संसारभरि नयाँ राष्ट्रवादको लहर, बुझौँ यसरी

राष्ट्रवादी अधिनायकवादलाई परास्त गर्ने कुनै अचुक औषधी छैन तर त्यसलाई प्रतिवाद गर्ने उत्तम उपायहरू भने छन्।

संसारभरि नयाँ राष्ट्रवादको लहर, बुझौँ यसरी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको र्‍याली। तस्वीरः प्रोजेक्ट सिन्डिकेट

सन् १९८९ मा बर्लिन पर्खाल भत्केसँगै छाएको उल्लास केवल फ्रान्सिस फुकुयामाले भनेजस्तो ‘आर्थिक र राजनीतिक उदारवादको अटल विजय’को मात्र थिएन। यो त राष्ट्रवादको पतनप्रतिको उल्लास पनि थियो।

विश्व अर्थतन्त्र द्रूत गतिमा एकीकृत हुँदै गएकाले मानिसले आफ्नो राष्ट्रिय पहिचान छोड्दै जानेछन् भन्ने अनुमान गरिएको थियो। पठित र चलायमान युवाले अँगालेको युरोपेली एकीकरणको योजना केवल राष्ट्रभन्दा माथिको चिन्तन मात्र थिएन बरु उत्तर–राष्ट्रिय पनि थियो।

तर राष्ट्रवाद फर्किएको छ र यसले विश्व राजनीतिमा केन्द्रीय भूमिका खेलिरहेको छ। यो राष्ट्रवादी प्रवृत्ति केवल संयुक्त राज्य अमेरिका र फ्रान्समा सीमित छैन जहाँ क्रमशः पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिणपन्थी ‘नेसनल र्‍याली’का नेता मेरिन ले पेनले नयाँ राष्ट्रवादी गठबन्धनको नेतृत्व गरेका थिए।

हंगेरी, भारत, टर्की र अन्य थुप्रै देशमा राष्ट्रवादले लोकप्रियतावादी आन्दोलन चलाइरहेको छ। चीनले नयाँ राष्ट्रवादी अधिनायकवाद अँगालिरहेको छ। युक्रेनी राष्ट्र उच्छेद गर्ने उद्देश्यका साथ रुसले राष्ट्रवादी युद्ध शुरु गरेको छ।

यो नयाँ राष्ट्रवादलाई उर्जा प्रदान गर्ने कम्तिमा तीनओटा तत्व छन्।

पहिलो, यो राष्ट्रवादले ग्रसित धेरैजसो देशसँग ऐतिहासिक गुनासोहरू छन्। उपनिवेशवाद लादेर बेलायतले भारतलाई संरचनागत शोषण गरेको थियो। १९ औं शताब्दीको अफिम युद्धताका चिनियाँ साम्राज्य कमजोर, अपमानित र शोषित भएको थियो। त्यस्तै, आधुनिक टर्कियाली राष्ट्रवाद विश्वयुद्धपछि आफ्नो देशको ठूलो भू-भागमा भएको पश्चिमा हस्तक्षेपको स्मृतिबाट ग्रसित छ।

दोस्रो, विश्वव्यापीकरणले पहिलेदेखि रहेका तनावहरू बढाइदियो। यसले विभिन्न देशहरूमा असमानता बढाउने काम मात्र गरेन, बरु लामो समयदेखि प्रचलनमा रहेका परम्परा र सामाजिक मान्यता नै भत्काइदियो।

तेस्रो, आफ्ना एजेण्डा पूरा गर्न राष्ट्रवादको उपयोग गर्न राजनीतिक नेताहरू एकदमै सिपालु र निर्लज्ज भएका छन्। उदाहरणका लागि, चिनियाँ राष्ट्रपति सी चिनफिङको अधिनायकवादी शासनअन्तर्गत माध्यमिक तहको नयाँ पाठ्यक्रम र प्रचार अभियानहरूबाटै राष्ट्रवादी भावना विकास गराउँदै लगिएको छ।

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी हिन्दूत्व शासनअन्तर्गत विश्वकै ठूलो लोकतन्त्र बहुसंख्यक अनुदारको अगाडि झुक्न पुगेको छ। टर्कीमा राष्ट्रपति रेसेप तैयम एर्दोगानले शुरुमा त राष्ट्रवाद त्यागेका थिए। सन् २०१० को दशकमा कुर्दहरूसँग शान्ति प्रक्रिया पनि शुरु गरेका थिए तर त्यसपछि खुला दिलले राष्ट्रवाद अंगाले र  स्वतन्त्र मिडिया, विपक्षी नेताहरू र विरोधीलाई दमन गरे।

आजको राष्ट्रवाद शीत युद्धपछिको विश्वव्यापीकरणप्रति आत्म–सुदृढीकरणकारी प्रतिक्रिया पनि हो। सन् २००० मा त्यतिबेला राष्ट्रपतिका उम्मेदवार रहेको जर्ज डब्लु. बुशले भनेका स्वतन्त्र व्यापारलाई परिभाषित गर्दै भनेका थिए– “(यो) रोनाल्ड रेगनले भनेको ‘स्वतन्त्रताका लागि अघिल्लो रणनीति’को महत्त्वपूर्ण पक्ष हो … चीनसँग स्वतन्त्र व्यापार गरौँ, समय हाम्रो पक्षमा छ।”

विश्व व्यापार र सञ्चारले सांस्कृतिक र संस्थागत सम्मिलनतर्फ डोर्‍याउनेछ भन्ने विश्वास गरिएको थियो। व्यापार महत्त्वपूर्ण हुँदै जाँदा, पश्चिमा कूटनीति पनि प्रबल भइरहेको थियो किनभने विकासशील देशहरू अमेरिकी र युरोपेली बजार तथा वित्त क्षेत्रको पहुँच गुमाउने डरमा थिए तर सोचेजसरी परिणाम आएन।

विश्वव्यापीकरण यसरी सञ्चालन गरियो जसले विकासशील देशहरू र तेल एवं ग्यासमा धनी अर्थतन्त्रलाई अप्रत्याशित लाभ सिर्जना भयो। उनीहरूको औद्योगिक उत्पादनको निर्यात बढ्ने र ज्यालादर घट्नेतर्फ लग्यो (चीनको उदयको गोप्य उत्प्रेरक)।

राम्रो स्थानमा रहेका विकासशील देशहरूले जति–जति स्रोत सञ्चय गर्दै गए, त्यति–त्यति नै उनीहरूले प्रचार गर्ने र गठबन्धनहरू गर्ने क्षमता पनि बढाउँदै गए। त्योभन्दा पनि महत्त्वपूर्ण चाहिँ वैचारिक आयाम छ।

विभिन्न देशहरूमा पश्चिमा कूटनीतिले मानवअधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको पैरवीलाई हस्तक्षेपको रूपमा लिइँदा ती प्रयासहरू निष्प्रभावी र प्रत्युत्पादक बन्नपुगे।

टर्कीको प्रसङ्ग लिऔँ। युरोपेली यूनियनमा उसको प्रवेशसँगै त्यहाँको मानवअधिकारको अवस्था सुध्रिने र लोकतान्त्रिक संस्थाहरू सुदृढ हुने विश्वास गरिएको थियो। केही समयका लागि त्यस्तो भयो पनि तर युरोपेली यूनियनका प्रतिनिधिहरूको बढ्दो माग टर्कीयाली राष्ट्रवादका लागि पोषण तत्व बन्दै गए। (सन् २०१६ मा) युरोपेली यूनियनमा टर्कीको प्रवेश रोकिएयता त्यहाँको लोकतन्त्र झन्-झन् कमजोर हुँदैगएको छ।

युक्रेनमा रुसी आक्रमण गराउने राष्ट्रवादमा पनि माथि उल्लिखित तीन तत्व नै प्रतिविम्बित हुन्छन्। थुप्रै रुसी राजनीतिक र सैन्य सम्भ्रान्तहरू बर्लिन पर्खाल ढलेयता आफ्नो देशलाई पश्चिमाहरूले निरन्तर अपमान गरेको ठान्छन्।

विश्व अर्थतन्त्रमा रुसको प्रवेशले पक्कै पनि त्यहाँका जनतालाई केही फाइदा पुर्‍याएको छ तर त्यहाँका राजनीतिक संयन्त्रमा रहेका बेइमान र अपराधीक कूलीनहरूलाई अपत्यारिलो तरिकाले धनी बनाएको छ। संरक्षणवादको बलियो प्रणालीलाई सञ्चालन गरे पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बडो कुशलतापूर्वक राष्ट्रवादी भावना बढाउने र शोषण गर्ने गर्छन्।

रुसी राष्ट्रवाद युक्रेनका लागि खराब समाचार हो किनभने यसले पुटिनलाई उनको शासनलाई बलियो बनाउन सघाएको छ। प्रतिबन्ध लगाए वा नलगाए पनि उनी पतन हुने सम्भावना कम छ किनभने उनी स्वार्थ र राष्ट्रवादी भावना मिल्ने आसेपासेबाट संरक्षित छन्।

जे भए पनि, अहिले जसरी रुसलाई एक्लाउँदै जाँदा पुटिनकै हात माथि पर्छ। रुसी अर्थतन्त्रलाई जतिसुकै क्षति पुर्‍याए पनि अहिले भइरहेको रुस-युक्रेन युद्धले कमजोर बनाएन भने उनको शासनले निरन्तरता पाउनेछ।

राष्ट्रवादको पुनर्उदयको यो युगले केही पाठ सिकाउँछ। आर्थिक विश्वव्यापीकरणका प्रक्रियालाई कसरी व्यवस्थित गर्ने भनेर हामीले फेरि एकपटक चिन्तन गर्नुपर्ने भएको छ। खुला व्यापार विकासशील र विकसित अर्थतन्त्र दुवैलाई हितकारी छ भन्नेमा कुनै शंका छैन तर व्यापारले पश्चिमा उपभोक्ताका लागि सामानको भाउ घटाउँदै गर्दा यसले असमानता बढाएको साँचो हो। साथसाथै रुसका कूलीन र चीनका कम्युनिष्ट पार्टीका केही नेतालाई धनी बनाएको हो। श्रम भन्दा बढी पूँजी मुख्य लाभार्थी भएकै हो।

त्यसैले नै हामीले वैकल्पिक तरिकाबारे सोच्नैपर्ने भएको छ। सबैभन्दा पहिला त उदाउँदा बजारहरूमा कृत्रिम रूपमा तय गरिएको अत्यन्त न्यून जाला र अस्वीकार्य श्रम मापदण्डको भरमा बहुराष्ट्रिय कम्पनीहरूले नाफा सोहोर्ने व्यापार व्यवस्था अन्त्य हुनुपर्छ। न त हामी जिवाष्म उर्जामा आधारित व्यापार सम्बन्ध नै धान्न सक्छौँ।

थप, पश्चिमा शक्ति राष्ट्रहरूले के स्वीकार गर्नैपर्छ भने उसले आफ्ना व्यापार साझेदारहरूको राजनीतिक यात्रालाई प्रभावकारी ढंगले प्रभाव पार्नै सक्दैन। साथसाथै, उसले भ्रष्ट र अधिनायकवादी शासनकहरूले आफ्नै राजनीतिमा प्रभाव नपारुन् भनेर सुरक्षाका नयाँ उपाय सिर्जना गर्नुपर्छ। र, सबैभन्दा महत्त्वपूर्ण त औपनिवेशिक युग र शीत युद्धताका आफ्नै देशले अरूलाई गरेको गलत व्यवहार स्वीकार गरेमात्र अन्तर्राष्ट्रिय मामिलामा आफ्नो साख बढ्नेछ भन्ने पश्चिमा नेताहरूले बुझ्नैपर्छ।

अरूको आन्तरिक राजनीतिमा पश्चिमा प्रभाव कम गर्नुको अर्थ मानव अधिकार उल्लंघनका घटनालाई नजरअन्दाज गर्ने भन्ने चाहिँ होइन। यसको अर्थ हो, पश्चिमा सरकारहरूले नयाँ तौरतरिका अपनाउनु पर्छ। सरकारी भूमिका बढाउनु भन्दा ‘एमनेस्टी इन्टरनेशनल’ वा ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’जस्ता संस्थामार्फत नागरिक समाजको भूमिकामा भर पर्नु उत्तम हुन्छ।

राष्ट्रवादी अधिनायकवादलाई परास्त गर्ने कुनै अचुक औषधी छैन तर त्यसलाई प्रतिवाद गर्ने उत्तम उपायहरू भने छन्।

-‘ह्वाई नेसन्स फेल’ र ‘द न्यारो करिडोर’जस्ता विश्वप्रख्यात पुस्तकहरूका सह–लेखक एवं ‘मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी’ (एमआइटी)मा अर्थशास्त्रका प्राध्यापक डेरोन एसेमोग्लुको यो लेख ८ जुनमा ‘प्रोजेक्ट सिन्डिकेट’मा प्रकाशित भएको थियो। नेपाली अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved