अनुभूति

उस्तै थिए उनी

“तपाईंलाई थाहा छ? म त नाटक लेखेर हत्यारा भएँ”, महर्षि जनकको भूमिकामा नाटक खेल्दाखेल्दै राष्ट्रिय नाचघरको मञ्चमा नै मृत्यु वरण गर्न पुगेका विष्णुभक्त फुँयाललाई सम्झिए उनले।

उस्तै थिए उनी

भूकम्पको चर्को कम्पनलाई साहससँग सामना गरेका पाटन दरबार स्क्वायरका मन्दिरहरू पुनःनिर्माणका टेकाहरूमा मुस्कुराइरहेका थिए। नयाँ नेपालको आगामी केही शताब्दीका लागि पुनर्जीवन ग्रहण गरिरहेका यी देवलहरू अनेक शताब्दीका साक्षी हुन्। यहीँ बसेर यिनले देखेको यो समाजका अनेक जीवित सभ्यता बुझ्न मैले धेरै पुस्तक र विषयहरूमा वाचाल दृष्टि फिँजाउनु पर्छ तर पनि सबै बुझ्न असमर्थ नै रहने छु। ज्ञानको अपरिमेय गहिराइ भोगाइसँग जति केहीसँग हुन्न! मैले मनमनै सुनेँ यी देवलका मौन आवाजहरू! अनि सोचिरहेँ, हो नि, म आधा शताब्दी नकटेकीले केही अक्षरमा डिको भरेँ र दृष्टि फिँजाएँ भनेर के फुरफुर गर्नु ? ग्रीष्म ऋतुको एउटा बिहान शिरमाथि आउँदै गरेको घामका प्रकाशले मेरो यात्रामा तेजिलो साथ दिएको आभास गरिरहेथेँ। किन हो आज घाम उति पोल्दो लागेको थिएन। लागेको थियो त अनुभवको एउटा प्रकाशमय यात्रा जुन अनेक कुतूहलताले भरिएको छ।

जीवनको यात्रा कुन गन्तव्यका लागि हो ? आजको यात्राको गन्तव्यमा त म स्पष्ट छु तर बारम्बार सोधिरहन्छु आफैँलाई यो प्रश्न। अनि सँगै आउँछन् यी प्रश्नहरू पनि, म किन यात्रारत छु जीवनसँग वा मानिसहरू किन बाँचिरहन्छन् जीवनजस्तो लागिरहने अनेक मोहहरूसँग ? जीवनमा प्रेम के हो ? के प्रेममा स्वार्थ छैन ? बिहानैदेखि मनमा उब्जिएका अनेक जिज्ञासासँगै यात्रारत थिएँ म पाटनका देवस्थलतिर अझ भनौँ देवतुल्य बनेका वाङ्मय शताब्दी पुरुषको घरतिर। मंगलबजार कटेपछि एकाएक फरक संसारको अनुभूतिले सर्सरायो मन। बाँच्नुको मजासँग गम्केको मनलाई मैले खुसुक्क भनेँ, बाँचे त हो सबै, हेर त कति मजा छ बाँच्नुसँग!

सप्ताहान्तको बिहान, दिनभरि गर्ने कामको सूचीमा थपियो शताब्दी पुरुषलाई भेट्ने पनि। मेरो मनले पटक पटक अह्रायो, “जा न उनको घर हेर्न! उनको सरल जीवन शैलीलाई बुझ्न अझ नजिक जा! उनी शताब्दीदेखि बाँचेको दैनिक जीवन बिताउने ठाउँमा जा!” कुनै पनि विषय र वस्तु प्राप्त हुने बेलासम्म त्यसको महत्त्व उति बुझिन्नँ तर जब त्यो अप्राप्य हुन्छ त्यसका बारेमा अनेक किम्बन्दन्ती बन्न थाल्छन्। मैले मेरो रोजाइलाई कल्पनाको कथामा परिणत हुनबाट जोगाउन चाहेँ।

टाढा पनि त हैन! विदेशतिर प्रसिद्ध लेखकका घरहरू सङ्ग्रहालय बनाएर राखिएका छन्, मान्छेहरू कति खर्च गरेर घुम्न जान्छन्, आफ्नै घरबाट २/३ किलोमिटरको दूरीमा शदीयता नेपाली जीवनको सरल पर्याय बनेर बाँचिरहेका व्यक्तिको घर जान मैले किन ढिलो गरेँ होला ? कतिपय प्रश्नका उत्तर नहुने रहेछन् जीवनमा!

सरलता छ उनीसँग! जीवन छ उनीसँग! शताब्दी मान्छे हुन् उनी! यति लामो जीवनसँग कति छन् कति कथाहरू तर म हेर्न चाहन्छु उनीसँगै जोडिएको उनको जीवनको वाङ्मयलाई। समयसँगै जोडिएका उनको जीवनको गतिशीलताका चित्रहरूलाई। तर स्मृतिका दृश्यहरू नजरका पर्दामा घरि घरि उदाइरहँदा उनी सधैँ उस्तै लाग्छन्। कुनै बदलाव नभएका, उस्तै… उस्तै… जसरी हेर्दा पनि उस्तै… सायद सरलता, भद्रता, शालीनताभन्दा परको शब्द खोजिरहेछु म तर भेटिरहेकी छैन! चेतनामा उनी परिवर्तनशील समयका जिउँदो बिम्ब भन्ने कुरा उनका कृति र बारम्बार सुनिरहने वाणीहरूबाट प्रस्ट छु। मानव सभ्यताको मानवतावादी अग्रगमन स्वस्थ चिन्तनकै जरोमा उभिएको हो। उनको सधैँ लगाइरहने खैरो टोपीमा जति सादगीपन देखिन्छ उति नै वैचारिक उच्चताको सौम्यता चुलिरहेको देख्छु! सधैँ उस्तै परिधानमा हुन्छन् उनी दौरा शुरूवाल र टोपी अनि सामान्य खालको जुत्ता! उनी किन यति सरल छन् ? सार्वजनिक कार्यक्रमहरूमा देखिँदा उनी अरू लुगा किन लगाउँदैनन् ? मनमा धेरै पटक उब्जेको प्रश्न हो यो तर सोध्नुको कुनै तुक देख्दिनँ म। उनी जे छन् छन्! किन र के कारणले भन्ने प्रश्न गर्ने हाम्रो तुच्छ जिज्ञासाभन्दा धेरै माथि। एउटा जीवन जसरी बाँच्दै आएको हुन्छ त्यसरी नै त्यसको परिचय र पहिचान बन्छ। यस्तो किन भएन र त्यस्तो किन भएन भनी खोतल्नु आफ्नै अज्ञानताको अनावश्यक पर्गेल्याइँ हो जस्तो लाग्छ। कसैको व्यक्तित्व कसरी निर्मित हुन्छ, एउटा जीवन बन्न समाज र परिवारको कति लगानी हुन्छ त्यो धेरै परको कुरा तर व्यक्तिले आफूलाई समाजमा कसरी आफ्नो परिचय कायम राख्छ त्यो बढी महत्त्वको कुरा हुने रहेछ जीवनको शताब्दी क्षणमा! अनि अझ बढी महत्त्वको कुरा, परिचय बाह्य आवरणले होइन चेतना र जीवन शैलीले निर्माण गर्छ। समाजमा केही गर्छु भन्नेहरू, समाजलाई परिवर्तन गर्न चाहनेहरू आफैँबाट शुरू हुन्छन् सादा जीवन र उच्च विचार लिएर! उनै वाङ्मय शताब्दी पुरुषझैँ!

प्रविधिले दिएको सुविधा, फोनबाट समय मागेँ, अनुमति पाएँ। आफैँले दिएको समय थियो बिहान ९:३० बजेको। पुग्दा पुग्दै उनैको सानो घरको पिँढीमाथिको भित्तामा झुण्डिएको घडीले बोलेको थियो ९:५० बजेको समय! मैले आदरपूर्वक नमस्कार चढाएँ उनकी जीवनसङ्गिनीलाई। जानकारी पाएँ, भान्सातिर हुनुहुन्छ। कुनै खैलाबैला नगरी हेरिरहेँ घरको शान्त परिवेश! आनन्दले पिइरहेँ शान्त दृश्यलाई र क्यामरामा जोगाएँ केही वस्तुहरू! उहू! म स्याङ्जा पो पुगेँ कि क्या हो, उस्तै पिँढी, सानो पालीलाई अड्याइएका उस्तै चारपाटे काठका थामहरू। थुचुक्क बसेँ पिढीँमा। गाउँमा आफू हुर्केको घरको गज्जबको झझल्को मेटियो। अति सामान्य र प्राकृतिक बसाइ। ललितपुर महानगरपालिकाको मुटुमा रहेको पाटन दरबारस्क्वायरको नजिक बखुँबहालमा यति ग्रामीण प्राकृतिकता होला भनी कसरी कल्पना गर्नु र मैले ? सोध्दै सोध्दै जाँदा भेटेकी थिएँ एउटा सामान्य शिव मन्दिरको अगाडि ठडिएका केही खुट्किला सिँढीहरू। अन्तिम सिँढीमाथि ठडिएको मूल दैलो र त्यसको किनारामा टाँसिएका अनेक कलाहरूले बोलिरहेका थिए यो घर जङ्को गरेका मानिसको बासस्थान हो। भित्र छिर्दै गर्दा इतिहासको पानामा पढेका काठमाडौँका घर र बस्तीका स्वरूपसँग साक्षात्कार भएको लागेको थियो। त्यही दैलोसँगै रहेको ठुलो घर दुई वर्ष अघिको भूकम्पको चोटमा मौन रहेछ तर नजिकै टुसुक्क बसेको एकतले घर जसले १९९० सालको भूकम्प पनि पचाएको थियो, त्यसैले साथ दिएको रहेछ बासका लागि।

“ए आइपुग्नु भयो ?”, उनी असिनपसिन हुँदै घरअगाडिको पर्खालतिरको बारीबाट पो निस्किए फुत्त!

अभिवादनसँगै भनेँ, “मैले खाना खाँदै हुनुहोला भन्ने सोचेकी! केही अबेर भएँ, हजुर जस्तो समयलाई पछ्याउन सक्ने भइएन।” जहाँ पनि समयमा पुग्ने उनलाई मैले आफ्नो साधनको निर्भरता र बाटोको जाम सम्झाउनु बेकार थियो तर पनि भनिहालेँ।

“हामी त ढिलो खान्छौँ, अहिले यसो त्यता सफा गर्दै थिएँ, फोहोर थुप्रिएको रहेछ” उनले घर पछाडिको ठाउँमा आँखाले सङ्केत गरे। हातभरि लागेको फोहोर पखालेर आँगनमा राखिएको सोफामा बस्न सङ्केत गरे मलाई!

आफ्नो परिचय राखेँ। धेरै पटक मञ्चमा सँगै बसेकी थिएँ, सुन्ने अवसर पाएकी थिएँ। यसरी मेरो जन्मघरजस्तो झल्को दिने उनैको घरको आँगनमा बसेर बोल्ने अवसर पाएकी थिइन। मानिससँग मानिसका आत्मीयताका अनेक आयाम होलान् तर उनीसँगको यो आत्मीतामा मैले कहिल्यै नदेखेका मेरा हजुरबुबाको बिम्ब घरिघरि मनमा खेलिरह्यो। बाँचिरहेका भए यस्तै हुनुहुन्थ्यो सायद! अग्लो हुनहुन्थ्यो र खाइलाग्दो! भिड्नै परे पनि धेरैलाई लडाउन सक्ने… कहिल्यै नदेखेका हजुरबुबाका बारेमा सुनेका केही शब्दहरू बारम्बार स्मृतिमा आइरहे। उनले आफ्नो लेखनका बारेमा बोले तर किन हो ‘मृत्यु : एक प्रश्न’ र ‘महर्षि याज्ञवल्क्य’ नाटकका बारेमा धेरै कुरा गरिरहे।

मृत्युको कुरा…! मलाई सुन्न मन थिएन। तर उनी यसरी सुनाइरहेका थिए मानौँ मृत्यु केही होइन। उनी उनैको नाटकका नचिकेता हुन् जसले यमराजलाई भेटेर मृत्युको बारेमा बुझेर आएका छन् र आफ्ना अज्ञानी पिता उद्दालकलाई जीवनको पाठ सिकाउँदै छन्। उनी उनै महर्षि याज्ञवल्क्य हुन् जो अति विद्वान् भएर पनि आफ्नो समय र समाजले उनलाई चिन्दैन।

“तपाईंलाई थाहा छ? म त नाटक लेखेर हत्यारा भएँ”, महर्षि जनकको भूमिकामा नाटक खेल्दाखेल्दै राष्ट्रिय नाचघरको मञ्चमा नै मृत्यु वरण गर्न पुगेका विष्णुभक्त फुँयाललाई सम्झिए उनले। “तर त्यो उनको इच्छा मृत्यु थियो, म श्रद्धाञ्जली दिन जान पनि सकिनँ, उनले राजा जनकको जीवनलाई राम्ररी महसूस गरे अभिनयमा नै अनि उनको त्यो अवस्था भयो”, सत्यमोहनले बुझेका थिए ‘महर्षि याज्ञवल्क्य’ नाटक लेखिरहँदा जनक पात्रको निर्माणमा जीवनको मुक्तिको अर्थ, जीवनको अन्तिम सत्यको मूल अर्थ!

उनी बोलिरहे, मैले सुनिरहेँ। उनको बोलीमा एकरूपता थियो। कतै उतार चढाव अनि विस्मृति नभएको एउटा शान्त नदीको बहाव जस्तो! एउटा सुन्दर झरनाको सुललित प्रवाहजस्तो। मेरो गाउँ नजिकैको ठाडो खोल्सोमा कुलुलुलु बगिररहने सङ्लो पानी हुन् उनी, जसलाई धेरैले आफ्नो विचारखेतमा पट्याउन सक्छन्। जतिले बाँध बाँधे पनि उनी उसैगरी बगिदिन सक्छन् आफ्नै जीवनशैलीको बहाबमा! सधैँ उसैगरी बोल्न सक्छन् उनी। उनको त्यो विशेषता उस्तै थियो जस्तो मैले अघि अघि सभाहरूमा सुन्ने गरेकी थिएँ। कसैप्रतिको घोचपेच छैन, कसैप्रतिको रिसराग र आरोपप्रत्यारोप छैन। हो, मान्छे यसरी पनि बाँच्न सक्छ आरोप र आक्षेपलाई टाढा राखेर। मात्र आफूमा रहेको ज्ञानको चेतना बाँड्नु छ उसलाई। चोट होइन मात्र मायालु स्मृतिको गंगा छ उनीसँग!

“मायारानीलाई मायारानीलाई… ए लैजाने त… आँधीखोले बाटो मायारानीलाई” मैले जन्मथलो स्याङ्जाको कुरा गर्दा उनले एकाएक सुनाए आँधीखोलासँग गाँसिएको उनको मायालु सम्झना अनि मायारानी भाकाको यो गीत। गीत गाइरहँदा उनको आँखामा चम्किएको एक टकको ज्योतिले मेरो भित्रैसम्म छोयो। लागिरह्यो, उनका ‘मजिपालाखे’, ‘सुनकेशरी’ र ‘चारुमती’ पनि मसँगै मग्न भएर गीत सुन्दै थिए।

एउटा शान्त दियो जाज्वल्यमान बलिरहेछ ‘दैलाको बत्ती’ बनेर। जीवनको उज्यालो पचास पचास प्रतिशत बाँडिरहेछ भित्र र बाहिर! ऊ गृहस्थमा पनि छ, ऊ सामाजिक ज्ञानको चेतनामा वानप्रस्थ पनि बनेको छ। जस्तो मैले पहिले पहिले देखेकी थिएँ, जस्तो मैले भेटेकी थिएँ, जस्तो मैले सुनेकी थिएँ, उनी उस्तै थिए। सायद त्योभन्दा पनि सरल! नेपाली जीवनमा शताब्दीदेखि बलिरहेका दैलाको बत्ती नेपाली समाजका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी! नेपाली संस्कृतिका जिउँदा धरोहर यी सत्यमोहनलाई शताब्दी पुरुषको पगरी गुताउन सपना देख्ने नइलाई पक्कै पनि युग युगसम्म वाङ्मय साधकका रूपमा नेपाली साहित्यले चिन्नेछ। सायद राष्ट्र भनेकै जनताको सपना साकार पार्ने अभिभावक हो, त्यसैले त नइको ‘शताब्दी पुरुष’को सपनालाई नेपाल सरकारले ‘वाङ्मय शताब्दी पुरुष’का रूपमा सदर गरिदियो। नेपाली वाङ्मयमा यस्तै कर्मशीलहरूको सदरको क्रम बनिरहोस् हर स्वप्नशीलहरूलाई जीवन्त बनाइदिने, अनि नेपाल राष्ट्रले जनताको हर सपनालाई उसैगरी मूर्तस्वरूपमा ढालिदेओस्! नयाँ नेपालका सत्यमोहनहरू आफ्नै कर्मका प्रिय दर्शनमा शताब्दी शताब्दी बाँचिरहने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved