ओलीलाई प्रचण्डको प्रश्न : तपाईं मान्छेको टाउको काटेर जेल बसेको होइन ?

नेपालभ्युज

ओलीलाई प्रचण्डको प्रश्न : तपाईं मान्छेको टाउको काटेर जेल बसेको होइन ?
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हत्या मुद्दाबारे जवाफ दिएका छन्।

बिहीबार संसद्‌मा ओलीले प्रचण्डलाई इंगित गर्दै भनेका थिए, ‘फलानालाई भोट नदिए ‘देश दुर्घटनामा जान्छ’ भनेर निर्वाचनको समय जनतालाई धम्की दिइयाे। यस्तो अभिव्यक्तिले जनताले द्वन्द्वकाल सम्झिए। छोराछोरी विदेशिनु परेको सम्झिए। आतंक छाएको सम्झिए। जनता थरथर काम्ने स्थिति बन्यो। मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारी-घिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए।’’

शनिबार संसद्‌मा प्रचण्डले ओलीको उक्त अभिव्यक्तिबारे जवाफ दिँदै ओली पनि मान्छेको टाउको काटेर जेल गएको आरोप लगाएका हुन्। उनले अहिले परिस्थिति फरक भइसकेको बताउँदै प्रचण्डले ओलीलाई अहिले पनि मान्छेको टाउको काटेर जेल गएको भन्न मिल्छ ? भनेर प्रश्न गरेका हुन्।

‘‘तपाईंहरू टाउको काट्ने मान्छे होइन ? हत्याराको रूपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?,” प्रचण्डले भने, ‘‘हिजो फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु।’’

प्रचण्डले शान्ति सम्झौतामार्फत भएको १२ बूँदे सहमति ऐतिहासिक सहमति भएको बताउँदै अहिले जनयुद्धका घटनामा यस्ता आरोप लगाउनु जायज नहुने बताए। प्रक्रिया र प्रणालीमा सहभागी भएर आइसकेकाले शान्ति सम्झौता र लोकतान्त्रिक प्रक्रियालाई अपमानित गरेर त्यस्ता आरोप लगाउनु जायज नहुने उनको भनाइ थियो।

अहिले परिस्थिति भिन्न भइसकेकाले ती विषयलाई ल्याएर एकले अर्कालाई अपमानित गर्ने र निषेध गर्ने ढंगले गए यो प्रणालीमार्फत जनतालाई दिन खोजेको अधिकार दिन नसकिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved