रिमालमाथि दुई कविता

तर खोइ
किन बज्दैनन् नयाँनयाँ भाकाहरू
किन बज्दैनन् आजका बाँसुरीहरू

नेपालभ्युज

रिमालमाथि दुई कविता

(आधुनिक नेपाली कविताको जग बसाल्ने गोपालप्रसाद रिमाल परिवर्तनधर्मी स्रष्टा हुन्। कविताका साथै नाटक लेखनमा पनि सिद्धहस्त रिमालका रचना युगीन चेतनाका साक्षी बनेका छन्।

१८ जेठ २०६९, रिमालको १०५ औँ जन्मजयन्ती। उनको जन्मदिनको सन्दर्भ पारेर यस पटक उनीमाथि कवि मञ्जुल र शार्दूल भट्टराईले लेखेका दुई कविता सान्दर्भिक देखेर राखेका छौँ।)


बाँसुरीहरू

-मञ्जुल

‘तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ’
-गोपालप्रसाद रिमाल

त्यो मीठो गीतले
आजकल आफ्नो बाँसुरी भेट्टाएको छ
जनता अलमल्लमा नपरुन्, सही ठाउँमा पुगुन् भनेर
त्यसले आफ्ना स्वरहरू फिँजाएको छ
त्यो मीठो गीतले
आजकल आफ्नो बाँसुरी भेट्टाएको छ

गीतजस्तै मीठा कथाहरू बोल्छन्
ती बाँसुरीहरू
कथाजस्तै मीठा राजनीतिका साँचाहरू खोल्छन्
ती बाँसुरीहरू
ज्युँदा मान्छेभन्दा पनि जीवित
सक्रिय मान्छेहरूभन्दा पनि सक्रिय
ती बाँसुरीहरू

बाँसुरी
सधैँ बाँसझ्याँङमा बसिरहन पाउँदैन
सधैँ आफ्ना बा आमा, दाजु र भाइ, दिदी र बैनीसँग
जहान र छोराछोरीसँग
एकै आँगनमा खेलिरहन पाउँदैन
त्यसैले ती बाँसुरीहरूले
आफ्ना घरबार पनि छोडेर हिँडेका छन्

कहिले घोप्छन् झीरले
कहिले पिल्स्याउन आगोमा पोल्छन्
कहिले मुठार्छन्, कहिले कर्दले तिखार्छन्, ताच्छन्
कहिले हत्कडी र नेलले
कैदीलाई जस्तै बाँध्छन्
तर जतिजति यस्तो प्रक्रियाबाट गुज्रन्छन्
त्यति त्यति नै सुरिला र मीठा हुन्छन् ती बाँसुरीहरू
त्यति त्यति नै बलिया र धेरै समयसम्म टिक्ने हुन्छन्
ती बाँसुरीहरू

कहिले थुन्ने गर्छन्, औंलाका प्वालहरू
कहिले खोल्ने गर्छन्
तर जतिजति थुन्ने र खोल्ने गर्छन्
त्यति त्यति नै मीठा धुनहरू निकालेर
कुर्लन्छन् ती बाँसुरीहरू

जति जोडले फुक्यो त्यति नै चर्को गरी बज्ने
बज्न कहिल्यै गाह्रो नमान्ने
फुकेपछि कहिल्यै नरुक्ने
कहिल्यै नथाक्ने
मीठा गीतका अति योग्य बाँसुरीहरू

खास गरेर गाउँमा
गरिब तथा भूमिहीन किसानका झुप्राहरूमा
उनीहरूका ज्वारीकोटका भित्री गोजीहरूमा
सधैँ सर्वहारा संगीत उरालिरहने कारखानाहरूमा
बीसौं शताब्दीको पियोनीफूल फुलाउने बगैंचामा
मजदुरहरूका अति बलिष्ठ हातहरूमा
आमा- आइमाईका पटुकाहरूमा
न्याय र समानताप्रेमी बुद्धिजीविहरूका साथमा
मैले यस्ता बाँसुरीहरू खूब देखेको छु

यो युगको सबैभन्दा मीठो गीतका
अतियोग्य बाँसुरीहरू।

०००

उनको सपना

-शार्दूल भट्टराई

उनको सपना थियो
त्यो उहिल्यै आउँछ भन्ने
सपना सपना नै रह्यो
त्यो आउनुपर्ने पनि आएन
कुनै मीठो गीतले
हामीलाई आफ्नो बाँसुरी पनि बनाएन

पुराना गीतहरू टुट्दै गए
पुराना बाँसुरीहरू फुट्दै गए

उनी भन्दै थिइन्
टुटेका गीत र फुटेका बाँसुरीहरू जोडिएर
नयाँनयाँ भाकाहरू निक्ले पनि त हुन्थ्यो

तर खोइ
किन बज्दैनन् नयाँनयाँ भाकाहरू
किन बज्दैनन् आजका बाँसुरीहरू

बिहानी सूर्यको किरण बोकेर
ऊ आउँछ भन्दाभन्दै
दिन, महिना र वर्षहरू गन्दागन्दै
उनको सपनालाई कसैले खाइरहेछ
तैपनि सहेर बसेकी छिन् उनी

उनको सपनालाई सम्झेर
कोही हुरी बनेको होइन
कोही पात बनेर पछ्याइरहेको पनि छैन

उसलाई बोलाउन
कुनै मीठो गीत छैन कसैसँग
कुनै सुरिलो लय छैन कसैसँग
तैपनि
उनी पर्खिरहेकी छिन् उसैलाई

उनी सपना देखिरहेकी छिन्
उसैको सपना
उही सुन्दर सपना
जुन सपनामा हाम्रो विपना बाँचेको छ

ऊ आउने सङ्केतमा
अझै पनि
कुनै गीत गुञ्जिएको छैन
कुनै बाँसुरी बजेको छैन

तैपनि आमा भन्दैछिन्
धैर्य गर, अझै धैर्य गर

आत्मविश्वासका साथ आमा भन्दैछिन्
ऊ आउने छ

एकदिन
ऊ अवश्य आउने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved