नेकपा एसले पायो चितवन जिसस उपप्रमुख, प्रमुखको निर्वाचन मंगलबार

नेपालभ्युज

नेकपा एसले पायो चितवन जिसस उपप्रमुख, प्रमुखको निर्वाचन मंगलबार

भरतपुर । जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी छन्। उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा नेकपा (एमाले)बाट कसैले उम्मेदवारी दिएनन्।

चितवनको जिससमा प्रमुख र उपप्रमुखसहित १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो।

जिससको प्रमुखमा सत्ता-गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै तीन जना खुला सदस्यहरूमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेदवारी परेको छ । एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईंको उम्मेदवारी परेको छ ।

त्यसैगरी तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एस) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेद्वारी परेको छ । एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेदवारी परेको छ ।

एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरीमाया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन्। सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरीउपर निर्णय गर्ने कार्यतालिका छ। नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।

मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र एमालेको समान ७ भोट छ। निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भए गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved