अछाम घटना : पोस्टमार्टमपछि आफन्तले बुझे शव, जनप्रतिनिधिसहित १३ जनाविरुद्ध किटानी जाहेरी

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।

नेपालभ्युज

अछाम घटना : पोस्टमार्टमपछि आफन्तले बुझे शव, जनप्रतिनिधिसहित १३ जनाविरुद्ध किटानी जाहेरी

धनगढी। अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका किशोर विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन्।

पीडित पक्षले जनप्रतिनिधिसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। उनका अनुसार किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव बुझेका हुन्।

घटना अनुसन्धानको निष्कर्षतिर पुगेको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले बताए। उनले अबको हप्ता दिनभित्र अनुसन्धानको अन्तिम नतिजा आउने बताए।

अहिलेसम्म प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ। राजनैतिक विवादका कारण कांग्रेस कार्यकर्ताले विनोदको हत्या गरेको आरोप नेकपा एमालेले लगाउँदै आएको छ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत खटिएको छ। मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन्।

विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीयवासीले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेका थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरुले शव उठाउन दिएका थिएनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved