लोकतन्त्र र संयमता : दुई अनुदित लघुकथा

तर, अपार भीडको जयजयकारको पागलपन देखेर उनीहरू संयमतापूर्वक उभिइरहे।

नेपालभ्युज

लोकतन्त्र र संयमता : दुई अनुदित लघुकथा

लोकतन्त्र

–मीरा जैन

लाखौं कोसिस गर्दा पनि चिकित्सक महेश कुकुरको एउटा आँखा बचाउन असफल रहे। परिणाम के भइदियो भने स्वास्थ्य विभागले उनलाई निलम्बन गर्‍यो।

यो घटना थाहा पाएपछि अर्का चिकित्सक नीलेशले सान्त्वना दिनुको साटो महेशलाई भने, ‘मैले तिम्लाई कति पटक भने राजनीतिमा थोरै भए पनि पहुँच राख। तिम्ले मानेनौं र आज त्यसको सजाय भोग्न बाध्य भयौ। नभए मलाई हेर। केही महीनापूर्व मैले गलत इन्जेक्सन लगाउँदा एकजना बच्चाको मृत्यु भएको थियो। तर मन्त्रीसम्म मेरो पहुँच थियो र मेरो एउटै रौं कसैले झार्न सकेनन्…।’

महेशले निराशाजनक भावमा आफ्नो व्यथा सुनाए, ‘नीलेश ! तिमी भाग्यमानी हौ, मन्त्रीको कारण तिमी बँच्यौ तर म भने मन्त्रीकै कारण फसेँ। तिम्रो कारण जुन बच्चाको मृत्यु भएको थियो, त्यो एउटा निर्धन बाबुको छोरा थिए। तर मैले उपचार गर्न प्रयत्न गर्दा मरेको कुकुरको मालिक त मन्त्री नै थिए नि त।’

०००

संयमता

–यादवेन्द्र शर्मा ‘चन्द्र’

विशाल जुलुस शहरमा घुमिरहेको थियो। सन्त रुद्राक्षी कट्टरपन्थी पार्टीबाट चुनाव जितेर सांसद बनेका थिए। जुलुस लामो थियो। जुलुसको मध्य भागमा सन्त सांसद ट्रकमा सवार थिए। ट्रक कुनै दुलहीजस्तै फूलैफूलले सजिएको थियो। जनताले जयजयकार गरिरहेका थिए। सांसदचाहिँ विनम्रताको प्रतीक बनेर शिर झुकाउँदै अभिवादन गरिरहेका थिए। हात जोडिरहेका थिए।

त्यो जुलुस शहरको एउटा चौबाटोमा पुग्यो। जनताद्वारा भव्य स्वागत। केही परको चौकीमा दुइटी महिला बसिरहेका थिए।

ती दुवै महिलाले जब नेतालाई देखिन्, अचम्भित भइन्। एउटीले भनिन्, “चिन्यौ त्यसलाई ?”

“अँ, चिनेँ। त्यो एकदमै गुन्डा हो। गाउँमा अहिल्याजस्तै मलाई घरमा एक्लै भेट्दा बलात्कार गरेको थियो।”

“के ?” उसको आँखा विस्फारित भयो। दुवै महिला आक्रोशमा आइन् र हातमा ढुंगा टिपिन्।

तर अपार भीडको जयजयकारको पागलपन देखेर उनीहरू संयमतापूर्वक उभिइरहे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved