एसीसी महिला टी–ट्वान्टी : सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

सेमिफाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले फाइनल प्रवेशसँगै एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

नेपालभ्युज

एसीसी महिला टी–ट्वान्टी : सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

काठमाडौं। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।

मलेसियामा जारी प्रतियोगिताको समूह ‘बी’ को उपविजेता बनेको नेपालको भेट समूह ‘ए’ को विजेता यूएईसँग हुने भएको हो।

समूह चरण अन्तर्गतको बुधबारको अन्तिम खेलमा कतारलाई १५३ रनको फराकिलो अन्तरले पराजित गर्दै यूएई समूह विजेता बनेको हो। यदि हुन लागेको सेमिफाइनलमा यूएईलाई पराजित गर्न सके नेपालले फाइनल प्रवेशसँगै एसिया कपमा स्थान सुरक्षित गर्नेछ।

एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता शीर्ष वरियताका राष्ट्रको सहभागिता रहनेछ। १० राष्ट्रको सहभागिता रहेको यस च्याम्पियनसिप यसै वर्ष बंगलादेशमा आयोजना हुने महिला टी–ट्वान्टी एसिया कपको छनोट प्रतियोगिता पनि हो।

यो प्रतियोगिताको फाइनल खेल्ने शीर्ष दुई टिमले एसिया कप खेल्न पाउनेछन्।

नेपालले समूह चरणमा लगातार शुरुआती तीन खेल जित्दा एक खेलमा पराजय भोगेको थियो। पहिलो खेलमा भुटानलाई ५० रनले पराजित गरेको नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रन र तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएको थियो।

तर अन्तिम खेलमा हङकङसँग ७ विकेटले पराजित भएको नेपाल समूह विजेता बन्न सकेन। समूहमा चारै खेल जितेर विजेता बनेको हङकङले अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनलमा नेपालसँग खेल्ने यूएईले भने समूह चरणमा अपराजित रहँदै तीन खेल जित्दा एक खेल नतिजाबिना नै सकिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved