दुर्गा प्रसाईंलाई नक्कली सुनको लौरो दिने राजकुमार पनि ‘नक्कली’

राजकुमार भनिएका मक्तोउम राजपरिवारको लगानी भएको एक बहुराष्ट्रिय कम्पनीका अध्यक्ष मात्र हुन्। शाही परिवारको लगानी भएको ‘एमबीएम’ ग्रुपका अध्यक्ष हुन्। उनी कुनै राजकुमार पदमा आसीन व्यक्ति होइनन्।

दुर्गा प्रसाईंलाई नक्कली सुनको लौरो दिने राजकुमार पनि ‘नक्कली’
तस्वीर: सामाजिक सञ्जाल

काठमाडौं। नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ। मेडिकल कलेज सञ्चालक तथा एमाले नेता दुर्गा प्रसाईँले दुबईका राजकुमार भन्दै प्रचार गरेका उनी त्यहाँका ‘क्राउन प्रिन्स’ अर्थात् राजकुमार पदमा नभएको खुलेको हो।

शनिबार बिहान उनी नेपाल आएदेखि नेपालका सबैजसो सञ्चारमाध्यमले ‘दुबईका राजकुमार नेपालमा’ भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्। दुबईका राजकुमार काठमाडौं आएर झापा पुगेर विभिन्न गतिविधि गर्दाका समाचार मिडियामा छाइरहँदा परराष्ट्र मन्त्रालयसहित सुरक्षा निकायहरू बेखबर थिए।

त्यति मात्र होइन नेपालका लागि युएईका राजदूत शाहिद हमदान अलनक्बी समेत अहिले नेपालमा छैनन्। यस्तो अवस्थामा ‘दुबईका राजकुमार नेपालमा’ भन्दै आएको समाचारले परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू समेत झस्किए। कुनै समन्वय नै नगरी ‘राजकुमार जस्तो भीभीआईपी पदाधिकारी कसरी नेपाल आए’ भन्दै उनीहरू चकित परे।

साधारणतया कुनै पनि देशका राजकुमारलाई सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने तथा उच्च सुरक्षा व्यवस्था दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरू विमानस्थलमा पुग्नुपर्ने हुन्छ। तर, यी सबै व्यवस्था बिनै राजकुमार झापा पुगेको खबरले कूटनीतिक निकाय तथा सुरक्षा निकायमा केही समय खैलाबैला मच्चियो। अझै मेडिकल कलेज सञ्चालक प्रसाईँलाई सुनको लौरो उपहार दिएको समाचारले त विमानस्थलका भन्सार कार्यालयका अधिकारीहरू छाँगाबाट खसेझैँ भए। ‘भन्सारबाट पास नभई कसरी सुनको लौरो झापा पुग्यो’ भन्दै सुरक्षा निकाय समेत अचिम्मिच बन्यो।

तर, प्रसाईँलाई दिएको भनिएको सुनको लौरो नक्कली सुनको भएको पुष्टि गर्दै नेपाल भ्यूजले शनिबार साँझ समाचार प्रकाशन गरेको थियो। रहस्य खुल्दै जाने क्रममा फेरि थाहा भयो नक्कली सुनको लौरो दिन राजकुमार समेत सक्कली होइन रहेछन्।

को हुन् त दुबईका असली राजकुमार ?

सातवटा इमिरेट्स मिलेर बनेको युएई अन्तरगतको दुबईमा शेख मोहम्मद बीन राशिद अल मकतूम राजा छन्। ७३ वर्षका उनी दुबईका राजा तथा यूएईका उपाध्यक्ष हुन्। सन् २००६ मा आफ्नो दाजु शेख मकतूमको मृत्यु पछि उनी राजा भएका हुन्। त्यहाँको राजकुमारलाई ‘क्राउन प्रिन्स’ भनिन्छ।

त्यहाँका राजकुमार अर्थात् ‘क्राउन प्रिन्स’ चाहिँ ‘हमदान बिन मोहम्मद बिन रसिद अल मकतूम’ हुन्। १४ नोभेम्बर १९८२ मा जन्मिएका उनले १ फेब्रुअरी २००८ मा पदभार ग्रहण गरेका हुन्। ४० वर्षका उनी अहिलेसम्म सो पदमा कायमै छन्। उनी नै त्यहाँका वास्तविक राजकुमार हुन्। दुबईको कानुनअनुसार हालका राजा शेख मोहम्मद बीन राशिद अल मकतूमको निधनपछि ‘क्राउन प्रिन्स’ हमदान बिन मोहम्मद बिन रसिद अल मकतूम नै त्यहाँका राजा बन्नेछन्।

राजकुमार भन्दै प्रचार गरिएका व्यक्ति व्यापारिक कम्पनीका अध्यक्ष मात्र

दुबईको राजकुमार नेपाल भ्रमणमा आएको भन्दै समाचारमा छाएका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम राजपरिवार निकटका एक सदस्य मात्र रहेको खुलेको छ।

उनी राजा शेख मोहम्मद बीन राशिद अल मकतूमका छोरा होइनन्। त्यहाँका राजाका धेरै जना पत्नी छन्। यस कारण धेरै सन्तान हुने गर्दछन्। त्यस्तै निकटका एक सन्तान हुन्, शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम पनि।
भावी राजा हुने व्यक्तिलाई मात्र राजकुमार ‘क्राउन प्रिन्स’ भनिने त्यहाँको परम्परा छ। उनको पद त्यो नरहेको युएई तथा दुबईका विभिन्न सरकारी आधिकारी पोर्टलहरूमा उल्लेख छ।

अहिले नेपालमा रहेका उनी राजपरिवारको लगानी भएको एक बहुराष्ट्रिय कम्पनीका अध्यक्ष मात्र हुन्। शाही परिवारको लगानी भएको ‘एमबीएम’ ग्रुप दुबईस्थित सन् २००६ स्थापना भएको हो। उनी सो कम्पनीका अध्यक्ष हुन्। उनी अध्यक्ष रहेको कम्पनीले इन्धन उद्योग, होटल तथा विभिन्न क्षेत्रमा लगानी गरेको छ।

परराष्ट्र मन्त्रालयले भन्यो – उहाँको भ्रमण हाम्रो नोटमा छैन

दुबईका राजपरिवारसँग निकट रहेका शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउमको भ्रमण कूटनीतिक नोटमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका एक उच्च अधिकारीले नेपाल भ्यूजसँग भने, ‘‘अहिले दुबईबाट नेपाल आएका भनिएका व्यक्तिको कूटनीतिक भ्रमण होइन। हाम्रो नोटमा छैन। राजपरिवारसँग नजिक साइनो रहेका उहाँ व्यापारिक प्रयोजनका लागि यहाँ आउनुभएको भन्ने खबर पाएका छौँ।’’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved