प्रधानमन्त्रीको अनुपस्थितिबारे भीम रावलले भने – खेद प्रस्ताव पारित गरौँ

‘‘संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक छ,’’ बैठकमा उनले भने, ‘‘समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ।’’

नेपालभ्युज

प्रधानमन्त्रीको अनुपस्थितिबारे भीम रावलले भने – खेद प्रस्ताव पारित गरौँ
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाउँदै खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री देउवा उपस्थित नभएपछि समिति सदस्य समेत रहेका नेता रावलले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन्।

‘‘संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक छ,’’ बैठकमा उनले भने, ‘‘समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ।’’

नेता रावलले एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने नलेखेको भन्दै असन्तुष्टि पोखे। उनले भने, ‘‘एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने हो। समितिमा पनि नआउने, पत्र पनि नलेख्ने ? अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्छ।’’

समितिको बैठकमा नगएका प्रधानमन्त्री देउवा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेतासँग छलफलमा व्यस्त छन्। अमेरिकाले अघि सारेको स्टेट पार्टनशीप प्रोग्राम (एसपीपी) का विषयमा थप छलफल गर्न गठबन्धन दलका शीर्ष नेताको बैठक आज बसेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता उपस्थित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved