प्रिय कथा

जिजीविषा

छोराको निक्खर बेसार हुँदै गएको चेहराको उतारचढाव हेरी मलाई बाँच्ने डोरी चुडिनै लागेको भान हुँदै थियो र यस बेलामा म आफूलाई लाचार, विवश महसुस गर्दै थिएँ।

जिजीविषा

रचनागर्भ: 

सबैले भोगेको कोरोना काल। नानाथरिका हल्ला। जता हेर्‍यो, सुन्यो, उतै कोरोना। टिभीभरि कोरोना। पत्रिकाका पानाभरि कोरोना। सामाजिक सञ्जालभरि कोरोना। घरभित्रै पनि मान्छे भयभित, असुरक्षित थियो। साथीभाइ त टाढाका भइहाले, परिवारसँग पनि दूरी कायम गर्नुपर्ने अवस्था थियो। यस्तो अवस्थामा उकुसमुकुसको वातावरण हुने नै भयो।

अर्कोतर्फ सरकार लाचार, विवश र निरीहजस्तो देखिन्थ्यो। बढ्दो बिरामीको कारणले देशको स्वास्थ्य प्रणाली चरमराइसकेको थियो। अभावमात्र सुनिन्थ्यो- औषधि अभाव, बेड अभाव, अक्सिजन अभाव, यहाँसम्म कि स्वास्थकर्मी अभाव।

जीवनको शाश्वत सत्य मृत्यु हो। तर पनि मान्छे सबभन्दा बढी कसैसँग डराउँछ भने कालसँगै हो। यो झन् कोरोना काल थियो। जताततै मानवजातिले कोरोनारूपी यमराजसँग हारिरहेको थियो। मान्छे एकदमै असहाय, निरीह हुँदै थियो। विश्वभरि कोलाहल र चीत्कारसिवाय केही सुनिँदैनथ्यो।

लकडाउनको कारणले बाहिर निक्लिन नमिल्ने। साथीभाइसँग भेटघाट गर्न असम्भव। यहाँसम्म कि फोनवार्ता गर्न पनि डराउनुपर्ने। समय बिताउन, डिप्रेसनबाट बच्न म दिनदिनै पत्रिका आद्योपान्त पढ्न थालेँ। टिभीमा समाचार, कार्यक्रम हेर्न थालेँ। अन्य समाचारका अतिरिक्त बेड नपाएर बिरामीको मृत्यु भन्ने समाचारले मेरो मन कटक्क काट्थ्यो। मन छुन्थ्यो। यदि म बिरामी भएर अस्पताल जानु परेको भए, बेड नपाएर करिडोरमा पल्टिनु परेको भए मेरो हालत के हुन्थ्यो ? मैले त्यस बेलामा के कामना गर्थें ?

त्यसैको उपज यो ‘जिजीविषा’ हो।


म सरकारी अस्पतालको बरण्डाको सिमेन्टेड भुइँमाथि इन्तुन चिन्तु हालतमा पल्टाइएको छु। धन्न! भुइँमाथि प्लास्टिकको म्याट बिच्छ्याइएकोले थोरै भए पनि राहत भएको छ। अन्यथा सिमेन्टको चिसोले नै परमधाम पुर्‍याइसक्थ्यो। यस्तो हालतमा पनि मलाई दुई वटा कारणले सन्तोष प्राप्त भएको छ।

एक, बरन्डामा लम्पसार परी बेडका लागि प्रार्थना गर्ने मजस्ता बिरामीको सङ्ख्या चौरको भन्दा स्वभावैले न्यून छ।

दुई, सङ्ख्या कम भएकोले बेड पाउने ‘चान्स’ कैयौँ गुणा बढी छ।

दिमागभरि करोडौँ स्वार्थी जिनले स्थायी डेरा जमाएको मान्छेको जात। त्यसमाथि करिब-करिब घिटीघिटी अवस्थाको बिरामी। आफ्नोबाहेक अगाडिपछाडि, तलमाथि नयाँ सडकको गेटलाई छानो बनाएर आकासका तारा गन्दै रात गुजार्ने माग्नेको भन्दा अझ दयनीय तरिकाले लम्पसार परेका रोगीको अवस्था कस्तो छ ? चिन्ता गर्ने, सरोकार देखाउने मलाई पटक्कै चासो छैन।

मलाई आँखाका ढकनी खोल्न पनि महाभारत छ। लगातार सात दिनको मन्द ज्वरोले जीउ गलेको पिँडालु भएको छ, फत्याकफुतुक। सम्पूर्ण जोर्नी कटकट खाँदै छन्। ओठ चाट्दा-चाट्दा खडेरी परेको खेत भएका छन्। ज्यान गए एक घुट्को भन्दा बढी पानी घाँटीभित्र छिर्दैन। भित्र गएको पानी पनि बाँझो खेत पटाएझैँ हुन्छ। काटेर छाडेको कुखुराझैँ उफ्रिन्छ, मुटु। जे खाए पनि नानीको पखाला लाग्छ, बेस्वादको। गन्ध कुन चराको नाम हो ? थाहा छैन।

मेरो स्वास्थ्यस्थिति मध्यनजर गर्दा सदाका लागि कोमामा गइसक्नुपर्ने थियो। आत्मबलको कारणले हो वा यमलोकमा स्थानाभाव भएर हो वा दिन नआएर हो ?  अहिलेसम्म जेनतेन इन्धन सकिन लागेको थोत्रो इन्जिनजस्तो घ्यारघ्यार सास चलेकै छ। आधाजसो समय म बेहोसजस्तै हुन्छु। अर्ध बेहोसीमा गरुड पुराणमा वर्णित जुँगामुठे यमदुतहरू मलाई पृथ्वीलोकबाट उठाउन तयारी हालतमा उभिएको पाउँछु।

“यस दुई बित्ते जिन्दगानीमा गर्न बाँकी अधुरा काम धेरै छन्। कान्छो छोराको बर्तवन्धसम्म गरेको छैन। बुहारी गर्भवती छ। नातिको मुख हेर्ने लालसा छ। श्रीमतीलाई तिरोभरो, लेनदेनका बारेमा जानकारी दिनै पाएको छैन। जनी गरी केही समय मलाई बक्सिनुहोस्। बरु मभन्दा बूढाखाडाको ताँती छ।………….”, म विक्षिप्त भएर बर्बराउँछु।

“बा ! जुस खानु हुन्छ ? ताकत लाग्छ”, छोरो टाढैबाट मलाई मन पर्ने आँपको जुस बढाउँछ। टाढैबाट किनभने नजिक आउन मनाही छ। “बेड नपाउन्जेलसम्म त जसरीतसरी थेग्नुपर्‍यो नि” उसको आशय हुन्छ।

“…….”, हातले म नाइँको इसारा गर्छु।

०००

हप्ता दिन यतादेखि खानासँग एलर्जी हुन लाग्यो। खाने कुराको नाम लियो कि कन्पारो तात्तिइहाल्ने। कोखामा घुस्सी बजाएजझैँ लाग्ने। खाना सोध्न आउने मान्छेलाई टिपेर झ्यालबाट मिल्काइदिऊँ जस्तो हुन थाल्यो। हुँदाहुँदा पानीसमेत घाँटीभित्र नछिर्ने भयो। त्यसबाट अजीबको गन्धजस्तो आउन थाल्यो।

“होइन के भयो तपाईंलाई। दालभातको नाम लिनासाथ भोटे कुकुर भइहाल्नुहुन्छ। गन्ध पनि ‘थाहा पाउँदिनँ’ भन्नुहुन्छ। बाहिर निक्लिने मन गर्नु हुन्न। सुइरोले घोच्दा पनि नरिसाउने मान्छे। झर्किनेफर्किने मात्र गर्नुहुन्छ”, मैयाँले मेरो आनीबानीमाथि सटिक टिप्पणी गरिन्। सतर्क गराउन खोजेकी हुँदिहुन्- “बाहिर अनेकथरि हल्ला सुनिन्छन्। छिमेकीलाई पनि भयो भन्छन्। कतै …….?”

“………”, पहिलेको राधेश्याम भएको भए म कृतज्ञता प्रकट गरिहाल्थेँ। त्यस दिनमा भने म धुवाँ हालेको अरिंगाल भएँ, चिल्न तयार। धन्यवाद दिनुको सट्टा औँलाले दुवै आँखाकान बन्द गरी ‘भ्रामरी’ गर्न थालेँ।

“के भएको छ ? यो मान्छेलाई, कुन्नि ! राम्रो सल्लाह त दिनै हुँदैन। मलाई पनि  खाँचै सिद्धि”, उनले घुँडामा मुड्की बजार्दै बाहिर निक्लिन्।

०००

‘आ……। होइन होला। कसरी हुनसक्छ ?’ मैले आफैँलाई आश्वस्त र विश्वस्त बनाउन खोजेँ।

यसका बलिया आधार के थिए भने यस महामारीबाट बच्न मैले जानेसुने जति सबै सावधानी अपनाएको थिएँ। दिनदिनै ‘नेट’ टटोल्थेँ। टिभीमा आउने कोरोनासम्बन्धी विज्ञापनसमेत बडो ध्यानपूर्वक हेर्थें। बिहानभरि पत्रिकाका समाचार तथा लेख आद्योपान्त  पढ्थेँ। हेर्ने, पढ्ने मात्र होइन कि सम्भव भएसम्म अमल गर्थें।

कोठाभित्र बस्दा दुइटा मुखाउरोले नाकमुख ढाक्थेँ। दिनमै रात पार्ने गरी झ्यालढोकाका पर्दा ड्यामडुम लगाउँथेँ। प्रत्येक आधा घण्टामा स्यानिटाइजरले हात रगड्थेँ। शरीरको देखिने ठाउँजति साबुनपानीले सफा गर्थें। लगाएको कपडा, सुतेको तन्ना दोस्रो दिनमै बदलिहाल्थेँ।  बाहिरबाट ल्याएका खाद्यान्न दिनभरि घाममा सुकाएपछि मात्र घरभित्र लिने गरेको थिएँ। तरकारी पूरा एक रात फ्रिजमा राख्न लगाउँथेँ। काट्नुअगाडि पोटासपानीले सफा गरेर मात्र पकाउन लगाउँथेँ।

यहाँसम्म कि बैंकबाट निकालेका, पसलेले फिर्ता गरेका नोट, चिल्लरसमेत पकेटभित्र राख्नुअगाडि पानीले सफा गरी घाममा सुकाउने गर्थें।

यसका अतिरिक्त सूर्योदय हुनुअगावै म नियमित एक घण्टा योगा, प्राणायाम गर्थें। खुला ठाउँमा आधा घण्टा जगिङ गर्न निक्लिन्थेँ। आफन्त, साथीभाइ, छरछिमेकसँग भेटघाट, दुवासलाम बन्दजस्तै होइन कि बन्द नै थियो। अकस्मात बाटोमा कोही चिनजानको मान्छे जम्काभेट भइहालेमा भरसक तर्किन्थेँ। बोल्नै परेमा निश्चित दूरी कायम गरी हालचाल सोध्ने गर्थें। ‘परानी रहे बात मार्दै गरौँला।’ म भेटघाट भरसक अत्यन्त छोटो बनाउँथेँ। मोबाइलबाट सञ्चोबिसञ्चो सोधपुछ गर्दा पनि बोल्ने भाँडोलाई रुमालले छोपछाप गरी सम्वाद गर्थें।

घरबाहिर निक्लिँदा र भित्र पस्दा डिटलपानी राखेको स्थानमा टिभीमा देखाएजस्तो गरी रगडीरगडी हातमुख सफा गर्थें। त्यो पनि लरतरो तरिकाले हो र! मयलले कटकटिएको टालो मिचमाच गरेसरि।

मैले सकल परिवारलाई यही फलामे अनुशासनभित्र बाँधेको थिएँ। यसको अर्थ मैले कोरोनारूपी विनासकारी शत्रुको आक्रमणबाट बच्न अभेद्य किल्ला निर्माण गरेको भ्रम पालेको थिएँ।

“यो त अति भयो बा !”, मेरो फलामे अनुशासनप्रति आजित हुँदै उनी रोष प्रकट गर्थिन्।

“सावधानी अपनाउनु नराम्रो होइन। तर …….” बुहारी पनि अति भएकै गुनासो पोख्थी।

“घरभित्रै बसेको मान्छेलाई पनि भयो भन्छन्”, छोरो आगोमाथि घ्यू थप्थ्यो।

“प्रिभेन्सन इज बेटर देन क्योर। कसले के भन्छ ? छुः मतलब”,  म कुम उचाल्दै ठाडो जवाफ दिन्थेँ।

“लौ, लौ गरौँ। अति सर्वत्र वर्जयत्”, उनी कटाक्ष गर्थिन्।

“त्यही त भन्या। रोग आयो भन्दैमा सामान्य दिनचर्यासमेत ठप्प त गर्नु भएन नि। होसियारी अपनाउने पो त”, नाति थपथाप पार्थ्यो।

“सक्ने जति गरौँ। बातबाँकी परमात्माको मर्जी”, म बहसलाई पटाक्षेप गर्थें।

यति मजबुत सावधानी अपनाइसकेपछि त्यो पाजी भाइरसले मेरो शरीरभित्र घुस्ने हिम्मत नजुटाउनुपर्ने थियो।

यसको विपरीत……..।

०००

म टङ्सिल रोगबाट पीडित भएको धेरै वर्ष भएको थियो। पानीमा भिज्नै नहुने, नाकभित्र धुलो छिर्नै नहुने। नाक सकबग गर्न थालिहाल्ने। घाँटी खसखस गरिहाल्ने। ज्वरो आइहाल्ने। त्यस अभागी दिनमा पनि यस्तै लक्षण देखा परे। सोचेँ, बजार जाँदा रुझेको थिएँ। पक्का टङ्सिल बढ्न थाल्यो।

सधैँझैँ पानीमा नुनबेसार, तुलसीको पात पकाई ‘गार्गल’ गरेँ। सुत्नुअगाडि सिटामोल लिएँ। खास असर भएन।

भोलिपल्ट जिब्रोको स्वाद मर्‍यो। तेस्रो दिनमा नाकले गन्ध बिस्र्यो। पाँचौं दिनको राति भने जीउ कटकट खान थाल्यो। एक्कासी खोकीको साथमा सास फुलेर आयो। लगातार सुक्खा खोकी लाग्न थाल्यो।

छैटौँ दिन भइसक्दा पनि रोग बीसको उन्नाइस हुने छाँटकाँट देखिएन। यसको मतलब मेरो घरेलु उपचारले काम नगरको प्रमाणित भयो।

“साँच्चिकै भयो कि क्या हो ? चारैतिर यस्तै छ”, म पहिलोपल्ट सोच्न बाध्य भएँ। “भए पनि सामान्य होला। दुईचार दिनमा ठीक भइजाला। परिवारलाई किन चिन्तित बनाउनु ? फेरि कोरोना लागेको व्यक्ति, घरलाई अछुतको व्यवहार गर्छन्”, म उपबुज्रुक हुँदै आफैँलाई थुमथुम्याएँ  ।

०००

“रातभरि सुत्न दिएका छैनन्। आफू पनि झिपिक्कै गरेका छैनन्। लानै पर्छ जस्तो छ। तेरो बालाई मना”, उनले झरी पार्न मात्र बाँकी राखिन्।

“मान्नु हुन्न। कति जिद्दी हुनुहुन्छ ? तीस वर्षको सङ्गत। मैलेभन्दा ज्यादा तपाईंले भोग्नुभएको छ”, छोराले मेरो आदतको खोइरो खन्यो।

“त्यसो भनेर हुन्छ ? झ्याइँकुटी पारेर पनि लानुपर्छ”, उनले करै गरिन्।

“एम्बुलेन्स बोलाऊँ त ?” छोराले नाइँनास्ती गर्न सकेन।

मैले कोठाबाहिर आमाछोराको गलफती सुनेँ। गलफती गरेको केही समयमै एम्बुलेन्सको साइरन बजेको आवाज आयो।

“जाऊँ। घरमा बसेर ठीक होलाजस्तो छैन”, छोराले अनुरोध होइन कि आदेश दियो। उसले अस्पतालमा चाहिने आवश्यक सामानसमेत झोलामा मिलाइसकेको थियो।

मसँग हस्पिटल जानुको विकल्प बचेको थिएन। म गलिसकेको थिएँ। स्वीकार नगरेको मात्र हो। बाँच्ने रहर कसलाई पो हुँदैन र !

“ठीक भएर फर्किनुहोला”, उनले धोतीको सप्कोले मुख छोप्दै बिदाइका हात हल्लाइन्।

०००

“बिरामी ल्याउँदै छु। अवस्था ‘सिरियस’ छ।”

“केको बिरामी ? लक्षण भन्नुस् त।”

“शुरूमा रुघा लागेको थियो। पछि ज्वरो आयो। अहिले जीउ तातो छ। छातीमा समस्या छ जस्तो छ। सास फुलेको छ।”

“बिरामीको अवस्था सुन्दा ‘क्रिटिकल’ लाग्छ। बेडमै भर्ना गर्नुपर्ने अवस्था आउन    सक्छ। अक्सिजन चाहिन सक्छ। यहाँ दुवै ‘फुल’ छन्। अन्तै कोसिस गर्नुस्।”

“अन्त भनेको कहाँ हो ? बाटो देखाइदिनुस् न त।”

“त्यो त मलाई थाहा छैन ?”

“प्लिज ! जीवनमरणको सवाल छ।”

“मेरो समय बर्बाद नगर्नुस्। अरू थुप्रै केस हेर्नु छ।”

“हेलो……हेलो……हेलो…..।”

शायद छोराले सरकारी अस्पतालमा सोधपुछ गरेको थियो। झुक्किएरै होला, उसले मोबाइलको माइक्रोफोन ‘अन’ गरेकोले मैले सम्वाद सुनेको थिएँ।

“कस्तो देश हो, यो। तीस तीस वर्षसम्म सरकारी सेवामा काम गरी देशलाई उर्वर जवानी सुम्पेको, राज्यलाई निरन्तर कर बुझाएको निवर्तमान राष्ट्र सेवकलाई राज्यको निकायले उपचार गराउन सक्दिनँ भनी यस्तो निकृष्ट जवाफ दिन्छ। यो भन्दा लाजमर्दो के हुनसक्छ ?”, उसले झन्नालिँदै, मुर्मुरिँदै पुनः उही नम्बर थिच्यो।

“देशको नागरिकले आकस्मिक सेवा लिन पनि नेता नै लगाउनुपर्ने भो त ?”

“नेता लगाउनोस् कि डन। मन्त्रीलाई भन्नोस् कि मुख्यमन्त्रीलाई। केही गर्नसक्ने अवस्था छैन। सरी।”

छोराको निक्खर बेसार हुँदै गएको चेहराको उतारचढाव हेरी मलाई बाँच्ने डोरी चुँडिनै लागेको भान हुँदै थियो र यस बेलामा म आफूलाई लाचार, विवश महसुस गर्दै थिएँ।

गनिमत ! छोराले भने हार मानिसकेको थिएन। युद्ध मैदानमा डटेकै थियो। कमान सम्हालेकै थियो।

“नमस्कार ! मलाई चिन्नुभयो होला। म महेश। सुरप्रतापको छोरा”, छोराले चुनावमा दिलोज्यानले सहयोग गरेको नेतालाई फोन हानेको हुनुपर्थ्यो।

“ए बाबु तिमी पो। किन नचिन्नु। तिमीले गुन लगाउनुसम्म लगाएका छौ। भन, म के सहयोग गर्न सक्छु”, नेता शायद मुडमा थियो। भर्खरै ठूलै कमिसन पो खल्तीभित्र हालेको थियो कि ? एउटा हातले स्कच समाती अर्को हातले सुन्दरी पिएका गाला मुसार्दै थियो कि ?

“मलाई केही गर्नु पर्दैन। बुवालाई भने …..”, उसले भक्कानिँदै सम्पूर्ण वृतान्त वर्णन गर्‍यो। यस देशको पदासिन नेताले जवाफ फर्काउने कष्ट बिसाएकोमा छोरो हदैसम्म कृतज्ञ हुनुपर्थ्यो। यस्तो उसको अवरुद्ध भएको गलाले दर्शाउँथ्यो।

“पर्ख। म केही गर्न सक्छु कि ?”, नेताले घना बादलबाट छिरेको मधुरो प्रकाशजस्तो केही देखायो।

०००

“बिरामी सुरप्रतापको छोरा वीरप्रताप कता हुनुहुन्छ”, बिरामी र बिरामीका आफन्तजनको मेलाको जस्तो कोलाहलका बिचबाट एक जना सेतो एप्रोनधारीले टर्च बाल्यो। टर्च किनभने बिजुली ‘गुल’ थियो। जेनेरेटर चलाउने प्राविधिक कोरोनाको त्रासले घरेलु उपचार गर्न भट्टिभित्र पसेको हुनुपर्थ्यो। अस्पतालको प्राङ्गनको भीडले नाकाबन्दीको बेलाको ग्याँस र मट्टितेलको लाइनको सम्झना दिलाउँथ्यो। भीडमा आर्तनाद, क्रन्दन, बिलौना थियो। मसान घाटमा हुने चीत्कार थियो।

“म यहाँ छु”, छोराको नाम पुकारिँदा मलाई बोकेको एम्बुलेन्स अस्पताल गेटबाट प्रवेश मात्र गरेको थियो। “अब के गर्ने ? कहाँ जाने ? कसलाई गुहार्ने ? नेताले गफ मात्र लगायो कि ?” ऊ बडो असमञ्जसमा थियो।

“बिरामी कता ?”, डाक्टरले फेरि टर्चको उज्यालो छर्‍यो।

“एम्बुलेन्सभित्र”, उसले एम्बुलेन्सतर्फ चोर औँलो तेस्र्यायो।

“बेड खाली छैन। कहिले खाली हुन्छ ? भन्न सकिँदैन। करिडोरको बिरामीको लाइनमा लाग्ने भए……।” डाक्टरले अस्पतालको यथार्थ दूरावस्था वर्णन गर्‍यो जसले देशको अस्थिपञ्जर भइसकेको स्वास्थ्य अवस्था र पदासिन नेताहरूको डिङ हँकाइको बिचमा कतै तालमेल नभएको छर्लङ्गै देखाउँथ्यो।

“सहयोगका लागि धन्यवाद। कमसे कम चौरमा पल्टिनु त परेन”, कडा संघर्षका साथ उसले स्ट्रेचर पाउन समर्थ भयो र बडा मुस्किलले मलाई करिडोरमा कुप्रो परी पल्टिन मिल्ने ठाउँ बनायो।

०००

एक…..दुई……तीन…..चार….।

मभन्दा अगाडि चार जना बिरामी हप्याक-हप्याक गर्दै थिए। उनीहरूको अवस्था मेरोभन्दा कैँयौँ गुणा ‘क्रिटिकल’ थियो। तराइको ठाउँ। गर्मीको महिना। जताततै फोहर। पङ्खासम्म थिएन। भित्ता, कुनामा थुकेका पानका छिटाले झिँगा, लामखुट्टे, साङ्लालाई मिष्ठान्न भोजन पस्केजस्तो लाग्थ्यो। बिरामी हलचल गर्न सकिरहेका थिएनन्। त्यसैले झिँगा महानुभावले मस्तसँग भोज गरेपश्चात् बिरामीका चेहरालाई आरामदायक सोफा बनाएका थिए। लामखुट्टेले रगतको रस्वास्वादन गरी शक्ति सञ्चय गर्दै थिए। साङ्ला महाशय ढाड, जाँघ, पिँडौला, पाखुराभित्र घुसी बेफिक्रीसँग फुटबल खेल्दै थिए।

०००

बिरामीका लागि जाउलो, सुप आदि ल्याउनका लागि घरको एक जना सदस्यलाई भेट गर्न दिने नियम छ। रोग सर्ला भन्ने डरले छोरोबाहेक सबैलाई भेट गर्न मनाही गरेको छु। ‘बाँचे भेट भइ त जाला।’ सोच पालेको छु। त्यसै त मैयाँले सयथरिको रोग पालेकी छन्। बुहारी दोजिया छ। फेरि बुहारी काममा पनि जानुपर्छ। छोरो त मर्द हो। सानोतिनो संक्रमण त ≈याकुलाले पनि मिचिहाल्ला।

“बुबा ! बेड नम्बर एघार भर्खरै खाली भयो। मैले नेताको सोर्स लगाइसकेँ। अब तपाईंलाई त्यही बेडमा सार्ने व्यवस्था हुँदै छ। चिन्ता नगर्नुस्”, छोरो उत्साहित हुँदै चार हातमाथि उफ्रिन खोज्छ।

दुईजना मुखदेखि पाउसम्म छोपेका अस्पतालका सहयोगीले म पल्टेको बाटो भएर प्लास्टिकले बेरेको लास स्ट्रेचरमा हाली बाहिर निकाल्दै छन्। त्यहाँ मृत्युपछिको वातावरण कहीँकतै छैन। न परिवार, न आफन्त, न साथीभाइ, न रुवाबासी। छातीमाथि बिदाइका अविर, फूलसम्म छैन।

“हो र ?” मेरा लोलाएका थकित आँखा आफसेआफ खुल्छन्। चेहरामा एक्कासी चमक पोतिन्छ। म भ्रम हो कि भनी नाडी चिमोट्छु। होइन रहेछ। जाँदै गरेको स्ट्रेचरमा बेड नम्बर एघार टाँगिएको छ।

जिजीविषा यसैलाई भन्छन् क्या र !

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved