तत्काल मन्त्रिमण्डल पुनर्गठन नगर्न सत्ता-गठबन्धन दलबीच सहमति

सत्ता गठबन्धन दलहरु तत्काल मन्त्रिमण्डल परिवर्तन नगर्ने विषयमा सहमत भएका छन्।

नेपालभ्युज

तत्काल मन्त्रिमण्डल पुनर्गठन नगर्न सत्ता-गठबन्धन दलबीच सहमति

काठमाडौं। सत्ता गठबन्धन दलहरु तत्काल मन्त्रिमण्डल परिवर्तन नगर्ने विषयमा सहमत भएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा तत्काल मन्त्रिमण्डल परिवर्तन नगर्ने विषयमा सहमति भएको हो। प्रधानमन्त्री कार्यालय स्रोतले गठबन्धनमा भएको सहमतिलाई उद्धृत गर्दै भने, “गठबन्धन दलबीच तत्काल मन्त्रिमण्डल परिवर्तन नगर्ने सहमति भएको छ।”

सरकारले १५ जेठमा संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेको थियो। संसदमा सरकारले ल्याएको बजेटमाथि छलफल चल्दै गरेका कारण पनि तत्काल मन्त्रिमण्डल परिवर्तन गर्न नहुनेमा नेताहरुले जोड दिएसँगै यस्तो सहमति बनेको हो।

आइतबार नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीले मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै पार्टीका उपमहासचिव डा. विजय पौडेलले पार्टीबाट मन्त्री बन्ने नेताहरुको सूची प्रधानमन्त्री कार्यालयमा पठाएका थिए।

आजै नवनियुक्त मन्त्रीहरुको शपथ हुने बताइए पनि सत्ता गठबन्धनले तत्काल मन्त्रिमण्डल परिवर्तन नगर्ने सहमति गरेका हुन्। मन्त्री परिवर्तनको विषयमा एकीकृत समाजवादी पार्टीभित्रै विवाद चुलिँदा पनि मन्त्री परिवर्तन गर्ने पार्टीको चाहना पूरा नभएको हो।

एकीकृत समाजवादीले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेका ठाउँमा पार्टीका प्रमुख सचेतक जीमराम श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको थियो। यस्तै, हाल शहरी विकासमन्त्री रहेकी रामकुमारी झाँक्रीको स्थानमा मेटमणी चौधरी, विरोध खतिवडा मन्त्री रहेको स्वाथ्य मन्त्रालयमा भवानी खापुङ र किसान श्रेष्ठ मन्त्री रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको थियो।

एकीकृत समाजवादीले आफ्ना पार्टीबाट मन्त्री भएका नेतालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम दिएसँगै नेपाली कांग्रेसले पनि केहीलाई मन्त्रीबाट आजै फिर्ता बोलाउन सक्ने अनुमान गरिएको थियो। प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि दुई नेतालाई मन्त्रिमण्डलमा सहभागी गराउने योजना बनाएका थिए।

सत्ता गठबन्धनले मन्त्रिमण्डल परिवर्तन नगर्ने निर्णय गरेसँगै हाललाई यी योजना पूरा नहुने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved