खोडपेमा खानेपानीको हाहाकार

खानेपानीको आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो।

खोडपेमा खानेपानीको हाहाकार

बैतडी। सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ। गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो।

खानेपानीको आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो। लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए।

खानेपानीको हाहाकार हुँदा यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरुलाई समेत समस्या हुने गरेको छ। खानेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताए। उनले भने, “खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्त छ, यसले गर्दा निकै घाटा व्यहोर्नु परेको छ।”

खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको पाटन नगरपालिका– ८ का वडाध्यक्ष हरिश बिष्टले बताए। उनले भने, “विद्युतीय समस्याका कारण खानेपानी बन्द भएको हो। कम भोल्टेजको विद्युत् प्रवाह भइरहेको हुनाले मोटरले काम गरेको छैन। विद्युत् वितरण केन्द्रलाई खबर गरेका छौँ, प्रविधिक टोली आएर मर्मत गरिरहेकाले छिट्टै समाधान हुन्छ।”

यसैबीच खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको छ। पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो। दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। उनले भने, “बजारमा खानेपानीको चरम अभाव भएपछि नगरपालिकाको दमकलबाट हामीले खानेपानी आपूर्ति गर्न थालेका छौँ यसले केही राहत मिलेको छ।”

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदै आएकाले खोडपेमा सधैँ खानेपानीको अभाव हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved