प्रिय पात्र

जीवनको सुन्दरता बुझ्ने यी पात्र

चामे स्वास्नी नहुनासाथ बेसहारा भयो र आफ्नो गल्ती भएको आफैँले स्वीकार्‍यो। ससुरालीमा लिन गयो। आफ्नै स्वास्नी त हो नि भनेर समातेर ल्यायो। त्यो प्रेम प्रकट गर्ने शैली प्रभावकारी छ।

जीवनको सुन्दरता बुझ्ने यी पात्र

गुरुप्रसाद मैनालीको समय र अहिलेको समयमा निकै अन्तर आइसकेको छ। उहाँले लेख्नु भएको चर्चित कथा ‘परालको आगो’ समय र परिवेश फरक भए पनि अझै सान्दर्भिक छ। उक्त कथामा मलाई मन परेको पात्र हो– गौंथली।

गौंथली त्यो ग्रामीण परिवेशको एक प्रतिनिधि महिला पात्र हुन्। अत्यन्तै मिहिनेती, घरको काम सबै पूरै धानेकी, छरछिमेकमा राम्रो सम्बन्ध राखेकी, घरको सरसफाई, पशुपालन, पकाइतुल्याई सबै गरेर बसेकी गौंथलीमा घर र लोग्नेप्रति समर्पण छ। गौंथलीले जीवनको काम खुसीसाथ गरिरहेकी देखाइएको छ।

कथाकारले गौथलीको श्रमशील जीवन सरल भाषामा प्रस्तुत गरेका छन्। घरको सम्पूर्ण काम धानेर बस्नु सजिलो काम होइन। तर महिलाहरूले भौतिक र भावनात्मक घर निर्माणको लागि गर्ने समर्पण पुरुषहरूले सक्दैनन् भन्ने कुरा पनि प्रमाणित गरिदिएका छन्।

बाहिरको काममा जतिसुकै निपूण भए पनि परम्परागत रुपमा घरको काममा महिलाहरूको उपस्थिति नहुने हो भने पुरुषको जीवन नचल्ने रहेछ। घरको काम भनेको घरभित्रको भौतिक काम मात्र होइन, घरका सबै सम्बन्ध, वस्तु र व्यवस्थामा प्राण भर्न सक्नु भनेको महिलाहरूको जीवनलाई हेर्ने दूरदृष्टिको क्षमता पनि वर्णन गरिएको छ।

मिहिनेती तर रिसाहा लोग्ने भए पनि ऊभित्रको माया बुझ्ने, उसको गल्तीलाई नजानिँदो ढंगले स्वीकार गराउन सक्ने, लोग्नेको गल्तीलाई क्षमादान गर्न पनि सक्ने गुण भएकी गौंथली जीवन चलाउन पुग्ने गरी बुद्धिमती छिन्।

दुई मिहिनेती पात्रहरूको वैवाहिक जीवनको उचार चढावको उल्लेख गरिएको बहुचर्चित कथा ‘परालको आगो’को दुई महत्वपूर्ण पात्र चामे र गौंथली दुवैको सोच र स्वभाव सरल भए पनि नेपाली समाजमा पुरुषहरूको दबदबा छ। त्यो दबदबालाई चिर्न महिलाहरूले हार्डवेयर भन्दा पनि सफ्टवेयर भूमिका खेल्नसक्ने कुरा गौंथलीमा चित्रित छ।

बिग्रिसकेको घर सम्हाल्नमा गौंथलीको भूमिका अग्रगामी छ।

उसो त चामे स्वास्नी नहुनासाथ बेसहारा भयो र आफ्नो गल्ती भएको आफैँले स्वीकार्‍यो। ससुरालीमा लिन गयो। आफ्नै स्वास्नी त हो नि भनेर समातेर ल्यायो। त्यो प्रेम प्रकट गर्ने शैली प्रभावकारी छ।

सँगै जीवन बिताउँछु भनेर विवाह गरिसकेपछि, लोग्ने र स्वास्नीबीच हुनुपर्ने समर्पण, एक अर्काप्रतिको क्षमादान नै कथाको मूल विषयवस्तु हो। क्षमादान एउटा खुसी हुने प्रवल मन्त्र हो जो हाम्रा ग्रामीण महिला र पुरुषहरूले कुनै औपचारिक शिक्षाप्राप्त नगरिकनै पनि ज्ञान प्राप्त गरेका थिए। त्यो ज्ञान गौंथली र चामेमा थियो। उनीहरूले त्यसको विश्लेषण र व्याख्या गर्न नसक्लान् तर जीवनमा उतार्न सक्छन्।

अहिले औपचारिक शिक्षा प्राप्त गरेका हामीमा यति दम्भ छ कि त्यही दम्भले हाम्रा सबै सम्बन्धहरू टुटेका छन्। क्षमादानको व्याख्या गर्न सक्ने गरी औपचारिक शिक्षा प्राप्त गरेका दम्भी मानिसहरूको भीडका कारण हामी स्वार्थी भइरहेका छौं। युद्ध गरिरहेका छौं। प्रेम गरिरहेका छैनौं। हाँस्न सकिरहेका छैनौं। सम्बन्ध विच्छेदको संख्या बढिरहेको छ।

गौंथली अनि चामे कमीकमजोरीहरूका बाबजूद आफ्नो जीवनको सुन्दरता बुझ्ने नेपाली समाजका प्रतिनिधि पात्र हुन्।


Comment

One thought on “जीवनको सुन्दरता बुझ्ने यी पात्र

  1. अति सङ्क्षिप्तमा सार भनिदिनुभयाे परालको आगाे कथाकाे।कथाले नेपाली ग्रामीण जनजिन्दगानीलाई सजिवरुपमा उतारेको छ।काेकलेकाे भूमिका ,चामे र गाैंथलीकाे भूमिका ,दमाई र दमेनी भाउजूको भूमिका सबै आआफ्ना ठाउँमा सफल छन् सबै ।त्यसै त कहाँ गुरुप्रसाद मैनालीलाई प्रथम आधुनिक कथाकार भनिएको हाे र!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved