आगलागीमा वृद्धाको मृत्यु

नेपालभ्युज

आगलागीमा वृद्धाको मृत्यु
सांकेतिक तस्वीर।

गोरखा। गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। शहीद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।

घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए। गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए।

एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ। आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्णरूपमा नष्ट भएको वडाध्यक्ष श्रेष्ठले बताए। “घटनाको प्रकृति हेर्दा शुक्रबार साँझ घटेजस्तो देखिन्छ”, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले भने, “तर बिहान ७ः३० बजे मात्र मृतकका छोराले थाहा पाएर सबैलाई जानकारी गराएपछि घटनाका बारेमा थाहा भएको हो।”

विस्फोटपछि भएको आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ भने महिलाको शरीर पूरै जलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। घरभित्र प्रयोग गर्दै आएको ग्यास सिलिण्डरसमेत विष्फोट भएको अवस्थामा फेला परेकाले ग्यास सिलिण्डर विस्फोटपछि आगलागी भएको अनुमान गरिएको प्रहरी उपरीक्षक खनालको भनाइ छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved