बजेटप्रति व्यवसायी असन्तुष्ट, विराटनगरमा प्रदर्शन

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी तथा मजदुरहरु विरोध प्रदर्शन उत्रिएका छन्।

नेपालभ्युज

बजेटप्रति व्यवसायी असन्तुष्ट, विराटनगरमा प्रदर्शन

विराटनगर। सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी व्यवसायी तथा मजदुरहरु विरोध प्रदर्शन उत्रिएका छन्।

संघीय सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघको अगुवाइमा विरोध प्रदर्शन  भएको हो। चक्का जाम गर्ने कार्यक्रम राखिएको भएपनि त्यसलाई संशोधन गरेर मार्चपास र कोणसभामा परिणत गरिएको छ।

मोरङको बुढीगंगास्थित हुलास स्टिल एण्ड वायर उद्योग अगाडिको सडकमा उद्योगी–मजदुरको संयुक्त विरोध प्रदर्शन भइरहेको मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले जानकारी दिए।

आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेटमा एमएस वायर, वनस्पति घ्यूतेल र सेनिटरी प्याडमा कायम गरिएको करको दरले स्वदेशी उद्योग मारमा पर्ने भन्दै उद्योगीहरुले आन्दोलन थालेको उनले बताए। बजेटमा उल्लिखित सरकारको उक्त बुँदा पुनरावलोकन हुनुपर्ने उद्योगी र मजदुरहरुको माग छ।

सरकारद्वारा जीआई वायरको कच्चा पदार्थको रुपमा रहेको एमएस वायर रडको ५ प्रतिशत भन्सार महसुललाई १० प्रतिशत र २ हजार ५०० प्रति मेट्रिकटनको अन्तशुल्कलाई ४ हजार ५०० पुर्‍याइएको विषयप्रति उद्योगीहरुको असन्तुष्टि छ। सरकारको यो नीतिले देशभरका ३५ बढी उद्योगहरु मारमा पर्ने उनीहरुको विश्लेषण छ।

यस्तै, आगामी आर्थिक वर्षदेखि वनस्पति घ्यू तेलको कच्चा पदार्थमा १० प्रतिशत र प्रशोधित तेलमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा सरकारले प्रशोधित पाम र पामोलिन तेल आयात गर्दा मात्र ५ प्रतिशत भन्सार महसुल लाग्ने नीति लिएको छ। यसले आयात प्रवर्द्धन हुने र स्वदेशी उद्योगहरु मारमा पर्ने उद्योगीहरुको भनाइ छ।

यसैगरी सेनिटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा त्यसलाई घटाएर १.५ प्रतिशत कायम गरिएको विषयप्रति पनि उद्योगीहरुको विरोध छ। उल्लेखित विषयहरु मागको रुपमा सरकारले सम्बोधन नगरुन्जेल चरणबद्ध आन्दोलन जारी रहने करिडोरका उद्योगीहरुले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved