दुई विदेशी कविका कवितामा काठमाडौँ

काठमाडौँबारे अमेरिकी कवि वेन एम्सिस र आइरिस कवि क्याथल ओ सर्केगका कविता।

नेपालभ्युज

दुई विदेशी कविका कवितामा काठमाडौँ

काठमाडौँ- एक प्राचीन शहर/समृद्ध सभ्यता। यो सुन्दर पहाडी उपत्यकाको सौन्दर्य, सम्पन्नतादेखि बेथितिजन्य पक्षहरू धेरैले काव्यिक धरातलमा उतारे। आदिकवि भानुभक्त आचार्यको ‘अलकापुरी कान्तिपुरी नगरी’ का रूपमा होस् वा नयाँ पुस्ताका काव्य-सर्जकहरूका नजरमा यो शहर आफ्नै रङ-रेखामा आवृत्त भएका छन्।

यस पटक दुई विदेशी कविको नजरबाट देखिएको काठमाडौँ शहर राखिएको छ। जसमा, अमेरिकी कवि वेन एम्सिस आइरिस कवि क्याथल ओ सर्केगका कविता राखेका छौं।


काठमाडौं

वेन एम्सिस

तिनीहरू भन्छन् यो यो देशको राजधानी हो
जो एक पटक बाँचेथ्यो यहाँका बासिन्दाहरूको मस्तिष्कमा

तिनीहरू भन्छन् यी ती बासिन्दाहरू हुन्
जो बसेथे यो देशमा

यो तिनीहरूले गरेको महान कार्य हो
भाषा- जो अझै जिउँदो छ आपस्तमा

यद्यपि हामी मौन छौं रातपछि रात
खोज्दै हिँड्दा आँखाका टोड्का र
साउतीहरू भित्र तिनीहरूको बोली
तिनीहरू भन्छन्
तिनीहरूको अनुपस्थितिमा पनि
नदीहरू लठारिँदै आउँछन् यहाँ
र सिनित्त पखाल्छन् सबै पापहरूलाई
नदीका जलामय जिब्रोहरूले
जसले नामकरण गरिरहेकै छन् यो शहरलाई
तिनीहरू भन्दछन् यहाँका बासिन्दाहरूलाई तिनीहरूले बोल्न लाउने छन्

बासिन्दाहरू- र्‍याबिज लागेका लठ्ठ, एकदम लठ्ठ दृष्टिहरू
र जताततै फ्याँकिएका ढुंगाहरू

तिनीहरू भन्छन् यो यो देशको राजधानी हो
जो बाँच्छ बासिन्दाहरूको मस्तिष्कमा
एक पटक अनि सधैँ र अहिले।

अनुवादः मञ्जुल।


काठमाडौँ

कहल ओ शाकी

ओ काठमाडौँ ! कालो परदेशी पर्वतको अराजक जोगी
मैले तिमीलाई भेटे हाउडे नाइटक्लबमा
टहलिँदै आयौ तिमी र पस्यौ मेरो कवितामा
तिमी बस्यौ मेरा निर्धन शब्दहरूको सिंहासनमा
आफ्ना पहाडी गोधूली साँझहरू लिएर
जो फैलिन्छन् एउटा प्वाँखजस्तै

तिम्रा एम्बुलेन्स-ध्वनिहरूसित
जसले दगुराउँछन् मेरो मनलाई कल्पनाको रिक्सामा
तिम्रा डोकाहरू च्यातिइरहेछन् सपनाहरूजस्तै
तिम्रा पसलहरू घुरिरहेछन् मेरो खल्तीलाई
तिम्रा कुकुरहरू जो रातहरूलाई राख्छन् अनिद्रा
भुक्दै निरन्तर
तिम्रा आँखाका आकाशहरूमा
तिम्रा सपनाहरू उड्छन् साना गौंथलीहरूजस्तै
तिम्रा प्यारा तन्नेरी केटाहरूको धमिलो हँसाइ
हिँड्छन् जब तिनीहरू गर्दै हातेमालो
तिम्रा गल्लीहरूको व्यस्त तन्द्रासित
तिम्रा उन्मुक्त धाराप्रवाह मुस्कानहरूसित
जसले मेरा कानमा भर्छन् रहस्य
तिम्रा कुमारी बिहानीका प्रसव पीडाहरूसित
तिम्रा सुस्केराहरूसित
तिमी उठ्छौ एउटा पहाडजस्तै
तिम्रा खित्काहरू जुन खुल्छन् मेरो अगाडि साँघुरो खोचजस्तै

तिम्रा गाईहरू जसले आफ्नो पवित्र दूधलाई पोखिदिन्छन्
मेरा आँखाका ठेकीहरूमा
यो बिहान तिम्रो ट्राफिक जसले खोक्छ आफ्नो
फोक्सोमा अल्झेको धुवाँ फाल्दै
तिम्रो गम्भीरता र तिम्रो लेनदेनको उन्मुक्त हँसाइसित
तिम्रो कल्पनाको तिखो स्वादसित
तिम्रो अँध्यारा आँखा तिर्मिराउने रङ्गहरूसित
मैले तिमीलाई भेटेँ तिम्रा हिप्पीहरूसित
जसका सुकेका फूलहरू ढलिरहेछन् फ्रिकस्ट्रिटमा
तिम्रा आध्यात्मिक ट्रेकहरूसित
जुन ठुलो स्वरमा प्रदर्शित छन् आशावान् ठमेलमा
तिम्रा स्वयम्भूका ठुला चौडा आँखा भएका स्तुपहरूसित
जसले सिधा मलाई हेर्छन् बोकेर एउटा शिशुको निष्कपटता
पम्पनिकल बेकरीमा तिम्रा तन्नेरी वेटरहसित
जसले सूर्यका स्वादिला प्यानकेकहरू राख्छन्
मेरो बिहानीको रिकापीमा
तिम्रा गल्लीहरूसित जसमा टल्किएका साडीहरू हल्लिरहेछन्
कुमुदिनीजस्तै व्यापारको मन्द बतासमा
तिम्रा गल्लीहरूसित जहाँ तिम्रा भूपी शेरचन हिँडेका थिए
शब्दहरूको खोजीमा- उन्मुक्त
कालोमसीजस्तो तिम्रो अँध्यारो कोसेलीसित
जुन तिमीले मलाई दियौ किनकि लेख्न सकूँ म
आफ्नो घाँटी निमोठ्ने काला रातहरूको बारेमा
तिम्रा त्वचाका पसिनाका फोहोराहरू वागमती, विष्णुमती
जो सुन्निएका छन् फोहोर र ढलहरूबाट
जसले मलाई दिए मध्यदिनको ताप र टन्टलापुर घाम
अनि भयावह सपनाहरू
मध्यरातको चकमन्नतामा
तिम्रा पुस्तक पसलहरूमा वैभवसित
जसले मलाई अवाक बनाए
राति सुत्ने बेला तिम्रा झ्याउँकीरीहरूलाई गाउन लगायौ
थाकेको मेरो जीउमा, तिम्रा हिस्सी परेका ठिटाहरूसित
जसका गालाका रङ्ग बतास र जूनजस्तै छन्
तिनका कपाल काला छन् र पहाडका सतिबयरजस्तै
तान्त्रिक पुस्तक पसलमा मलाई बिस्तारै
पाल्तु बनाए तिम्रा ठिटाहरूले
आफ्ना आँखाका हरिया मन्द बताससित
तिम्रा मन्दिरहरू जो खुल्छन् लालीगुराँसजस्तै
ओ काठमाडौँ ! कालो परदेशी पर्वतको अराजक जोगी
तिमी झुन्डिरहेका छौ याक र यतिको बीचमा
जसरी म हल्लिरहेको यिङ र याङको बीचमा

स्वीकार गर मेरो शरीर र हाडहरूलाई
आफ्ना संगीतका दामी ढुंगाहरूले सिँगार मलाई
तिम्रा कामुक लालुपातेहरू
मेरा गालालाई रक्तिम बनाउँछन्
उचाल मलाई विचारहरूको हिमालमाथि
विचारहरू जुन एकत्रित भएका छन्
एकै ठाउँमा ध्यानमग्न भेडाको हुलजस्तै
चपाउँदै कुराहरू

ममाथि आशीर्वाद छर्किदेऊ
यहाँ मलाई नफ्याँकिदिनू
सडकको अँध्यारो कुनामा च्यातेर फालेको प्रेमपत्रजस्तै।

अनुवाद: युयुत्सु आरडी शर्मा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved