यसरी गरियो ४१ दिनको शिशुको मुटुको शल्यक्रिया

हातमै अटाउन सक्ने एक किलो तौलको शिशुको यस्तो अपरेसन दुर्लभ र चुनौतीपूर्ण हो।

यसरी गरियो ४१ दिनको शिशुको मुटुको शल्यक्रिया

काठमाडौं। चितवन मेडिकल कलेजमा एक किलो तौल भएकी ४१ दिनकी शिशुको मुटुको सफल शल्यक्रिया गरिएको छ।

गत २५ चैतमा नारायणी सामुदायिक अस्पतालमा जन्मिएकी ती बालिका सात महीनामै जन्मिएकी हुन्। बालिकाकी आमा कोपिला पुरीका अनुसार समयअगावै जन्मिएका कारण शिशुको तौल करीब एक किलो थियो। जन्मिएलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भरतपुर अस्पतालको एनआइसीयुमा राखेको थियो।

भरतपुर अस्पतालमा राखेर उपचार गर्दैगर्दा मुटुमा समस्या देखिएर सास फेर्न गाह्रो भएपछि चितवन मेडिकल कलेज रिफर गरिएको थियो। अस्पतालले शिशुको मुटु र फोक्सोबीचको कनेक्सन नै बन्द नभएर समस्या देखिएकाले अपरेसन गर्नुपर्ने बतायो।

त्यसपछि मुटु शल्य चिकित्सक डा.अनिल आचार्यको नेतृत्वमा ८ जनाको टिमले गत ६ जेठमा ती बालिकाको अपरेसन गरेको हो। “बालिका सात महीनामै जन्मिएकाले लगातार एनआईसीयूमा राख्नुपरेको थियो। अरु बच्चाहरु जन्मदा नै मुटु र फोक्सोबीचको कनेक्सन बन्द हुन्छ तर ‘प्रि म्याच्योर’ बच्चाको बन्द नहुन सक्छ,” डा. अनिल आचार्य भन्छन्, “उनमा पनि त्यस्तै समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्‍यो।”

समयअगावै जन्मिएका बच्चाको विकास भएको नहुने र त्यसमाथि मुटु र फोक्सोबीचको नली बन्द नहुँदा मुटु निकै ठूलो हुँदै गएर फोक्सोमा बढी दबाब पर्छ। जसले विभिन्न समस्या आउन सक्ने उनी बताउँछन्।  “ती बालिकाको मुटुको शल्यक्रिया गर्न एक घण्टा लागे पनि उनलाई बेहोस बनाएर होसमा ल्याउनु निकै चुनौतिपूर्ण थियो,” उनले भने “तर हामीसँग आवश्यक सम्पूर्ण टिम रहेकाले सहज भयो।”

हातमै अटाउन सक्ने एक किलो तौलको शिशुको यस्तो अपरेसन दुर्लभ र चुनौतीपूर्ण हो। शल्यक्रिया सफल भएपछि अर्को दिन नै बच्चा र आमालाई भरतपुर अस्पतालमा फर्काइएको डा. आचार्यले जानकारी दिए।

शल्क्रियापछि शिशुको अवस्था सामान्य रहेको छ। अहिले बच्चा र आमा अस्पतालमै उपचाररत छन्। उनको तौल अहिले १२ ग्राम पुगेकोमा डेढ किलो भएपछि उनी घर जानसक्ने अस्पतालले बताएको छ।

चितवनको इच्छाकामना गाउँपालिका घर भएको पुरी परिवारको आर्थिक अवस्ता कमजोर भएकाले चितवन मेडिकल कलेजले दिइरहेको विपन्न नागरिक कोषबाटै उनको उपचार भएको अस्पतालले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved