महामारीको जोखिम

फोहोरको दुर्गन्धसँगै राजधानीमा फैलियो झाडापखाला, हैजाकाे समेत खतरा

डेढ महिनाभन्दा लामो समयदेखि काठमाडौंमा थुपारिएको फोहोरको व्यवस्थापन बेलैमा नगरे पानी र खाद्यजन्य रोगको महामारी फैलिने चेतावनी विज्ञहरूले दिएका छन् । मनसुन शुरू भइसकेकाले वर्षात्ले फोहोरबाट फैलिने रोगको जोखिम थप बढाएको विज्ञहरूको भनाइ छ। 

फोहोरको दुर्गन्धसँगै राजधानीमा फैलियो झाडापखाला, हैजाकाे समेत खतरा

काठमाडौं। डेढ महिनाभन्दा लामो समयदेखि काठमाडौंमा थुपारिएको फोहोरको व्यवस्थापन बेलैमा नगरे पानी र खाद्यजन्य रोगको महामारी फैलिने चेतावनी विज्ञहरूले दिएका छन् । मनसुन शुरू भइसकेकाले वर्षात्ले फोहोरबाट फैलिने रोगको जोखिम थप बढाएको विज्ञहरूको भनाइ छ।

डेढ महिनाभन्दा लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौैं उपत्यका दुर्गन्धित बनेको छ। राजधानीका अस्पतालहरूमा झाडापखालाका बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। परिस्थितिमा तत्काल सुधार नहुने हो भने हैजासमेत फैलिन सक्ने भय विज्ञहरूले व्यक्त गर्न थालेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा जेठ महिनाको शुरुदेखि नै फोहोरबाट फैलने झाडापखालाका बिरामी बढेका छन्। यसबाहेक गर्मी याममा फैलने रुघाखोकी र ज्वरोजस्ता समस्या लिएर बिरामी बढ्दै गएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले नेपालभ्यूजलाई जानकारी दिए।

पछिल्लो समय दैनिक १० जनाभन्दा बढी झाडापखाला लागेका बिरामीहरू उपचारका लागि टेकु अस्पतालमा पुगेका छन्। जेठको २४ गतेसम्ममा १२९ जना झाडापखालाका बिरामी अस्पताल आइसकेका तथ्याङ्क अस्पतालसँग छ।

सूचना अधिकारी गौतमका अनुसार, पछिल्लो समय दैनिक १० जनाभन्दा बढी झाडापखाला लागेका बिरामीहरू उपचारका लागि टेकु अस्पतालमा पुगेका छन्। जेठको २४ गतेसम्ममा १२९ जना झाडापखालाका बिरामी अस्पताल आइसकेका तथ्याङ्क अस्पतालसँग छ।

“अस्पतालमा आएका बिरामीहरू सामान्य अवस्थामै छन्, त्यति गम्भीर अवस्था भने छैन,” सूचना अधिकारी गौतमले भने, “एक–दुई दिन अस्पताल बसेपछि निको भएर घर गइरहेका छन्। उपत्यकाको फोहोर उठ्न नसक्दा र गर्मी मौसमका कारण पनि यस्ता रोगहरू फैलिरहेको हुनसक्छ।”

झाडापखालाका बिरामी बढे

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि केही समययता दूषित खानपिनबाट लाग्ने झाडापखालाका बिरामी निकै बढिरहेको जानकारी दिए। उनले भने, “घरमै औषधि किनेर खाने सामान्य बिरामीको कुनै गन्ती छैन। अलि गाह्रो भएपछि मात्र बिरामी अस्पताल आउने हो। त्यो संख्या पनि बढिरहेकै छ।”  अस्पताल आउनेभन्दा पनि घरमै बस्ने बिरामीको संख्या करिब दोब्बरभन्दा बढी हुनसक्ने उनको अनुमान छ।

डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

डेढ महिनाअघि नै काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। लामो समयदेखि फोहोर व्यवस्थापन हुन नसक्नु र गर्मी यामका कारण झाडापखाला फैलिरहेको हुनसक्ने स्वास्थ्य विज्ञहरूको अनुमान छ ।

“अहिलेको झाडापखालाजस्तो सरुवा रोग फोहोरकै कारणले मात्र फैलिरहेको हो भन्न सक्ने आधार त छैन तर पनि फोहोर एउटा मुख्य कारकतत्व हुन सक्छ,” डा. पुनले भने।

फोहोरजन्य रोगहरू फैलाउने मुख्य माध्यम भनेको दूषित पानी, झिँगा, भुसुना, लामखुट्टेजन्य तथा हावा भएको र यी माध्यमबाट कीटाणु सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्नसक्ने उनले बताए।

फोहोरजन्य रोगहरू फैलाउने मुख्य माध्यम भनेको दूषित पानी, झिँगा, भुसुना, लामखुट्टेजन्य तथा हावा भएको र यी माध्यमबाट कीटाणु सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्नसक्ने उनले बताए।

“बाटोको छेउछाउमा अलपत्र पारेर फोहोरका थुप्राहरू राखिएको छ” डा. पुनले भने, “त्यसरी फालिएका फोहोरहरू खुट्टा हुँदै घरसम्म पुग्छन्। फोहोरमा बसेका झिँगा, भुसुना पनि हामीले खाने खानामा बस्दा फोहोरजन्य रोग सजिलै लाग्छ।”

फोहोरबाट लाग्ने रोग सर्नबाट बच्न सरसफाइमा निकै ध्यान दिनुपर्ने र खानेकुराहरू राम्रोसँग पकाएर खानुपर्ने डा. पुनले बताए।

गर्मीका कारण पनि सरुवा रोगका बिरामी

वीर अस्पतालमा पनि दूषित खानपिनबाट लाग्ने सरुवा रोगका बिरामी बढिरहेका छन्। वीर अस्पतालका जनरल फिजीसियन डा सुरेश नेपाल पनि फोहोर र दुर्गन्धका कारण सरुवा रोगका बिरामी बढेको हुनसक्ने बताए। फोहोरकै कारण मात्र नभएर गर्मीका कारण पनि सरुवा रोगका बिरामी बढेको अनुमान उनको छ।

उता, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि झाडापखाला र रुघाखोकीका बिरामीले अस्पतालका शय्याहरू भरिभराउ भएका छन्। अस्पतालका निर्देशक डा.रवि शाक्यले भने, “पछिल्लो समय अस्पताल पुगेका अधिकांश बिरामीमा पेट दुख्ने, टाउको दुख्ने, रुघाखोकी र वाकवाकी लाग्नेजस्ता समस्या देखिरहेको छ।”

वीर अस्पतालका जनरल फिजीसियन डा सुरेश नेपाल पनि फोहोर र दुर्गन्धका कारण सरुवा रोगका बिरामी बढेको हुनसक्ने बताए। फोहोरकै कारण मात्र नभएर गर्मीका कारण पनि सरुवा रोगका बिरामी बढेको अनुमान उनको छ।

बिरामीहरूको लक्षण हेर्दा दूषित खानपिनका कारण यस्तो समस्या आएको हो कि भनेर अनुमान गरिएको समेत उनले बताए। एकातिर गर्मी मौसममा झाडापखाला, टाइफाइड र पेटसम्बन्धी सरुवा रोग त देखिन्छ नै, अर्कोतिर उपत्यकाको फोहोर व्यवस्थापन नभएका कारण पनि झाडापखाला फैलिएको हुनसक्ने उनले पनि बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का प्रमुख डा. चुमनलाल दास फोहोर लामो समयसम्म थुप्रिँदा सङ्क्रमणहरू फैलिने बताए। फोहोरमैलाले फैलाउनसक्ने रोगहरू भनेको झाडापखाला, टाइफाइड, जन्डिस, हैजा भएको पनि उनले बताए ।

फोहोरको सम्पर्कमा मानिस प्रत्यक्ष नगए पनि फोहोरमा बसेर आएका झिँगा र भुसुनाले गर्दा मानिसमा यस्ता रोगहरू संक्रमण गराउन सक्ने सम्भावना बढेको पनि उनले जानकारी दिए।

“यसरी झाडापखाला फैलिरहँदा हैजा पनि नफैलेला भन्न सकिँदैन, त्यसैले हामी तयारी अवस्थामा बसेका छौँ,” डा. दासले भने, “काठमाडौंमा लामो समय फोहोर उठेको छैन। त्यसैले हैजा फैलिने सम्भावना पनि भएकाले हामी सतर्क हुनु आवश्यक छ।”

फोहोरमैलाले स्वास्थ्यमा पार्ने असरबारे अध्ययन हुँदै

जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार, उद्योग र अस्पतालबाट निस्कने फोहोरमैलाले स्वास्थ्यमा पार्ने असरबारे अध्ययन अनुसन्धान भएको छ। तर, घरबाट निस्कने फोहोरमैलाले स्वास्थ्यमा कति असर पार्छ भन्ने अध्ययन अनुसन्धान नै भएको छैन।

डा. शरद वन्त, जनस्वास्थ्यविद्

डा. वन्तले घरबाट निस्कने फोहोर मैला लामो समयसम्म थुपारेर राख्दा त्यसबाट निस्केको कीटाणुले निकै असर गर्ने भए पनि त्यसले जनस्वास्थ्यमा पार्ने असरबारे सरकारवालाले ध्यान नदिने गरेको बताए।

उनले भने, “घरबाट निस्कने फोहोरले स्वास्थ्यमा पार्ने असरबारे अध्ययन अनुसन्धान नभएकाले यसको जोखिमबारे प्रस्टसँग भन्न गाह्रो छ।”

उनका अनुसार, कुनै पनि फोहोर कति पुरानो हो भन्ने कुरा त्यसले पार्ने प्रभावले निर्धारण गर्ने उनको भनाइ छ। उनले भने, “लामो समयदेखि राखिएको फोहोरमा कीटाणु हुन्छन् जसले रुघाखोकी, पखाला, टाइफाइडजस्ता रोगहरू लाग्न सक्ने छन्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved