झुप्रा खोला छेउका वादी समुदायलाई बाढीको डर

झुप्रा खोला छेउका वादी समुदायलाई बाढीको डर

सुर्खेत। वर्षायाम शुरु भइसकेको छ। विभिन्न स्थानमा बाढीपहिरोले कतिले घर गुमाएका छन् भने कतिले परिवार गुमाएका छन्।

पहिरोको जोखिममा परेका समुदाय त्रसित बन्न थालेका छन्। वीरेन्द्रनगर–११, झुप्रा खोला छेउछाउमा बसोबास गर्ने वादी समुदायलाई पनि खोलाको डर लाग्न थालेको छ।

१६ वर्षदेखि झुप्रा खोला किनारमा बस्दै आएका वादी समुदायका १३५ घरधुरी बाढीको त्रासमा छन्। याे समुदायको आम्दानीको प्रमुख स्रोत बालुवा, गिट्टी हो। उनीहरुको जीविका यसैले धानेको छ।

पाँच जनाको परिवारलाई साँझ–बिहानको छाक टार्ने माध्यम नै झुप्रा खोला बनेको कमला वादीले बताइन्। ‘‘खोला किनारमा बालुवा चाल्न थालेको १६ वर्ष भयो। यही खोलाकै भर, डर पनि यसैको छ’’, उनले भनिन्।

उज्यालो भएलगत्तै उनीहरु खोला किनारामा पुग्छन्। बालुवा, गिट्टी र ढुङ्गा बटुल्दाबटुल्दै खान समेत भ्याउँदैनन् कहिले त। कमलाका अनुसार दिनभर काम गरे एक ट्याक्टर बालुवा हुन्छ, चार सय रुपैयाँ आम्दानी हुन्छ।

खोलामा बालुवा, गिट्टी निकाल्नका लागि वीरेन्द्रनगर नगरपालिकाले ठेक्का लगाएको छ। ठेकेदारले डोजर लगाएर बालुवा झिक्न थालेपछि पहिले आम्दानी घटेको श्याम वादीको बताए। ‘‘पहिला एक हजारभन्दा बढी नै आम्दानी हुन्थ्यो। अहिले त ठेकेदारले डोजर लगाएर बालुवा उठाउँछन्, हाम्रो त रोजगारी नै खोसिएको छ,’’ उनले भने।

डोजर लगाएर बालुवा, गिट्टी निकाल्दा वर्षामा ठूलो पानी परे घरको आँगनसम्मै पानी पुग्छ। वर्षायाम शुरु भएलगत्तै खोलामा बाढी आएर बगाउने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपर्ने गगन वादीले बताए।

बस्तीमा पानीको पनि अभाव छ। खोलाकै पानी खान उनीहरु बाध्य छन्।

वादी समुदायले दुई वर्षअघि खेतीयोग्य जमिन र खोला किनारमा उचित वासस्थानको माग गर्दै १८ दिन लामो आन्दोलन गरेका थिए। त्यतिबेला प्रदेश सरकार र संघर्षरत् वादी समुदायबीच पाँच बुँदे सहमति भएको थियो।

पाँच बुँदे सहमतिमा जग्गा प्राप्ति, वादी समुदायका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नीति तथा कार्यक्रममा वादी समुदायका अधिकारलाई समेत समेट्ने, ऋण अनुदान लगायतको व्यवस्था गर्ने विषय समेटिएका थिए। दुई वर्षअघिको सहमति अहिलेसम्म कार्यान्वयन नभएको वादी संघर्ष समितिका संयोजक हिक्मत वादी बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved