावलोकन गर्छु। धेरै फोटो र भिडिओ खिच्छु।’

त्यतिन्जेल उनलाई नेपाल कहाँ पर्छ र कस्तो देश हो भन्ने थाहा थिएन। उनलाई पहिलोपटक नेपालको बारेमा बताउने साथी चाहिँ अझै नेपाल गएका छैनन् रे।

युन्नान जातीय विश्वविद्यालयमा प्रवेश गर्नका लागि उनीहरुलाई सातओटा विदेशी भाषामध्ये प्राथमिकताका आधारमा तीनओटा भाषा छान्न भनिएको थियो। उक्त विश्वविद्यालयमा त्यतिबेला हिन्दी, उर्दू, सिंहाली, नेपाली, बंगाली,  पास्तो र तमिल भाषाको अध्ययन हुन्थ्यो। फारम भन्दा उनले उर्दू, हिन्दी र नेपालीलाई प्राथमिकताका आधारमा क्रमशः राखिन्।

उनलाई उर्दू भाषा पढ्न मन थियो। चीन र पाकिस्तानबीच अत्यन्त प्रगाढ सम्बन्ध भएकाले मोहिनी पनि उर्दू पढ्न लालायित थिइन्। चीनमा पाकिस्तानसँगको सम्बन्धलाई फलामे सम्बन्ध पनि भनिन्छ। उनका लागि सातवटै भाषा सबै उस्तै अपरिचित थिए।

फारम भर्दा क्रमशः उर्दू, नेपाली र हिन्दी राखेको देखेर एकजना साथीले भनेका थिए रे ‘तिमीले छानेका तीनओटै भाषा उस्तै उस्तै हुन्।’

नेपाली र हिन्दी भाषाका लिपि एउटै अनि हिन्दी र उर्दूको उच्चारण एउटै रहेछ भन्ने कुरा मोहिनीले पछि मात्र थाहा पाएको बताइन्।

त्यही वर्ष युन्नान जातीय विश्वविद्यालयले नेपाली, सिंहाली, तामिल र पास्तो भाषाको अध्यापन शुरु गरेको थियो। हिन्दी, उर्दू र वंगाली भाषाको चाहिँ त्यो भन्दा अगाडि नै पढाइ शुरु भएको थियो।

विश्वविद्यालय प्रवेश गर्न भरिएको फारममा छानिएका तीनओटा भाषामध्ये एक भाषा छान्नुपर्ने हुन्छ। भाषा छनोट गर्नुभन्दा अगाडि तीनओटै भाषामा सम्बन्धित शिक्षकले प्रस्तुति दिने गर्छन्। नेपाली भाषाको जानकारी दिनका लागि चिनियाँ शिक्षिका उषाले ‘विस्तारै विस्तारै’ बोलको गीत सुनाइन्। त्यसपछि उनले नेपालमा छायाङ्कन गरिएको चिनियाँ चलचित्र ‘तङफङलाई’ अर्थात ‘हावा आउन्जेल पर्खनुहोस्’ नामको चलचित्र देखाइन्। उक्त चलचित्रमा नेपालको लोभलाग्दो दृश्य देखेर मोहिनीको मन नेपाली भाषा सिक्नेतिर तानियो।

नेपाली भाषाको प्रस्तुति हेरेपछि उनले उर्दूको पनि हेरिन्। उर्दू भाषा त दाहिनेबाट देब्रेतिर लेख्नुपर्ने रहेछ भन्ने थाहा पाइन्। उर्दू अक्षरभन्दा नेपाली अक्षर हेर्दा उनलाई सुन्दर लाग्यो रे। हिन्दी भाषा त अन्तिममा राखेकाले उनले नेपाली भाषा छानिन्।

उनले सिकेको पहिलो नेपाली शब्द थियो ‘नमस्ते’। उनले दुई महिनामा सबै नेपाली अक्षर चिनिन्। नेपाली अक्षरमा उनलाई सबैभन्दा कठिन लागेको अक्षर ‘र’ हो। किनभने चिनियाँ उच्चारणमा नेपाली ‘र’ को उच्चारण छैन। त्यसैगरी उनलाई ‘ण’ अक्षरको उच्चारण गर्न पनि कठिन भयो। उनी भन्छिन् ‘चिनियाँ भाषामा ‘क’ ‘ख’ छ तर ‘ग’ ‘घ’ छैन। त्यसैगरी ‘च’ ‘छ’ छ तर  ‘ज’ ‘झ’ छैन्। त्यसैगरी’त’ ‘थ’ छ तर ‘द’ ‘ध’ छैन। नेपाली भाषामा तीन प्रकारका ‘स’ छन् तर चिनियाँ भाषामा दुई प्रकारको ‘स’ ‘श’ मात्र छन्।

विशेषगरी नेपाली नामहरु उच्चारण गर्न चिनियाँलाई निकै कठिन हुन्छ। नेपालीले जस्तै त्यही शब्द चिनियाँले उच्चारण गर्न नसक्नुको कारणमा मोहिनीको आफ्नै तर्क छ। उनी भन्छिन् ‘चिनियाँको तुलनामा नेपालीहरुको जिब्रो लामो हुन्छ। किनभने नेपालीहरु हातले खान्छन् र हात चाढ्छन्। त्यसो गर्दा जिब्रो बाहिर निकाल्नुपर्छ। चाट्दा चाट्दै जिब्रो लामो भएको हुनसक्छ।’

मोहिनीको यो तर्कका पछाडि कुनै वैज्ञानिक कारण छ कि भनेर मैले सोधेँ। उनले कतै इन्टरनेटमा पढिन् अथवा कुनै चिनियाँ किताबमा पो लेखेको छ कि भन्ने जिज्ञासा थियो। तर उनले पढेर भन्दा पनि आफूले अवलोकन गरेर त्यस्तो विचार व्यक्त गरेको भन्दै निकै लामो हाँसिन्। उनका हरेक कुरा तर्कपूर्ण र निकै चलाखीपूर्वक व्यक्त गरिएका थिए।

युन्नान जातीय विश्वविद्यालयमा पहिलोपटक नेपाली भाषा पठनपाठन शुरु हुँदा दशजना चिनियाँ विद्यार्थी थिए। उनीहरुलाई नेपाली सिकाउने हरिता र उषा दुईजना चिनियाँ शिक्षिकाहरु थिए। हरिता र उषाले बेइजिङबाट नेपाली मुख्य विषय लिएर स्नातक भएका हुन्। नेपालबाट आएका एकजना परशुराम पौड्याल गुरुले केहीसमय अध्यापन गराएका थिए। पछि नेत्र एटम र धनप्रसाद सुवेदीले अध्यापन गराए।

तेस्रो सेमेस्टरदेखि नेपालको इतिहास र संस्कृतिका बारेमा अध्यापन शुरु भयो। पहिले चिनियाँ शिक्षिका उषा र हरिताले नेपाली भाषाका शब्द बुझाउँदा चिनियाँ भाषाबाट वर्णन गर्थे। नेपाली शिक्षकहरुले नेपालीमै वर्णन गरेर पढाउन थालेपछि शब्दभण्डारमा पनि बढ्दै गएको उनी बताउँछिन्।

नेपाली भाषा सिक्दै जाँदा दसजना चिनियाँहरु मध्ये केही चिनियाँ त नेपाली भाषा सिक्न कठिन भयो भनेर धेरै दिक्क भएका थिए। मोहिनीलाई भने नेपाली भाषा सिक्दा कहिल्यै दिक्क नलागेको बताउँछिन्। स्नातक गरेपछि मोहिनीका केही साथीहरु निजामति सेवामा प्रवेश गरे। मोहिनीले भने निजामति सेवामा प्रवेश गर्ने सोचाइ बनाइनन्। उनी त नेपालमा गएर नेपाली भाषामा थप अध्ययन गर्न चाहन्छिन्।

पाँचौँ र छैटौँ सेमेस्टार अध्ययन गर्नका लागि मोहिनीको लगायत उक्त समूहमा रहेका १० जना चिनियाँ विद्यार्थीले नेपाल गएर विश्वभाषा क्याम्पसमा पढ्ने मौका पाए। नेपाल जाँदा उनीहरुमा अत्यन्त ठूलो जिज्ञासा र उत्साह थियो। नेपाल कस्तो होला? त्यहाँको समाज कस्तो होला? संस्कृति कस्तो होला? भन्ने प्रश्नहरु मोहिनीको दिमागमा खेलिरहेका कुरा थिए। नेपाल जाँदा उनी पहिलोपटक हवाइ जहाज चढेकी थिइन्। त्यसकारण थुप्रै कुराको नयाँ अनुभव पनि भयो। काठमाडौं पुगेपछि केही रात त उनी सुतिनन् पनि। रातभर काठमाडौं हेरेर उनी मोहित हुन्थिन् रे।

पहिले उनीहरु विशालनगरमा बसेका थिए। पछि कुपन्डोलमा डेरा सरे। कुपन्डोलबाट विश्वभाषा क्याम्पस जाँदा सधैँ सार्वजनिक बस प्रयोग गर्दथ्ये। पहिले विशालनगरबाट पनि सार्वजनिक बसमा यात्रा गर्दथे। जम्मा एक वर्ष नेपाल बसे पनि दशैँ तिहारको बिदा भएकाले १० महिना जति मात्र पढाइ भयो। दशैँमा नेत्र एटमको घरमा गएर दशैँ मनाएका कुरा उनको दिमागमा सधैँ प्रगाढ बनेर बसेको छ। एटम सरकी आमाले टिका लगाएर दक्षिणा दिएको कुरालाई उनले जीवनकै ठूलो आशीर्वादका रुपमा लिएकी बताउँछिन्।

तिहारमा एकजना साथीको घरमा गएर देउसिरे खेलेको कुरा पनि उनी कहिल्यै बिर्सिदिनन्। उनीहरुले पोखरा गएर घुम्ने मौका पनि पाए। पोखरामा जाँदा प्याराग्लाइडिङ गरेको, काठमाडौंको चन्द्रागिरि, ठमेल, स्वयम्भू, बौद्ध, भक्तपुर, पाटन जति घुमे पनि धित नमर्ने ठाउँहरु हुन् मोहिनीका लागि।

विश्वभाषा क्याम्पसका कक्षा कोठा अत्याधुनिक छैनन्। टेबुल छैन। कुर्सीमा बसेर त्यसैको साँघुरो बिटमा लेख्नुपर्ने। ती कुर्सीहरु पनि निकै पुराना थिए। कक्षा कोठामा भएका सबै फर्निचरहरु एकदमै पुराना थिए। कालोपाटी पनि एकदमै सानो। कक्षा कोठामा एसी पनि छैन। मोहिनीले गुनासोसँगै नेपालमा पढ्दाको अनुभव सुनाइन्।

उनीहरुले नेपाली भाषा मात्र नभई अंग्रेजी भाषा पनि पढ्नु पर्दथ्यो। तर अंग्रेजी पठाउने शिक्षकले बोलेको चाहिँ अंग्रेजी जस्तो नभएर नेपाली हो कि अथवा अरु नै कुनै भाषा बोलेको हो कि जस्तो लाग्थ्यो रे चिनियाँ विद्यार्थीहरुलाई। उनले नेपाली पारामा अंग्रेजी पठाउँदा रहेछन् भनेर धेरैपछि मात्र मोहिनीले थाहा पाइन्। त्यसमाथि समयमा शिक्षक नआउने। कक्षा शुरु हुने बेला भइसकेपछि शिक्षक खोज्न जानु परेको तीतो यथार्थ पनि उनले सुनाइन्। भनिन् ‘चमेनागृहमा हो कि अथवा आज नआएको हो कि भन्ने कुरा थाहा हुन्नथ्यो। पढाइ पनि केही नबुझिने त्यसमाथि समयको कहिल्यै वास्ता नगर्ने परिपाटीले दिक्क बनाएर मेरो सधैँ टाउको दुख्थ्यो।’

अंग्रेजी नराम्रो भए पनि नेपाली विषय चाहिँ राम्रो थियो। नेपाली गुरु ठीक समयमा आउँथे र राम्रो पठाउँथे। नेपाली साहित्यको बारेमा पनि थुप्रै पढ्ने मौका पाएको सुनाइन्।

नेपालमा रहँदा दशैँ, तिहार, होली, इन्द्रजात्रा, गाई जात्रा जस्ता पर्व मनाउन पाउँदा नेपाली संस्कृतिलाई नजिकैबाट देख्न पाएको उनले सुनाइन्। होली मनाउँदाको अर्को तीतो अनुभव पनि छ उनीसँग। आफ्नी एकजना चिनियाँ साथीसँग होली खेल्न भनेर मोहिनी वसन्तपुर गएकी थिइन्। उक्त समयमा नेपालमा कोरोना महामारी थिएन तर चीनमा कोरोना महामारी थियो। उनीहरु वसन्तपुर पुग्दा कतिपय मान्छेले ‘ओहो कोरोना आयो कोरोना’ भनेर हियाएका थिए।

त्यो समयमा त्यहाँ मोहिनी र उनकी साथीले मात्र मास्क लगाएका थिए। आफूहरुले मास्क लगाएको र चिनियाँ भएकाले कोरोना भनेपछि अपमानित भएर मोहिनी आफ्नी चिनियाँ साथीसँग कुपन्डोलमा फर्किइन्। नजिकैको पसलबाट केही रङ किनेर आपसमा लगाएर उनीहरुले होली मनाए।

बसमा चढ्दा निकै भीडभाड हुने गर्थ्यो। बसमा सीट छोडिदिने, गह्रुङ्गा झोला बोक्न सघाउने आदि नेपाली बानीले चिनियाँ युवतीहरुलाई अचम्म लागेको थियो। उनले भनिन् ‘चीनमा यसरी नचिनेको मान्छेलाई सहयोग गर्ने कुरालाई अनौठो मानिन्छ। त्यस्तो परिपाटी चीनमा छँदैछैन भने पनि हुन्छ।’

मोहिनीलाई गहिरो प्रभाव पारेको अर्को एउटा घटना पनि रहेछ। भरखरै नेपाल पुगेर विशाल नगरमा बस्न थालेको केही दिन मात्र भएको रहेछ। उनीहरु बसेको नजिकै हिँड्दै गर्दा एकदिन मोहिनीको फोन नालीको साँघुरो च्यापमा छिरेछ। अब कसरी मोबाइल झिक्ने भन्ने सकस भइरहेको बेला छेउमा मकै पोल्ने महिलाले आफ्नो छोरालाई भनिछन् ‘बाबु तिम्रो हात सानो छ दिदीको मोबाइल झिकिदेऊ त त्यो च्यापबाट।’

मोहिनीले भनिन् ‘त्यो बाबुको हातले पनि नभेटेपछि ती महिलाले एउटा लामो आङ्कुसे ल्याएर मोबाइल झिकिदिइन्। न चिन्नु न जान्नु। हामीबीचमा बोलचाल पनि भएको थिएन। कत्ति सहयोगी मान्छे।’

सन् २०१९ को जुलाईमा नेपाल गएका उनीहरु २०२० को जुलाईमा चीन फर्किएका थिए। चीन फर्किएपछि पनि मोहिनीको मनमस्तिष्कमा नेपाल जमेर रहेको छ। कोरोना महामारी नभएको भए यतिखेर मोहिनी नेपालमा नेपाली विषयमा स्नातकोत्तर गर्दै हुने थिइन्। अब कोरोना पूर्ण नियन्त्रण भएपछि नेपाल गएर नेपाली भाषामा उच्च शिक्षा लिने र त्यही क्षेत्रमा काम गर्ने उनले सुनाइन्।

नाम मोहिनी। कुरा पनि अर्कालाई मोहनी लगाउने खालका। मन सफा अनि भावना पनि पवित्र।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved