कति सम्भव छ राजेश हमालको कमब्याक ?

हमालका धेरै समकालीन राम्रो कथावस्तु र अभिनयका साथ चलचित्रमा देखा नपरेका होइनन्। तर हमालले जुन जुन भूमिका निभाए सबैमा अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज बुलन्द गरे। जसकारण हरेक युवाले उनको अनुहारमा आफूलाई भेट्टाए र राजेश हमाल नै बन्न चाहे।

कति सम्भव छ राजेश हमालको कमब्याक ?

हाम्रा हजुरबाले उहिल्यै चिनेका
हाम्रा बाले जमानामा साथी बनाएका
र हामीले भर्खरै मात्र बुझेको राजेश हमाल
मान्छेहरूको पनि मान्छे रहेछ

शहर पसेको साधारण युवक
गाउँमा पसिना पोखिरहेको किसान
कानूनको पुजारी
पुलिस अफिसर
वा भर्खरै मुगलानबाट फर्किएको लाहुरे
हामीले पालैपालो देख्यौँ
राजेश हमालको एउटै अनुहारमा

नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमालको क्रेज लोभलाग्दो छ। नायक मात्रै होइन, चलचित्र प्रेमीहरू उनलाई महानायक नै मान्छन्। आम मानिस, जसलाई चलचित्रप्रति त्यति लगाव छैन उनीहरूको समेत राजेश हमालप्रति सम्मान कम छैन। कवि हेम प्रभासको कविता ‘राजेश हमाल’का माथिका पंक्ति जस्तै राजेश हमालको यत्तिको क्रेज हुनुमा उनको भूमिका पनि हो।

राजेश हमालका धेरै समकालीन राम्रो कथावस्तु र अभिनयका साथ चलचित्रमा देखा नपरेका होइनन्। तर हमालले जुन जुन भूमिका निभाए सबैमा अन्याय, अत्याचार र विभेदविरुद्ध आवाज बुलन्द गरे। जसकारण हरेक युवाले उनको अनुहारमा आफूलाई भेट्टाए र राजेश हमाल नै बन्न चाहे। युवाहरूले राजेश हमालको जस्तै कपाल बनाए, राजेश हमालको जस्तै पहिरन लगाए, हृदयबाट निस्किने कर्मठ आवाजमा राजेश हमालको बोली मिसाए।

संख्याका हिसाबले २०७ ओटा चलचित्र खेलिसकेका राजेश हमाल पछिल्लो समय चलचित्रको पर्दामा कमै देखिन्छन्। तथापि, आम मानिसबीच उनको क्रेज घटेको छैन। खासै उनका चलचित्र नहेरेको पछिल्लो पुस्ता पनि उनको फ्यान छ।

हमाल आज आफ्नो जन्मदिन मनाउँदैछन्। साढे तीन दशक चलचित्र क्षेत्रमा योगदान दिएका हमाल आजदेखि ५८ वर्षमा प्रवेश गरेका छन्।

कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गरेका हमाल पर्दामा भने विस्तारै देखिन छाडेका छन्। एकताका निर्माण समूहले फिल्म चलाउनकै लागि उनको टाउको मात्रै भए पनि राख्न दौडधूप गर्थे। उनका फिल्मले ५१ दिनदेखि १ सय १ दिन मनाउथ्यो। झन्डै दुई दशक नेपाली चलचित्रमा उनको एकछत्र राज चल्यो। राजेश हमालको टाउको राख्दा पनि फिल्मले बम्पर कमाइ गर्‍यो।

कुनै बेलामा वर्षमा १६ वटासम्म फिल्ममा काम गरेका उनको प्रतिस्पर्धी नै कोही थिएनन्। तर अहिले समय बदलिएको छ, परिवेश बदिलएको छ। पछिल्लो समय उनी मुख्य भूमिकामा देखिएका केही चलचित्रले पनि राम्रो कमाइ गर्न सकेनन्।सायद, समयसँगै फेरियो समाज, समाजसँगै रुची। पात्रहरू पनि फेरिए। जसकारण पर्दामा उनी त्यति सक्रिय छैनन्।

संख्याकै आधारमा धेरै फिल्म खेल्नेमा राजेश हमाल नम्बर वानका रूपमा स्थापित भए। तर, नेपाली फिल्मले गुणात्मक फड्को मारेको पछिल्लो समयमा भने उनी ओझेल परेको दर्शकले अनुभूत गरेका छन्। यसबाट राजेश हमालको फिल्मी स्टारडम सकिँदै गएको अनुमान गर्न थालिएको छ। पछिल्लो समय उनी फिल्म अभिनयभन्दा टेलिभिजन रियालीटी शो, कम्पनीका ब्रान्ड एम्बेष्टर, म्युजिक भिडिओमा अभिनय, कार्यक्रम उद्घाटनमा बढी व्यस्त छन्।

तर, पर्दा बाहिर उनको स्टारडम र क्रेज भने उस्तै छ।

गुणस्तरभन्दा सङ्ख्यात्मक फिल्म

‘युगदेखि युगसम्म’ फिल्मबाट अभिनयमा प्रवेश गरेका राजेश हमालले पहिलो चलचित्रबाटै अत्यधिक चर्चा पाए। आफ्नै मामा स्व. दीपक रायमाझीद्वारा निर्देशित उक्त फिल्ममा अभिनयमा प्रवेश गर्नुअघि भारतबाट प्रकाशित फेशन नेट म्यागजिनमा उनले फोटो शेसन गरेका थिए। काठमाडौं फर्किएर उनले केही फेशन शोमा र्‍याम्प मोडलिङ समेत गरे।

तीन सय बढी चलचित्रमा अभिनय गरेका राजेश हमालका हरेक चलचित्रले त्यसबेला उत्तिकै तारिफ कमाए। भलै आजका दिनमा कलाका रूपमा पनि उनका चलचित्रको आलोचना नहुने गरेको होइन। हमालले पैसाका लागि चलचित्र खेलेको, कथावस्तु छान्न नसकेको आरोप चलचित्रकर्मी नै लगाउँछन्। तर चलचित्र क्षेत्रमा रहेकाहरूको रोजीरोटी उनकै कारण चलेर नेपाली चलचित्र आजका दिनसम्म आइपुगेको भन्दै उनको प्रशंसा गर्नेको कमी छैन। हुन पनि उनको स्टारडमका कारण धेरै चलचित्रले राम्रो नाफा कमाए। हमालको टाउको राखेकै कारण चलचित्रले राम्रो कमाइ गर्ने भएकाले निर्माताहरूले चलचित्र क्षेत्रमा लगानी गर्दा खुट्टा कपाउँनु परेन।

संख्यात्मकरुपमा कति फिल्म खेलियो भन्ने उनैलाई हेक्का छैन होला! तर युगदेखि युगसम्म, देउता, वसन्ती, अल्लारे’ लगायतका चलचित्र राजेश स्वयंम आफूलाई पनि मनपर्ने बताउँछन्।

‘महानायक’ को बहस बारम्बार

‘महानायक’को रूपमा चिनिने राजेश हमाललाई चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ। गत वर्ष कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र?’ भन्दै एक टेलिभिजनमा अन्तरवार्ता दिएपछि ठुलै हङ्गामा मच्चियो। दर्शकले दीपाको उछित्तो काडे। उनले बारम्बार माफी माग्नुपर्‍यो। अधिकांशले राजेश हमाललाई ‘महानायक’ भएको स्विकार्छन्। राजेश हमाल स्वयम्ले समेत आफूलाई घुमाउरो पारामा ‘महानायक’ को रूपमा प्रस्तुत गरेका थिए।

एकताका राजेश हमाल नभई फिल्म बन्ने थिएन, पछिल्ला वर्षहरूमा भने राजेश हमाल भएका फिल्महरू देखिँदैनन्। दर्शकले उनलाई चलचित्रको पर्दामा देख्न नपाएको लामो समय भइसक्यो। उनले पछिल्ला पाँच, छ वर्षयता फिल्म खेलेका छैनन्।

राजेश हमाल बिनाको पछिल्लो फिल्मीकाल

राजेश हमाल नभएको फिल्म नै नचल्ने जमानाबाट अहिले राजेश हमाल नभएको फिल्म चलिरहेको समय आएको छ। उनको टाउको राख्दा पनि चलचित्रले अपार व्यापार गर्ने जमाना गएको छ। धेरै नयाँ कलाकारहरू जन्मिएका छन्। जो अहिले राज गरिरहेका छन्। यसैले होला अहिले धेरै भयो, राजेश हमालको फिल्म हलहरूमा नचलेका।

पछिल्ला २ वर्ष नेपाली फिल्म क्षेत्रका निम्ति सुखद देखिएको छैन। कोरोना महामारीले फिल्म क्षेत्रमा ठुलो कष्ट थपिदियो। कोरोना केही मत्थर भएपछि भारतीय फिल्मको दबदबा बढेको छ। भारतीय र दक्षिण भारतीय चलचित्रले नेपालबाट ठूलो पैसा बाहिर लगिरहे पनि नेपाली चलचित्रलाई लगानी उठाउन पनि हम्मेहम्मे परिरहेको छ। गत वर्ष ‘धन्धागिरी’, डाँडाको वरपिपल, ‘एक’ र ‘म त मर्छु कि क्या हो’ प्रदर्शनमा थिए। चपली हाइट ३, ‘चिसो एस्ट्रे’, म यस्तो गीत गाउँछु ४, लगायतका पनि गतवर्षकै फिल्म चले।

यस्तै यो वर्ष प्रदर्शनमा आएका फिल्महरू हुन्– ए मेरो हजुर ४, कबड्डी ४, ‘षट्कोण’, ‘लक्का जवान’, ‘मन्त्र’, लाखेजस्ता फिल्महरू चले। अहिले हलमा दुईसातासम्म राज गरेको फिल्म हो कबड्डी ४।

अब हलमा प्रतिरक्षारत फिल्म हुन्, ‘प्रेमगीत ३’, ‘सम्झना–बिर्सना’, ‘चिसो मान्छे’, ‘द सेक्रेट अफ राधा’। साथै ‘प्रेमगञ्ज’, ‘दोख’, ‘प्रकाश’, ‘काँडेतार’, ‘पासो, ‘घनचक्कर’ ‘सिल्ली फो’, ‘माइकल अधिकारी’, ‘कौसीद’, ‘कैदीको पत्र’ पनि यही वर्ष चल्ने तयारीमा छन्।

कोरोना महामारी पछि केही फिल्मको छायांकन सकिएको छ। ‘चिठ्ठी’, ‘परस्त्री’, ‘के घर के डेरा’, ‘नाइँ नभन्नु ल ६ लगायतका फिल्महरू सुटिङ भएर प्रदर्शनको तयारीमा छन्। अरू थुप्रै फिल्म बन्दै छन्। १६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ। भारतीय कलाकारलाई लिएर ‘ह्रस्व दीर्घ’ फिल्म भारतमा बन्दै छ।

तर फिल्मी दुनियाँबाहिर अझै उत्तिकै स्टारडम भएका राजेश भने कुनै चलचित्रमा आवद्ध छैनन्।

राजेश हमाल नै भन्छन् – असुरक्षित पेशा

त्यसो त राजेश हमाल स्वयं पनि कलाकारिता सबैभन्दा असुरक्षित पेशा रहेको बताउने गर्छन्। कलाकारिताको थालनी जोसुकैले गरे पनि यसमा निरन्तरता दिइरहने र उसका स्टाडम रहिरहने ग्यारेन्टी नभएको बताउँछन्। यसअघि चलचित्रमा व्यस्तताकै समयमा आफू स्वयंले समेत असुरक्षित महशुस गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘‘मलाई पहिला पनि काम गर्ने क्रममा यो वर्ष त म चलेँ। अब अर्को वर्ष चल्छु कि चल्दिनँ भनेर सधैँ असुरक्षित महशुस हुन्थ्यो। कुनै फिल्म भव्यताका साथ रुचाइए पनि अर्को आउने फिल्म सोही अनुसार रुचाइन्छ कि रुचाइँदैन होला भन्ने मनमा रहिरहन्थ्यो।’’

राजेश हमालले साइन गरेको फिल्म अलपत्र

राजेश हमाललाई अनुबन्धित गराइएको फिल्म भने बन्ने/नबन्ने टुङ्गो छैन। उनले केही महिनाअघि ‘सत्यम्’ मा अभिनय गर्ने चर्चा चलेको थियो। पोखरामा फिल्मको भब्य सेट बनेको भन्दै फोटो सार्वजनिक भए। तर सो फिल्म बन्ने नबन्ने टुङ्गो नभएपछि राजेश हमालले अर्को फिल्म ‘मायाको माया’ साइन गरेका छन्। छिट्टै सुटिङ जाने सो फिल्मलाई लन्डन रिटर्न निर्देशकले निर्देशन गर्न लागेका बताइएको छ।

राजेश हमालको मुख्य भूमिका रहेको एउटा गीति चलचित्र बनेको छ। माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको ‘कठै म त कठै’को गीति चलचित्रलाई यादव भट्टराईले निर्देशन गरेका थिए। तर उक्त गीत पनि अहिले अलपत्र परेको छ। सबै काम सकिए पनि निर्माण समूहभित्रको आन्तरिक विवादका कारण उक्त गीति चलचित्र रिलिज हुन सकेको छैन।

फिल्म छोडेर म्यूजिक भिडियोमा

पछिल्ला केही चलचित्रले राम्रो व्यापार गर्न नसक्दा उनले चलचित्र क्षेत्रमा विश्राम नै लिएका हुनसक्ने कतिपयको आकलन छ। अहिले राजेश पुनः अभिनयमा सक्रिय छन्, तर फिल्म होइन, म्युजिक भिडिओमा।

पछिल्लो समय अग्रज अभिनेता राजेश हमालको फिल्मभन्दा म्युजिक भिडिओप्रति मोह अचम्मले बढेको छ। धेरै फिल्महरू अस्वीकार गर्दै आएका दाबी गर्ने उनी म्युजिक भिडियोतर्फ चाहिँ किन सक्रिय भए उनैलाई थाहा होला।
राजेश हमाल अभिनीत ‘हजुर मुसुक्क’ नामक भिडिओ तीन महीनाअघि सार्वजनिक भएको थियो। जुन भिडिओले निक्कै चर्चा पायो। मालिङ्गो, मुसुक्क हास्देउ, नथियावाली से लगायतका गीतमा समेत राजेश हमालले अभिनय गरेका छन्। नाचन कान्छी, हल्का हल्का लगाएर, चट्ट बसम देउरालीमा, यादका लहरहरू, मञ्जरी, सम्झिएर जिन्दगीलगायतका गीतमा राजेश हमालले नाचेका छन्।

राजेश हमालले आफैँले स्वर दिएर एक म्युजिक भिडिओ खेलेका छन्। ‘मन बुढो भएन’ भन्ने गीत उनकै हो। उनको भनाइमा छोटो समयमा राम्रो पारिश्रमिक आउने र दर्शकमाझ निरन्तर प्रस्तुत हुन पाइने माध्यम म्युजिक भिडियो हो।
राजेश हमालले धेरै गीतका भिडिओमा काम गरे पनि अधिकांश गीतले खासै चर्चा पाउन सकेनन्। कतिपय भिडिओले त गतिलो भ्यूज पाउन सकेन।

राजेश हमालले मोडलिङ गर्दै आएका केही गीतहरू दर्शकले रुचाएका छैनन्। केही हट मोडलहरूको साथमा स्विमिङ पुलमा रमाउँदै गरेका राजेश हमालको अवतार राखिएको भिडिओ उनकै फ्यानहरूलाई पनि चित्त बुझेको छैन।

कति सम्भव राजेश हमालको कमब्याक ?

बलिउडका बादशाह अमिताभ बच्चन ८० वर्ष पुगेका छन्। उनको अभिनय र क्रेज अहिले पनि उत्तिकै छ। उनी पुराना धर्राका चलचित्रमा हुने हिरोइजम्‌बाट बाहिर निस्किएका कारण उनी अझै चलचित्र क्षेत्रमा उत्तिकै सक्रिय रहेको मानिन्छ। अब राजेश हमालले पहिलेकै जस्तो युवाकै भूमिकाबाट अभिनेतामा बदल्ने बेला आइसकेको धेरैले बताउँदै आएका छन्।

यसरी बदल्न चाहे भने अझै पनि नेपाली फिल्ममा उनले अझै केही समय राज गर्न सक्ने धेरैको बुझाइ छ। एक फिल्म निर्देशक भन्छन् ‘‘राजेश हमाललाई उनको उमेर सुहाउँदो भूमिकामा प्रस्तुत गर्नुपर्छ। पर्दा बाहिर समेत बलियो पकड जमाएका उनको पर्दामा भूमिका परिवर्तन गर्न सकेको खण्डमा उनको क्रेज अझै बढ्न सक्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved