सिर्जना-गर्भ

म पहिलो ‘ड्राफ्ट’ को गीतकार हुँ

बेलुकीपख म घरको कौसीमा उक्लिएँ र एक्लै उभिएँ। आकाशतिर हेरेँ, जून चहचहाइरहेको थियो। त्यो दिनको जून अरू दिनको जस्तो राम्रो र सुन्दर लागेन मलाई।

म पहिलो ‘ड्राफ्ट’ को गीतकार हुँ

गीत-लेखनमा मेरो अनौठो स्वभाव छ। म कापीमा लेख्दिनँ, मोबाइलमा रेकर्ड गरेर गीत लेख्ने गर्दछु। मोबाइलमा पहुँच भएदेखि नै मैले यस्तो तरिका अपनाउँदै आएको छु।

मेरो अर्को स्वभाव कस्तो छ भने, मैले अहिलेसम्म जति गीत लेखेँ, लेखिसकेपछि त्यसलाई कहिल्यै काँटछाँट गरिनँ। कुनै पनि सिर्जनालाई पुनर्लेखन गर्नु ठीक होइन भन्ने मेरो तर्क छ। जस्तैः मलाई कसैले केही कुरा गरेर हँसाए भने म तत्काल नै हाँस्छु। अहिले आधा हाँस्ने र भोलि आधा हाँस्ने भन्ने सवाल रहँदैन। कुनै पनि सिर्जनामा अनुभूति एकै पटक आउँछ, पूर्णतया रूपमा आउँछ। अनुभूतिलाई सम्पादन गर्नुपर्छ जस्तो लाग्दैन।

मैले अनेक सन्दर्भका गीत लेखेको छु। त्यसमध्ये केही गीतका सिर्जना-गर्भ यस्तो छ :

निष्ठुरी भई आमालाई मेरो

‘लगिस् उठाई
हे दैव कस्तो वेदना दिइस्
बाँचुन्जेल मलाई…।’

गएको वर्ष कोभिड- १९ को कारण विश्वभरि आफ्ना बुबा-आमा, दाजुभाइ, दिदीबहिनी, आफन्त तथा मित्रहरू गुमाउँदाका पीडादायी अवस्थाले धेरैलाई मर्माहत बनाएको थियो। त्यो दुःखद घडीबाट म पनि गुज्रिएँ। मेरी पूजनीय आमा उर्मिला शिवाकोटीको आज पर्न गएको वार्षिक पूण्यतिथिमा हाम्री आमाका साथै सम्पूर्ण दिवंगत आमाहरूलाई असीम श्रद्धास्वरूप यो गीत समर्पण गरेको छु।

यो गीतको लेखन अवधिभर मैले मन थाम्नै सकिरहेको थिइनँ। आमा गुमाउँदाको पीडा शब्दमा अभिव्यक्त हुन त सक्दैन, यद्यपि मैले प्रयास गरेको छु। नेपाली संगीत जगत्का वरिष्ठ व्यक्तित्वत्रय रामकृष्ण ढकाल, राजु सिंह तथा अमुल कार्कीढलीको क्रमशः गायन, संगीत र संगीत-संयोजनको उत्कृष्टताले यो गीतको मर्म र गम्भीरतालाई आत्मसात गरेको अनुभव गरेको छु। गीतका अरू पंक्ति छन्-

‘कसरी सकिस् हेर्न त्यो देह 
त्यसरी जलेको
त्यो पल थियो जीवनमा मेरो  
सब आस्था ढलेको…।’

छैन जून किन जूनजस्तो

‘छैन फूल किन फूलजस्तो…।’

प्रसिद्ध पप-गायक नवीन के. भट्टराईले यो गीत गाएका हुन्। धेरै स्रोताले मन पराएका मेरा गीतमध्ये यो पनि एउटा गीत हो।

यो गीत मैले नवीनको बुबाको निधनको बेला लेखेको थिएँ। नवीनसँग मेरो आत्मीय सम्बन्ध थियो/छ। उनी र म एकअर्काका घरमा आउने-जाने र विविध विषयमा कुराकानी गर्ने गथ्र्यौँ। उनका बुबा बित्दा म उनलाई भेट्न गएको थिएँ। उनलाई भेटेर फर्किँदा मलाई नरमाइलो लागिरहेको थियो। एक किसिमको उदासीपनको महसुस गरिरहेको थिएँ।

बेलुकीपख म घरको कौसीमा उक्लिएँ र एक्लै उभिएँ। आकाशतिर हेरेँ, जून चहचहाइरहेको थियो। त्यो दिनको जून अरू दिनको जस्तो राम्रो र सुन्दर लागेन मलाई। अरू बेला जूनले मलाई जुन उत्साह दिन्थ्यो, त्यो दिन भने दिन सकेन। अरू बेला जूनले मलाई जुन आनन्दानुभूति दिन्थ्यो, त्यो दिन भने दिएन। नवीनको बुबाको निधनले मलाई निकै उदासी दिलाइरहेको थियो। त्यही उदास मुड र परिवेशबीच मैले यो गीत लेखेको हुँ।

हात बाँधी पछ्यौरीभित्र मनमनै पिरती…

भक्तपुरको कटुञ्जेमा मेरो काकाको घर थियो र एक पटक म त्यहाँ गएको थिएँ। मेरो प्रातः भ्रमण गर्ने बानी छ र कटुञ्जे जाँदा म प्रातःभ्रमणमा निस्किएको थिएँ। घुम्दै जाँदा पुरानो वास्तुशैलीको एउटा घर देखेँ। लिपपोत गरेको। ग्रामीण परिवेशको प्रतिनिधित्व गर्ने झिँगटीले छाएको घर।

त्यो घरको छेउमा एउटी महिला पछ्यौरी ओढेर सोचमग्न अवस्थामा बसिरहेकी देखेँ। पुस-माघको चिसो मौसम थियो। बिहानीको समयमा चिसो सिरेटो पनि चलिरहेको थियो। त्यो परिदृश्यले मलाई गज्जबले तान्यो।

घर छेउमै बसिरहेकी ती महिला देख्दा मैले अनुमान लगाएँ- उनी कसैको पर्खाइमा बसिरहेकी छन्। हुनसक्छ, उनका श्रीमान् बाहिर छन् र आफ्ना श्रीमान्को प्रतीक्षामा बसिरहेकी छन्। लामो समयसम्म श्रीमान्सँग टाढा हुनुपर्दाको अवस्था कस्तो होला ? ती महिलाको मनोदशालाई केलाउँदै मैले यो गीतमा उतारेँ। त्यही दृश्यलाई नियाल्दै गर्दा मभित्रका भावना यसरी शब्दहरूमा पोखिए-

‘हात बाँधी पछ्यौरीभित्र मनमनै पिरती बुनेकी
पर्खी आउने मायाको दिन गन्दै घुम्घुम्ती एक्लै बसेकी
सान्नानी मझेरी छेवैमा…।’

यो गीतको संगीत र स्वर दुवै मोहन भुसालको रहेको छ।

सँगै हुँदा तिमी र म परेको त्यो झरी

पर्दैछ त्यही झरी यादमा त्यसै गरी….

पानी परिरहेको बेलाका वा कुनै प्रियजनसँग हिँडिरहेको बेलाका दृश्य जब पछिपछि पनि सम्झनामा आउँछन्, त्यस्ता दृश्य सम्झिँदा हामीलाई नोस्टाल्जिक तुल्याउँछन्। खासगरी, कुनै प्रेमिका वा प्रेयसीसँग हात समाएर हिँडिरहेका रोमान्टिक क्षणहरू सम्झिँदा यस्तो हुने गर्दछ।

एक पटक मैले पानी परिरहेको कुनै क्षणलाई सम्झिएँ र अहिले नै पानी परिरहेजस्तो अनुभूति गरेँ। यो गीत मैले कुनै घटना-विशेषका आधारमा नभई कल्पना गरेर लेखेको थिएँ। किनभने, सर्जकहरूलाई कहिलेकाहीं कुनै घटनाले लेख्नका निम्ति अभिप्रेरित गर्दछ। कहिलेकाहीं स्वस्फूर्त रूपमा काल्पनिक कुराहरू मनमा आउँछन्। यो गीत मैले तिनै काल्पनिक कुरालाई सम्झेर लेखेको हुँ।

यो गीतमा संगीतकार दीपक जंगमको संगीत-सिर्जना पोखिएको छ भने सुप्रसिद्ध गायक दीपक खरेलले गाउनुभएको छ।

फेरि तिनै खुशीहरू हाँस्न पाए हुन्थ्यो

‘यो जिन्दगी फेरि अहिले बाँच्न पाए हुन्थ्यो…’

मेरो बाल्यकाल ललितपुरको सानेपामा बित्यो। मैले आफ्नो बाल्यकाल बिताएको त्यही ठाउँलाई सम्झिएर यो गीत लेखेको हुँ।

तत्कालीन समयमा टेकुबाट वागमती नदीतिर बढेपछि नदीमा एउटा झोलुंगे पुल आउँथ्यो। अहिले त वागमतीको दायाँ-बायाँ किनारमा सडक बनाइएका छन्, त्यो बेला भने त्यसरी सडक बनाइएको थिएन।

मैले सानेपामा धेरै वर्ष बिताएको हुँदा त्यो ठाउँमा बिताएका पुराना दिनहरूका साथै त्यहाँका रुख, गल्ली र घरहरूका याद आउने नै भयो। धेरै वर्षपछि एकदिन म टेकुबाट सानेपा छिर्दै थिएँ। अहिले नदीमा आधुनिक पुल बनिसकेको छ। तर मैले आधुनिक पुलको प्रयोग नगरी पहिलेकै झोलुंगे पुलबाट हिँड्दै गएँ। केटाकेटी छँदा झोलुंगे पुल हल्लाउन मन लाग्थ्यो। पछिल्लो समय त्यो पुलमा टेकेपछि मलाई बाल्यकालको सम्झनाले तान्यो र बाल्यकालमा झैँ त्यो पुललाई हल्लाएँ।

झोलुंगे पुल हल्लाएर म सानेपातिर गएँ। पुराना घरहरू देखेँ, बाटोछेउमा पुराना रुखहरू देखेँ। ती घर र रुखहरू देख्दा म पूर्वदीप्तीमा फर्किएँ। हुन पनि, बाल्यकालमा कुनै दायित्वबोध थिएन, ती दिनहरू रमाइला थिए। जीवन कठिन र संघर्षपूर्ण हुन्छ भन्ने परिकल्पना गरिँदैनथ्यो। जीवन भोग्दै गयौं र जीवनमा धेरै भावनात्मक आरोह अवरोहहरूबाट गुज्रिँदै गयौं।

मलाई तिनै पुराना दिनहरूले तान्यो र तत्काल यो गीत लेखेँ,

‘फेरि तिनै खुशीहरू हाँस्न पाए हुन्थ्यो…।’

यो गीत लेखिसकेपछि मैले दीप श्रेष्ठ दाइलाई देखाएँ। उहाँलाई पनि मेरा शब्दहरूले छुन पुगेछ र भन्नुभयो, “यो गीत म आफैँ कम्पोज गर्छु र गाउँछु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved