जुत्ता उद्योगमा भीषण आगलागी, ६५ लाख क्षति

नेपालभ्युज

जुत्ता उद्योगमा भीषण आगलागी, ६५ लाख क्षति
सांकेतिक तस्वीर

बागलुङ। बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो।

आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ।

दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आएका थिए।

आगलागीको खबर पाएलगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवालीसहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको थियो।

आगलागीबाट सोही घरमा बस्ने ६९ वर्षीय सरधुन श्रेष्ठ, ६१ वर्षीय भगवती श्रेष्ठ, ३८ वर्षीय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिए। उनीहरू सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved