वाम गठबन्धनः बाहिरबाहिर विरोध, भित्रभित्रै भेटघाट

सार्वजनिक मञ्चहरूमा वाम गठबन्धनबारे विरोध जनाए पनि एमालेका नेताहरूले माओवादी केन्द्रका नेताहरूसँगको भेटघाट बढाएका छन्।

नेपालभ्युज

वाम गठबन्धनः बाहिरबाहिर विरोध, भित्रभित्रै भेटघाट

काठमाडौं। ४ असारमा बुटवलको एउटा कार्यक्रममा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल भन्दै थिए, “एमालेलाई कुनै गठबन्धनको आवश्यकता छैन।”

तर त्यसको दुई दिनअघि २ असारमा उनै पौडेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेको खुलेको छ। भेटको विषय भने उही थियो, बाम गठबन्धन।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न एमाले उपाध्यक्ष पौडेल २ असारको रातीपख दाहाल निवास खुमलटार पुगेका थिए। दाहालसँगको भेटमा उपाध्यक्ष पौडेलले संघीय निर्वाचनमा बाम गठबन्धनको सम्भावना लगायतका विषयमा छलफल गरेको स्रोतले बतायो।

“माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा एमाले उपाध्यक्ष पौडेलले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेट गराउने प्रयास गर्ने बताउनु भएको थियो,” स्रोतले भन्यो।

यसअघि २९ जेठमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए

नेपालमा बढ्दै गएको कूटनीतिक दबाब लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइए पनि उक्त भेटघाटमा बाम गठबन्धनबारे नै चर्चा भएको स्रोतले बतायो।

माओवादी अध्यक्षसँगको भेटमा पौडेलले ३ असारमा भक्तपुरको गुण्डुमा दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट गराउने तय भएको थियो। तर सोही दिन भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चितवन पुगेका दाहाल फर्किन ढिलो भएपछि अन्तिम समयमा पुगेर भेटघाट स्थगित भएको स्रोतले बतायो। त्यसयता दुई अध्यक्षबीच भेटघाटबारे कुनै थप पहल भएको छैन।

सार्वजनिक मञ्चमा एमाले नेताहरूले बाम गठबन्धनको विषय अस्वीकार गर्दै आए पनि माओवादी केन्द्रका नेताहरूसँग उनीहरूको भेटघाट बढ्दै गएको छ। भेटघाट बढ्दै जाँदा दुवै पार्टीका नेताबीचको सम्बन्ध सकारात्मक हिसाबमा बढेको देखिन्छ।

नेकपामा विभाजन आएपछि एउटै मञ्चमा उपस्थित हुन पनि गाह्रो मान्ने दुई पार्टीका नेताहरू अचेल विभिन्न कार्यक्रममा एउटै मञ्चमा देखापर्न थालेका छन्।

४ असारमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान कूटनीतिक अभ्यास र यसको प्रभाव’ विषयक अन्तरक्रिया त्यसको पछिल्लो उदाहरण हो। उक्त कार्यक्रममा एमाले उपामहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी थिए।

कार्यक्रममा नेपालको वर्तमान कूटनीतिक सम्बन्धबारे दुुवै नेताले समान खालको धारणा व्यक्त गरे।

“उहाँहरूको अभिव्यक्ति सुन्दा दुई पार्टीका नेताभन्दा पनि एउटै पार्टीका  उपमहासचिव र सचिव बोले जस्तो सुनियो”, कार्यक्रम सञ्चालकले त मञ्चमै टिप्पणी गरेका थिए।

त्यसो त २८ जेठमा पनि यी दुवै नेताबीच खुमलटारस्थित एक होटलमा भेट भएको थियो। भेटको विषय भने संघीय निर्वाचनमा बाम गठबन्धनको सम्भावनाका विषयमा छलफल गर्नु थियो।

सार्वजनिक कार्यक्रममा नेताहरूले संघीय निर्वाचनमा बाम गठबन्धनको सम्भावना नभएको बताए पनि भित्रभित्रै भने नेताहरूले त्यसमा प्रयास गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved