महिलाका लागि पहिलोपटक जलयात्रा तालिम

रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ।

नेपालभ्युज

महिलाका लागि पहिलोपटक जलयात्रा तालिम
फाइल तस्वीर

काठमाडौं। नेपाल पर्यटन बोर्डले नेपालमा पहिलोपटक महिलाका लागि जलयात्रा तालिम शुरु गरेको छ।

बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत बुधबारदेखि सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित सुनकोसीमा १५ दिने महिला रिभर गाइड तालिम शुरु गरेको हो।

रिभर गाइड तालिममा महिलालाई नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)ले निःशुल्क तालिम प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ।

तालिमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले पहिलो पटक महिलाका लागि मात्र आयोजना गरिएको यो तालिमले जल पर्यटनको क्षेत्रमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको बताए।

तालिमका रुपमा मात्र नलिई यस क्षेत्रमा नै आफ्नो भविष्य बनाउने गरी काम गर्न आग्रह गर्दै रेग्मीले बोर्डले आगामी दिनमा नारासँगको सहकार्यमा थप तालिमको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

यूएनडीपीकी कल्पना सरकारले कोभिड–१९ पछि पर्यटन मजदुर सबैभन्दा समस्यामा परेको भन्दै उनीहरुको जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम शुरु गरिएको बताए। तालिमले महिला सशक्तीकरण, रोजगारी सिर्जनासँगै यस क्षेत्रमा भएको जनशक्तिको कमीलाई परिपूर्ति गर्ने उनको भनाइ थियो।

नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)का अध्यक्ष शिव अधिकारीले नेपालको इतिहासमै पहिलोपटक महिलालाई निःशुल्क रिभर गाइड उपलब्ध गराएर महिलाका लागि रोजगारीको ग्यारेन्टी गरिएको भन्दै खुशी व्यक्त गरे। उनले नदी सफा र सुरक्षित राख्न गाउँपालिकालाई आग्रहसमेत गरे।

कार्यक्रममा नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाको सहभागिता न्यून रहेकाले युवाको आकर्षण बढाउन र महिलालाई आत्मनिर्भर बनाउने महत्वपूर्ण उद्देश्य बोकेर तालिमको आयोजना गरिएको बताए।

यही १५ असारसम्म चल्ने तालिममा ५३ महिला सहभागी रहेको नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिए। यूएनडीपीले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले अल्पकालीन रोजगार तथा तालिमका कार्यक्रम अगाडि बढाउँदै आएको छ।

उक्त कार्यक्रमबाट देशभर ६ हजारभन्दा बढी व्यक्तिलाई अल्पकालीन रोजगारी प्रदान गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved