वासु शशीका प्रतिनिधि कविता ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

नेपालभ्युज

वासु शशीका प्रतिनिधि कविता ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक

काठमाडौं। प्रसिद्ध कवि वासु शशीका प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा प्रसिद्ध कवि एवम् गीतकार कालीप्रसाद रिजाल, यादव खरेल, गायक-सङ्गीतकार गणेश रसिक, वासु शशीकी पत्नी जुलुम वैध, कवि मोमिला र समालोचक राजकुमार बानियाले कृतिको लोकार्पण गरेका हुन्।

‘‘वासु शशी मानवतावादी कवि हुन् र कवितामै जीवन व्यतीत गरे,” लोकार्पित कृतिमाथि बोल्दै कालीप्रसाद रिजालले भने, ‘‘कवितामा बाँच्ने थोरै कविहरूमध्ये वासु शशी एक हुनुहुन्थ्यो।”

वासु शशीको कथा ‘लोभीपापी’मा पहिलो हास्यव्यङ्ग्य चलचित्र निर्माण र निर्देशन गरेका यादव खरेलले उनको सरल जीवन र काव्यिक बहुआयामको चर्चा गरे। ‘‘कविता लेखेर पाउने जति चर्चा नपाए पनि उनी आफ्नो समयका सर्वाधिक शक्तिशाली कवि हुन्,” खरेलले भने।

त्यस्तै, गणेश रसिकले वासु शशीका गीतको चर्चा गरे।

‘‘गीतकारले लेखेका गीतमा केवल तुकबन्धी मात्रै हुन्छ, कविका गीतमा विम्ब-प्रतीकलाई उचित प्रयोग गरिएको हुन्छ, जुन वासु शशीका गीतमा पाइन्छ,”कृतिगत समीक्षा गर्दै कवि मोमिलाले भनिन्, ‘‘मानवीयता, राजानीतिक र सामयिक व्यङ्ग्य, प्रेम र जीवन-जगतका मसिना विषयलाई कविता बनाएका शशीका कविताले अबको पुस्तालाई काव्यिक चेत प्रदान गर्नेछन्।”

त्यसै गरी, कृतिका सम्पादक राजकुमार बानियाले वासु शशी लेखनाथ, देवकोटा, सम, भूपि, रिमालहरूको लहरका कवि भएको र नयाँ पुस्ताले उनका कविता पढ्न नपाएकोमा आफूले यो कृति ल्याउन प्रयास गरेको बताए।

वासु शशी स्मृति परिषदले आयोजना गरेको कार्यक्रममा परिषदका सचिव कवि प्रधुम्न जोशीले यो कृतिबाट शशीलाई नयाँ पुस्ताले अध्ययन गर्ने अवसर प्राप्त गर्ने बताए।

शशीका ८ वटा कृतिबाट समालोचक राजकुमार बानियाले चयन गरेका ११८ वटा कविताहरू यस सङ्ग्रहमा समावेश गरिएका छन्।

पुस्तकलाई बुकहिलले क्लासिक सेरिज अन्तर्गत ुहार्डकभरुमा सार्वजनिक गरेको हो। २६४ पृष्ठको किताबको मूल्य ५५५ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved