शान्तिमाया र कान्तिमाया तामाङको आँसु नथामिएको दुई दिन भयो। बुबा मकरबहादुर तामाङ सहित ७ जना आफन्त गुमाएपछि उनीहरूलाई ढाडस दिने परिवारका सदस्य समेत छैनन्।
जनकपुरधाम। गत १५ गते। दिउँसोपख विमान हराएको खबर सनसनी फैलियो। अलिबेरमा त्यसरी हराइरहेको यति एयरलाइन्सको विमानमा धनुषाको मिथिला नगरपालिकाका सात जना यात्रु रहेको खबर आयो। अलिबेरमा ती सबै मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका रहेको थाहा भयो।
अर्को दिन बिहानै दुर्घटनाग्रस्त विमान फेला परेसँगै सातै जनाको निधन भएको पुष्टि भयो।
लोटा गाउँका चुरेस्थित रातु ठाकुर आधारभूत विद्यालयबाट अवकाश प्राप्त शिक्षक रहेका ७३ वर्षीय मकरबहादुर तामाङ र उनको परिवारले जीवन गुमाएको हो। उनीसँगै उनकी धर्मपत्नी ७१ वर्षीया सुकमाया तामाङ, सोही बस्तीका मकरबहादुरकै दिदी–भिनाजु ७५ वर्षीया राममाया गोले, ७६ वर्षीय इन्द्रबहादुर गोले र भाञ्जा ४५ वर्षीय राजन गोले, मकरबहादुरकै बहिनी र ज्वाइँ ६५ वर्षीया तुलसादेवी तामाङ र पुरुषोत्तम गोलेको निधन भएको छ।
विमान दुर्घटनामा एकै परिवारका सात जनाको अकल्पनीय निधनको यो खबरले लोटा गाउँसँगै छिमेकी बस्तीहरू महोत्तरीको बर्दिबास–३ का पर्साहीधाप, रजबास र धनुषाको चुरे र बाहुनमारा सहितका बस्तीमा समेत सन्नाटा छाएको छ। सिंगो गाउँ शोकमा डुबेको छ। दुई दिन यता गाउँलेहरूको एउटै भनाई सुनिन्छ– ‘भगवानको दर्शनको लागि गएकालाई कसरी भगवानले माथि नै बोलाउन पुगे ?’
गाउँ दुखी हुनुको अर्को कारण मकरबहादुर तामाङको सावर्जनिक व्यक्तित्व पनि हो।
“शिक्षण पेसाबाट सेवानिवृत्त भएपछि सामुदायिक वन उपभोक्ता महासंघ मार्फत सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मकर बहादुर सर बस्ती वरपरका सुख, दुःखमा खोजखबर गर्नासाथ पुग्ने निकै मिलनसार र सहयोगी स्वभावको हुनुहुन्थ्यो”, स्थानीय दुर्गा मगरले सुनाए, “अहिले हामीलाई घरकै मुख्य अभिभावक गुमाएको महसूस भइरहेको छ।”
सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले आफ्नो घनिष्ठ मित्र राजन गोलेसँगको अन्तिम वार्तालाप सुनाउँदा आँशु थाम्न सकेनन्।
“तारा एयरको फ्लाइटबाट आज हामी मुक्तिनाथ जाँदै छौँ, मुक्तिनाथ दर्शन गरेर भोली काठमाडौँ फर्कन्छौँ, पर्सी जनकपुर आइपुग्छौं”, आँखाको आँशु पुछ्दै शर्माले भने, “घरबाट सबैजना गाडीमै काठमाडौँ पुग्नुभयो, त्यहाँबाट शनिबार यति एयरको विमानबाट पोखरा पुगेर राति होटेलमा बस्नुभयो। आइतबार (१५ जेठ) बिहान ९ः५५ को तारा एयरको विमानबाट जोमसोम जाने टिकट लिएका छौँ, चिया खाएर एयरपोर्टतिर जान्छौँ भनेर फोन काटिएको थियो। त्यो नै अन्तिम कुराकानी भयो।”
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय राजन गोलेका श्रीमती दीपा सुवेदी र दुई छोराछोरी काठमाडौँ बस्दै आएका छन्।
“पछिल्लो समय अब यतै बस्ने सोचले राजन गाउँमा घर निर्माण गर्दै थिए। घर बनेपछि आउने सोचमा थिए। गाउँमा सात कोठे सहितको दुई तले भवन निर्माणाधीन अवस्थामा छ। घरको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। तर उनी यो घरमा बस्न नपाउँदै संसारबाट बिदा भए”, शर्माले भने।
समाजशास्त्रमा स्नातक गरेका राजन काठमाडौँ मकलबारी टोल सुधार समितिका सदस्य, धनुषा काठमाडौँ सम्पर्क मञ्चका सदस्य, सल्लाहकार सदस्य, आदिवासी जनजाती परिषद् सदस्य भएर काम गर्दै आएको थियो भने उनि नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य समेत थिए।
“अकल्पनीय दुर्घटनाले आत्मीय मित्र परिवारजन सहित गुमाउनु पर्दा मन थामिरहेको छैन”, सोमप्रसादले भने, ‘‘आमाबुबा सहित आफन्तलाई तीर्थ घुमाउने र फर्केपछि हामीसँगै पारिवारिक भ्रमण जाने राजनको सपना अधुरै रह्यो, हामीमाथि ठूलो बज्रपात भएको छ।’
विमान सम्पर्क विहीन भएको र सो विमानमा राजनको परिवारसमेत रहेका थाहा पाए लगत्तै उनको घरमा पुगेका मधेश सरकारका उद्योग वन पर्यटनमन्त्री सत्रुधन महतो गाउँले र परिवारको बिलौना सुनेर भावुक हुँदै भने, “हामीलाई ठूलो क्षति पुगेको छ, हामी शोकमा डुबेका छौं।”
लोटाकै ६५ वर्षीया शान्ति श्रेष्ठले राजन भान्जा निकै फरासिला मिजासका बताउँदै उनले भनिन्, “काठमाडौँबाट गाउँ आएपछि खानेपानी, बाटोघाटो र बिजुलीको प्रबन्ध के–कस्तो छ भनेर सधै सोध्ने गर्नुहुन्थ्यो।”
गाउँका कोहि बिरामी परेर उपचारका लागि काठमाडौँ पुग्नेहरू त्यहाँ राजन भेटेपछि ढुक्क हुन्थे। काठमाडौँमै निजी व्यवसाय गर्ने राजन चाडपर्व मान्न भने गाउँ आउने गरेका श्रेष्ठले सम्झिईन्। मकर सरसँग दाजुभाइको साइनो लगाउने सबैले राजनलाई भान्जा कै सम्बोधन गर्ने गरेको शान्तिले भनिन्।
विमान दुर्घटनाको खबर फैलिएसँगै मकर सरको घरमा आफन्तको भीड लाग्दै आएको छ। छोरीहरू शान्तिमाया तामाङ र कान्तिमाया तामाङ भावविह्वल छन्। बुहारीहरू प्रेमा कुमारी, पार्वती र प्रतिष्माका रुदारुदा आँखाका डिल सुनिएका छन्। त्यहाँ पुग्ने सबै रुन थालेपछि सान्त्वना दिने पनि कोही देखिँदैनन्।
मकरबहादुरकी ठूली छोरी शान्तिले बिलौना गर्दै भनिन्, ‘बुवा, आमा, फूपु, फूपाजु र भानिज भाइ राजनले हामीलाई एकै साथ छोडेर जानुभयो। एकसाथ मान्यजन सबै रित्तिँदा टुहुरा बन्यौँ। के भनेर मन बुझाउनु।’
शान्तिमाया र कान्तिमाया तामाङको आँसु नथामिएको दुई दिन भयो। बुबा मकरबहादुर तामाङ सहित ७ जना आफन्त गुमाएपछि उनीहरूलाई ढाडस दिने परिवारका सदस्य समेत छैनन्। बुहारी प्रेमा कुमारी त भगवानप्रतिको आस्था नै गुमेको बताउँछिन्।
“जसलाई दर्शन भेट गर्न बुबाआमा जानुभयो। उहाँले नै मृत्युको मुखमा पुर्याइदिनुभयो,” उनी भन्छिन्, “अब यो घटनाले भगवानप्रतिको आस्था कम भएको छ। भगवान निर्दयी हुन्छन्।”
घटना थाहा पाउनासाथ मकरबहादुरका ठूला छोरा उत्तम काठमाडौं गएका छन्। माहिला भूषण विदेश छन्। कान्छा सुरेश काठमाडौँमै काम गर्छन्। राजनका भाइ मनोज लण्डनबाट यता आउँदै गरेका खबर आएको मकरबहादुरका जेठा ज्वाइँ (शान्तिका पति) मदन लामाले सुनाए।
घरपरिवार आफन्तजनमात्र नभएर टोल छिमेकका अन्य बस्तीका पनि सबैलाई रिझाएर हिँड्ने मकर सर र राजन सधैँसधैँ आफूहरूको सम्झनामा रहने छिमेकको रजबास बस्तीका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए।
Facebook Comment
Comment