स्मृति-सन्दर्भ

फज्लु भैया

फज्लु भैया मेरो सङ्गीतको गुरु थिएन तर गुरुवत् केन्द्रीय व्यक्तित्व भने थियो। मैले फज्लु भैयालाई ऋण तिर्नुछ भनेको पैसाको ऋण होइन, त्यो बरु तिर्न सकिएला तर उसले लगाएको गुनको ऋणलाई कसरी तिर्न सकिन्छ र ?

फज्लु भैया

नेपाली सङ्गीतलाई विशिष्ट उचाइ  दिने वरिष्ठ सङ्गीत-साधक, गायक एवं गीतकार अम्बर गुरुङ पञ्चतत्वगत भएको ६ वर्ष बितिसकेको छ। सन् २०१६ जुन ७ तारिखमा उनलाई हामीले सदाका निम्ति गुमाएका थियौँ।

यो साता तिनै सङ्गीत-साधक गुरुङको स्मृति-साता। सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मिएका उनले युवावस्थामै, सङ्गीत-साधनामा निमग्न हुन थालेदेखि नै नेपालको बसाइँ रोजे र नेपाली सङ्गीत जगत्लाई अनेक स्तरीय सङ्गीत दिए। राष्ट्रिय गानका सङ्गीत-सर्जकसमेत रहेका गुरुङको सङ्गीत-यात्रा कसरी प्रारम्भ भएको थियो ? उनकै शब्दमा…। यो संस्मरण रत्न पुस्तक भण्डारद्वारा प्रकाशित गुरुङको संस्मरण-सँगालो ‘कहाँ गए ती दिनहरू’ बाट लिइएको हो।


फज्लु भैया भन्ने व्यक्तिलाई मैले उसले लगाएको गुनको एउटा रिन तिर्न बाँकी छ जो यो जीवनमा अब सम्भव छैन। किनकि फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, मलाई फज्लुको खुबै सम्झना आउँछ र, सोच्न थाल्छु कि साधारणभन्दा साधारण मान्छेले कसैको जीवनमा कत्रो प्रभाव पारेको हुँदो रहेछ। म त्यो अलिक पछि भन्छु।

दार्जिलिङको एमपी रोडमा फज्लुको सानो रेस्टुराँ थियो जो स्वादिष्ट र सस्तो भोजनको लागि दार्जिलिङभरि नै प्रसिद्ध थियो। त्यो सानो रेस्टुराँ परिकारहरूमध्ये सारै माग भएको परिकारचैं कोप्ता (टिकिया) थियो जसलाई आजको मेनुमा मिटबल भनिन्छ। त्यही कोप्ता खान पल्केर मेरो परिचय फज्लु भैया (खास नाम फजल अहमद) सित भयो। त्यहाँ भएको अर्को एक विशिष्टताले मलाई झनै आकर्षित गर्‍यो- त्यो के भने त्यहाँ प्रत्येक रात सङ्गीतको बैठक हुँदो रहेछ र भइपरि आउने आकस्मिकताले मलाई त्यहाँ पुर्‍याएको थियो।

मैले त्यहाँ प्रवेश पनि पाएँ। त्यही दिनदेखि मेरो अनौपचारिक सङ्गीत शिक्षा पनि सुरु भयो। त्यहाँ त्यस्ता प्रसिद्ध सङ्गीतका हस्तीहरू आएको त थाहा छैन तर बेलाबेला त्यहाँ केही राम्रा गायकहरू आउने गर्थे र म बढो तन्मयतासाथ उनीहरूको गायनको रसास्वादन गर्थें। र, पछिबाट मैले पनि त्यहाँ गाउने गर्न थालें। राति झ्यालढोकाहरू थुनेर फज्लु भैयाहरू गाँजा खाने गर्थे र कोठा धुवैंधुवाँले भरिएको हुन्थ्यो र मेरो टाउको पनि दुख्ने गर्थ्यो र पनि म सङ्गीतको स्वरमा यसरी लठ्ठिएको हुन्थें कि त्यो मलाई सजिलै सहज हुन्थ्यो। त्यहाँ बेलाबखत गजलगायन, नज्म पाठ र सानोतिनो मुसायरा नै हुने गर्थ्यो र त्यो महफिल रातभरि नै चल्थ्यो। त्यस्ता कार्यक्रमको आयोजक पनि फज्लु भैया स्वयम हुने गर्थ्यो। दिनभर ऊ खानाका परिकारहरू स्वादिष्ट र रुचिकर बनाउनमा तन्मयतासाथ लागेको हुन्थ्यो र रात परेपछि फेरि सङ्गीत श्रवणमा तल्लीन भएको हुन्थ्यो। मलाई आज पनि के अचम्म लाग्छ भने सङ्गीतजीविहरूबाहेक फज्लु भैयाजत्तिको सङ्गीतप्रेमी व्यक्ति मैले अझसम्म भेटेको छैन। गाउन त परै जाओस्, उसले गुन्गुनाएकोसम्म मैले कहिल्यै सुनिन। तर, शब्दरचनाको मर्म, सङ्गीतको क्लिष्ट र मिहिन कामहरू ऊ यत्ति मार्मिक ढंगले बुझ्ने गर्थ्यो कि स्वयम गायकहरू अचम्मित हुन्थे। ऊ एउटा कट्टर त नभनौँ, सच्चा मुसलमान थियो। र, मुसलमानी संस्कृतिको सच्चा अनुयायी पनि थियो।

उदार हृदयको फज्लु भैया यति विनम्र थियो कि उसको ओठमा फुलेको मुस्कुराहट कहिल्यै पनि अलप हुँदैनथ्यो। प्रत्येक शुक्रबार उसको दौड मस्जिदमा हुन्थ्यो र फर्कँदा ऊ मस्जिदमा बसेका मगन्तेहरूलाई पैसा बाँड्ने गर्थ्यो। उसको व्यवहार कुशलता सबैमा एकनास थियो। यहाँ अर्को एउटा अचम्म के भने फज्लु भैयाका अन्तरङ्ग मित्रहरू प्रायः हिन्दू थिए। त्यहाँ आउने आगन्तुकहरू फाटफुट मुसलमानहरू भए पनि शतप्रतिशतजस्ता हिन्दूहरू नै हुने गर्थे। त्यसताक मेरो ओठमा भर्खर जुँगाको रेखी बस्न थालेको थियो र म राति घरबाट कसैले थाहा नपाउने गरी त्यहाँ पुग्थें र रेकर्डमा सुनेका गीतहरू गाउने पनि गर्थें। बिस्तारै म त्यो समूहमा प्रशंसाको पात्र पनि बन्न पुगिसकेको थिएँ।

भर्खर किशोर अवस्थाको म त्यसबेला गजल तथा नज्महरू त के बुझ्थें होला, आफ्नै नेपाली साहित्यको पनि मलाई त्यस्तो कुनै ज्ञान थिएन। संयोगवश भनौं, एकदिन मैले भर्खरै सिकेको एउटा गीत गाएको थिएँ, जोडदार तालीले त्यसको स्वागत भयो- मासय् अल्ला…! (फज्लु भैयाको यो थेगो नै जस्तो थियो।) अँगालो मारेर उसले भनेको अझै सम्झना छ- ‘ए.बी. साहब ! यकिन मानिए एकदिन आप बहुत बडे फन्कार होंगे।’ मेरा पिताजीको उमेरको मान्छे भए पनि ऊ यति सभ्य र शिष्ट थियो कि मलाई जहिले पनि ए.बी. साहब भनेर सम्बोधन गर्थ्यो अथवा उर्दू भाषिक संस्कृतिमा भन्ने हो भने ‘हौसला अफजाइ’ गर्थ्यो।

सङ्गीतबाहेक फज्लु भैयाको अर्को मोह थियो- खेलकुद र त्यसमा पनि भलिबल। उसले आफ्नो टिमको नाम जहाँगिर राखेको थियो। नाम जस्तै जहाँगिरले धेरै म्याचहरू जितेको थियो। जसको प्रतिविम्ब भएर थुप्रै कप र सिल्डहरूले उसको रेस्टुराँ सजिएको थियो। खेलाडीहरूलाई खानपिन, लुगा, जुत्ता र तालिममा हुने खर्च उसको निजी हुन्थ्यो। अझै पनि दार्जिलिङमा त्यो जहाँगिर टिममा खेल्ने दुईचार जना पुराना खेलाडीहरूलाई भेट्न सकिन्छ जो फज्लु भैयाको सरलता, उदारता र मित्रवत् सम्बन्धमा नतमस्तक छन्। आज हेर्छु, पुलमुनिबाट धेरै पानी बगिसकेछ, धेरै हावा चलेछ, धेरै रुखहरू ढलेछन्, फूलहरू झरेछन्, फेरि फुलेछन्, फेरि झरेछन् र मलाई पनि यो जीवनको केकेले कताकता, कहाँकहाँ पुर्‍याएछ। काठमाडौँमा कार्यरत हुँदै बीचमा दार्जिलिङ पुग्दा थाहा भयो एमपी रोडमा भएको एउटा डरलाग्दो आगलागीले फज्लु भैयाको त्यो रेस्टुराँको पनि नामोनिसान मेटिएछ र उसको सपनालाई भष्म पारेर खरानी बनाइदिएछ जहाँबाट मैले आफ्नो सङ्गीतयात्रा सुरु गरेको थिएँ।

फज्लु भैया मेरो सङ्गीतको गुरु थिएन तर गुरुवत् केन्द्रीय व्यक्तित्व भने थियो। मैले फज्लु भैयालाई ऋण तिर्नुछ भनेको पैसाको ऋण होइन, त्यो बरु तिर्न सकिएला तर उसले लगाएको गुनको ऋणलाई कसरी तिर्न सकिन्छ र ? उसलाई भेटेर भन्न मन लागेको थियो- फज्लु भैया ! तपाईंले गर्नुभएको अनुमान त शतप्रतिशत पूरा भएको छैन तर त्यो गलत सावित पनि भएको छैन। अथवा त्यो भविष्यवाणीअनुसार म महान् त भएको छैन तर नेपाली सङ्गीतको प्रसंग उठ्दा मेरो नामसम्म प्रायजसो लिने गरिन्छ। मैले गल्ती साबित भएन भन्ने खोजेको यही हो।

मैले अघि भनिसकेको छु कि मेरो प्रारम्भिक र अनौपचारिक सङ्गीत शिक्षा फज्लु भैयाको ‘मजलिस’बाट सुरु भएको हो। शिक्षाको प्रसंग चल्दा गुरुचेलाको पनि प्रसंग उठ्छ र भनिन्छ- संसारभरि नै निस्वार्थ र योग्य गुरुको दुर्भिक्ष छ। यहाँनेर एकजना गुरुको सन्दर्भमा के भनेर हँसाएको थियो भने योग्य गुरुको दुर्भिक्ष त होला तर त्योभन्दा ठुलो दुर्भिक्ष त योग्य र इमानदार चेलाहरूकै छ। जेहोस्, जुनसुकै शिक्षा तथा शिक्षण पद्धतिलाई गम्भीर भएर हेर्दा त्यहाँ एउटा विषयगत र अर्को नीतिगत प्रणाली रहेको हुन्छ र दुवै ज्ञानको सदुपयोगको लागि अनिवार्य ठहरिन्छ। ठुलाठुला कृतिकारहरूका भनाइमा यदि मस्तिष्क र मन सफा छैन भने वाञ्छित प्रभाव कलामा जन्मिन सक्दैन र विषयगत शिक्षा पनि अधुरो नै रहन्छ। फज्लु भैयाले सृजना गरेको त्यो वातावरणमा यो कुराको आभास मलाई त्यतिबेला त भएको थिएन तर अहिले मेरो रचनाक्रममा जब म बाटो बिराउँछु अथवा मलाई गारो पर्छ अथवा म विफल बन्छु, त्यस्तो बेलामा त्यो कुराको अनुभूत हुन्छ मलाई।

खास कुरा त के भने फज्लु भैया त बितिसके, उनी यो संसारमा आज छैनन् तर उनी कहाँ निवासी हुन्, कहिले दार्जिलिङ आएका हुन् र उनका सम्बन्धितहरू कोको हुन्, कहाँकहाँ छन् भन्ने र जान्ने मलाई मेरो यौवनकालको अज्ञानले मौका नै दिएन। मलाई दुःख लागेको अर्को कुरा के छ भने आज धर्मको नाममा जुन धर्मयुद्ध चलिरहेको छ, नरसंहार र आतंक फैलिरहेको छ- त्यसको जवाफमा कुनै त्यस्तो संघसंस्था अथवा रेस्टुराँ नै खोलेर भए पनि मानवताको व्यावहारिक पाठ पढाउने अर्को फज्लु भैया आज यो संसारमा कतै पनि छैन त ? उफ् हामी कत्ति असहाय, कत्ति गरिब र कत्ति हरिप ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved