व्यक्तिवृत्त

वम अर्थात् धरानको अनवरत साक्षी

प्रकाशकहरू उदासीन रहे पनि उनी भने लेखिरहेका छन् निरन्तर। आफूभित्र उमठिएका भावनालाई शब्दमार्फत पोख्न कुनै साइत जुराइरहेका छैनन्।

वम अर्थात् धरानको अनवरत साक्षी

धरान। महाभारतको पुछार र भाबरको काछैमा उभिएको रमणीय शहर। त्यही शहरको सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिलगायत स्पन्दनहरूका साक्षी बस्दै आएका छन्, कवि वम देवान। एक-डेढ दशकयता मात्र होइन, पूरै साढे पाँच दशकदेखि नै। उनले धरानमा स्थायी रूपमा जह्रा-किला गाडेर बस्न थाल्दा ‘शहर’ को कुनै आभास मिल्दैनथ्यो, कुनै झल्को दिँदैनथ्यो। कुनै देहातजस्तो लाग्थ्यो। पछिल्ला समय बदलिए धेरै-धेरै नै।

पञ्चायतको अन्तिम नगर पञ्चायतको निर्वाचनमा धरानको प्रधानपञ्चमा चुनिएका उनलाई राजनीतिको ‘नशा’ नलाग्ने कुरै भएन। सद्यः सार्वजनिक चुनावी परिणामअनुरूप धरानले स्वतन्त्र मेयर पायो। विजयको आश गरेका राजनीतिक दलका उम्मेदवारहरूलाई पाखा लगाएर विगतदेखि स्थानीय समस्याप्रति लविइङका साथै ‘विद्रोह’ गर्दै आएका हर्क साम्पाङले बाजी मारे, यस पटक। कुनै बेला आफैँले हाँकेको धरानमा यति बेला एक जना स्वतन्त्र अनुहार उदाउँदा बदलिँदो परिस्थितिलाई आफ्नै हिसाबले नियालिरहेका छन्, देवान।

धराने जनताले एक स्वतन्त्र उम्मेदवारलाई विजयको माला पहिराइदिएकाप्रति उनको टिप्पणी छ, “अहिलेको चुनावी माहोलबाट के देखियो भने पहिलेको विद्रोह राज्यसत्ताविरुद्ध हुन्थ्यो, यसपालिको विद्रोह भने पार्टी, नेता र सिद्धान्तप्रति देखियो। एक किसिमले जनतामा नेताहरूले कबुल गरेका कुरा पूरा गर्छन् भन्ने जुन आश थियो, त्यसबाट बिस्तारै निराश हुँदै गएको प्रमाण अहिलेको चुनावी नतिजाबाट देखिएको छ।”

“अब एक पटक फेरि नयाँ ढंगले विश्लेषण गर्नुपर्ने हो कि जस्तो देखिएको छ”, भन्छन् देवान, “हामीमा समाजलाई हेर्ने र बुझ्ने जुन दृष्टिकोण थियो, अब त्यो पुरानो हुँदै गएजस्तो लाग्छ। जनसंख्या बढेको छ, मानिसका आवश्यकता र इच्छाहरू पनि बढेका छन्। जनसपनालाई पूरा गर्ने पुरानो विश्लेषण अब काम नलाग्ने देखिँदै गएको छ। अब पुरानै ढर्राले सोचेर हुँदैन हामीले।”

सबैले रुचाएर ‘प्रधानपञ्च’

७३ वर्षअघि संखुवासभामा जन्मिएका देवान सानो छँदा हुर्किए, इलामको सुन्दर परिवेशबीच। बुबा इलाममा जागिरे भएका हुँदा उतै गए र बसे, सपरिवार नै। पछि बुबाको सरुवा सुनसरीमा भएपछि ढुक्कैले बस्न थाले, धरानमा। धरानलाई नै बनाए- आफ्नो सामाजिक, राजनीतिक र साहित्यिक बिउ हुर्काउने र गोडमेल गर्ने थलो। त्यहीको माटोबाट उनले वैचारिक/सांस्कृतिक ‘हार्भेस्ट’ बटुल्दै गए।

२०२४ सालयता धरानमा पैताला गाडेर आएका उनी प्रगतिशील साहित्य/सांस्कृतिक आन्दोलनमा लागे, बुझ्ने उमेर भएदेखि। राजनीतिमा पनि चाख बढ्दै थियो, बिस्तारै।

राजनीतिमा प्रवृत्त हुनुमा तात्कालिक समयको प्रभाव नै प्रमुख रह्यो। जनपक्षीय उम्मेदवारका रूपमा उभिएर प्रधानपञ्च बन्नुअघि उनले वामपन्थी राजनीतिमा राम्रै दख्खल राखिसकेका थिए। २०२७/०२८ सालतिर पूर्वी नेपालस्थित झापाको सीमान्त इलाकाहरूमा सल्बलाउन थालेको नक्सलवादी आन्दोलनको प्रभाव र केही गतिविधिका फिलिङ्गो मावा खोला कटेर मोरङ, सुनसरीतिर आउन समय नै लागेन। धरान, धनकुटातिर भने झापालीको भन्दा पनि ‘रातो झन्डा’ समूहको प्रभाव थियो।

‘रातो झण्डा’ मा आबद्ध युवाहरूका रगत रातै थिए, त्यतिबेला। हुन्थे- क्रान्तिका कुरा, समाज परिवर्तनका कुरा।

“छिन्ताङमा भएको घटना हाम्रै नेतृत्वमा भएको थियो। त्यतिखेर हामी उग्र नै थियौँ। सामन्ती र ठालुहरूविरुद्ध हामी उभिएका थियौँ। हामी नक्सलवादीहरूसँग पनि नजिक थियौँ”, विगतको ‘क्रान्तिको डायरी’ पल्टाउन रुचाउँछन् उनी। वर्तमानलाई पनि भुल्न चाहँदैनन्, “हिजोको स्थितिलाई नै कायम राखेर इतिहास आजको विन्दुसम्म आइपुगेजस्तो लाग्छ। हिजो कसले के गल्ती गरे, कसले के गुमाए, त्यसलाई हेरेर अब हामी नयाँ हिसाबले अघि बढ्नुपर्छ, हामीले त्यही अनुरूप कलम चलाउनुपर्छ।”

पञ्चायतको बेला धराने जनता जहिल्यै ‘प्रतिपक्ष’। २०४३ सालमा नगर र गाउँ पञ्चायतको चुनाव नजिकिँदै थियो। पञ्चायतको आखिरी समयताका वामपन्थी शक्तिले पञ्चायती चुनावलाई उपयोग गर्ने नीति लियो र ठाउँ-ठाउँमा ‘जनपक्षीय’ नाममा आफ्ना नेता-कार्यकर्तालाई उठाइयो पनि। धरानको हरेक क्षेत्रमा भिजेका देवानलाई उभ्याइयो, जनपक्षीय उम्मेदवारका रूपमा।

भन्छन्, “जनपक्षीय उम्मेदवारका रूपमा उठेपछि मलाई सम्पूर्ण वामपन्थीहरूले सहयोग गरे र मैले चुनाव जितेँ। तर २०४६ सालमा जनआन्दोलन सफल भएर पञ्चायत ढलेपछि मेरो पनि कार्यकाल सकियो।”

त्यसयता धरानमा वामपन्थीहरू एक ढिका नै रहिरहे। बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछिका हरेकजसो निर्वाचनमा वामपन्थीहरूले नै बाजी मार्दै आए। भन्छन्, “अब त्यो स्थिति रहेन। संगठनलाई छिन्नभिन्न तुल्याउने काम भयो। संगठनलाई यति कमजोर बनाइदिए कि, अब एउटा-एउटा नेता र व्यक्तिको वर्चस्व बढ्न थाल्यो। अर्काको काँधमा चढेर भिक्षा माग्ने भिखारीमा परिणत तुल्याइदिए हामीलाई।”

नेतृत्वप्रति जनतामा वितृष्णा झाँगिदै गएको उनको बुझाइ छ, “नेताहरूकै कारण सिद्धान्त र पार्टीलाई दोष दिन थालिएको छ। नेताहरूको अकमण्र्यताले गर्दा जनतामा पार्टी र सिद्धान्त भन्ने बित्तिकै नकारात्मक धारणा बन्न थालेको छ र भन्न थालेका छन्- यो सिद्धान्त र नीतिले केही नगर्दो रहेछ, काम गर्नसक्ने र भिजन भएका राम्रा मान्छे छान्नुपर्दो रहेछ।”

दुई भट्टको प्रभाव

कविता, गीत र मुक्तक लेखनमै केन्द्रित तुल्याउँदै आए उनले आफूलाई। बीसको दशकदेखि नै। तर आफूले आफैँलाई मूल्यांकनको तराजुमा जोख्दाखेरी यसो भन्छन् देवान, “म कुनै ठुलो साहित्यकार होइन, दुई चारवटा कविता मात्र लेखेको छु।”

उनको साहित्य-यात्राको शुरूवाती चरण मार्क्सवादी सौन्दर्यशास्त्रको प्रभाव स्वीकार्दै अघि बढ्यो। २०२०/०२२ सालतिर कविता/गीत लेख्न थाल्दा उनले दुई भट्ट-विद्वानसँग संगत गर्ने मौका पाए- गोविन्द भट्ट र आनन्ददेव भट्ट। मार्क्सवादी सौन्दर्यशास्त्र, दर्शनशास्त्रका बहुश्रुत विद्वान् गोविन्द भट्टको ससुराली थियो, विजयपुर डाँडामा। ससुराली आउँदा भट्टसँग उनको भेट हुन्थ्यो र चल्थ्यो साहित्यसम्बन्धी लामा बहस। भट्टको विद्वताबाट प्रभावित उनले आनन्ददेव भट्टबाट पनि गतिलै प्रशिक्षण पाए। आनन्ददेव धरानमै प्राध्यापन गर्थे र मार्क्सवादी साहित्यसम्बन्धी व्याख्यान दिन्थे।

धरानमा पाइला टेक्नुअघि उनी प्रगतिशील साहित्य लेखनबाट पृथक थिए। भन्छन्, “मैले शुरूमा लेखेका कविता वा गीत दिशाबद्ध थिएनन्, भावनात्मक कुराहरू मात्रै बढी आउँथे। फूल, नदी, नाला, आकाश र बादलको कविता लेख्थेँ।”

धरान आएपछि नै हो, भट्टद्वयको संगत पाएको। भन्छन्, “उहाँहरूले नै हामीलाई साहित्यमा दिशाबोध गराइदिनुभयो। उहाँहरूकै प्रेरणाले हामीले साहित्यमा नयाँ बाटो समात्यौं।”

तत्कालीन समयमा धरानलगायत पूर्वको साहित्यिक/सांस्कृतिक माहोल गर्विलो थियो। डीपी अधिकारीजस्ता लेखकहरूका गहन लेखन र प्रेरणाको छाया पनि देवानलगायत सर्जकहरूमा पर्दै गयो। त्यतिबेला वीरकृष्ण, इन्द्र थापा, छविलाल लम्साल, रामप्रसाद खनाललगायत वैचारिक फाँटमा क्रियाशील थिए।

बीसको प्रारम्भिक दशकतिर मञ्जुल पनि धरानमै सक्रिय थिए- साहित्य/सांस्कृतिक क्षेत्रमा। मञ्जुललगायत प्रगतिशील स्रष्टाहरूका कारण तत्कालीन समय धरानको साहित्य-सांस्कृतिक फाँट उर्वर थियो। गोविन्द विकल, जेवी टुहुरेले पनि साहित्य-सांस्कृतिक माहोललाई उचाल्न उत्तिकै भूमिका खेलिरहेका थिए। भन्छन्, “त्यो समय प्रगतिशील साहित्यले धेरै फड्को मारेको थियो।”

“प्रगतिशील साहित्यमा गुणात्मकताका हिसाबले ह्रास आएको छ।” जीवनभर प्रगतिशील साहित्यलाई पछ्याएका देवानको यस्तो विश्लेषण छ अचेल। भन्छन्, “धेरै गहन अध्ययन, चिन्तन गर्ने, नयाँ वस्तुस्थितिको विश्लेषण गरेर नयाँ हिसाबले अघि बढ्ने कार्य अचेल हुँदैनन् हामीकहाँ। एउटा शहर (धरान) त छ तर यो शहरमा पहिलाजस्तो आत्मीयता छैन, साथीभाइबीच पहिलाजस्तो भावनात्मक लगाव र सम्बन्ध पनि छैन।”

त्यसो त राजनीतिक दल र तिनका नेतृत्वपंक्तिप्रति उनको तिखो असन्तुष्टि पनि छ। भन्छन्, “हामीलाई अर्काको काँधमा चढेर भिक्षा माग्ने बनाए। साहित्यमा पनि त्यसकै प्रतिच्छाया देखिएको छ।”

सम्झेर समकालीन

आफ्ना धेरै समकालीनलाई भौतिक रूपमा ‘बिदा’ गरिसकेका छन्, उनले। कुनै बेला धरानको साहित्यिक पर्यावरणलाई चहकिलो तुल्याउने गोविन्द विकल छैनन्। वेणु आचार्य छैनन्। न त छन्- मानबहादुर शाक्य, लीला सुब्बा, वीरकृष्ण नै। भन्छन्, “मेरा पुस्ताका अधिकांश साथी बिदाबारी भइसकेका छन्।”

समकालीनमध्येकै कुन्ता शर्माले लेखिरहेकी छन् अचेल पनि। तर साहित्यिक जमघटमा त्यतिसारो उपस्थिति जनाउँदिनन्, शर्माले। भन्छन्, “कुन्ता दिदी उमेरको कारणले गर्दा पनि त्यति हिँड्नुहुन्न।”

समकालीन गोपाल भण्डारी र गोविन्द तिमल्सिनासँग उनको भेट भइरहन्छ। नयाँ पुस्ताका सर्जकहरूसँग कहिलेकाहीं भेट हुन्छ, उनको। महिना-दुई महिनामा साहित्य गोष्ठी हुँदा भेटको अवसर जुर्दै आएको छ। पूर्वका प्रतिभाहरूले अरू विधामा राम्रो उपस्थिति जनाए पनि कविता फाँटमा भने शून्यता छाएको महसुस गर्छन् उनी। भन्छन्, “कविता फाँटलाई नेतृत्व दिनसक्ने खालका नयाँ पुस्ताका प्रतिभा अहिलेसम्म आइसकेका छैनन्।”

पूर्ववर्ती पुस्ताबीच आत्मीयता र सौहार्द सम्बन्ध नभएकोमा पनि गुनासो छ उनको। ‘त्यस्तो भावना र प्रवृत्ति नयाँ पुस्तामा पनि सरेको छ।’ भन्छन् उनी।

गीत लेखनमा पनि अग्रसर

वामपन्थी राजनीति र प्रगतिशील सांस्कृतिक आन्दोलनलाई तिखार्न तीस-चालीसको दशकमा गीत-संगीतले खेल्यो, अत्यन्तै प्रभावशाली भूमिका। रामेश-मञ्जुल, जेवी टुहुरे, शम्भु राई, लोचन भट्टराईलगायतले धरानको भूमिलाई रोजेर सांस्कृतिक आन्दोलनलाई गति दिइरहेका थिए। श्याम तमोट, गोविन्द विकलले पनि जनजागरणमुखी गीतहरू लेखिरहेका थिए, प्रशस्तै। अझ, विकलको ‘संघर्ष हो, जीवन, जीवन संघर्ष हो…’ र तमोटको ‘गाउँ गाउँबाट उठ…’ ले त जनपंक्तिलाई सामाजिक तह/तप्कामा उद्वेलित तुल्याउन र भव्य उत्साह प्रवाहित गर्न अतुलनीय भूमिका नै खेले।

यस्ता सांस्कृतिक प्रतिभाहरूको लहर र वातावरणबीच मिसिँदै आएका उनलाई गीत लेखनले पनि आकृष्ट तुल्यायो। देशप्रेमको भावना, जनताप्रतिको जिम्मेवारीबोधलाई स्वीकार्दै लेखे उनले,

‘मेरो देश खोज्दै जाँदा, देश मैले देखेँ
जनता नै देश रै’छ, देश मैले भेटेँ

घर कुरी नानी हेर्ने बुढी बजूलाई
मेलापात, दाउरा घाँस गर्ने जहानलाई
माया गर्नु, देशको माया भन्छु आजदेखि
देशको अर्थ सुनाउँछु, देशकै कथा लेखी…।’

रामेशसँग उठबस त छँदै थियो। रामेशले नै मीठो संगीत भरे, यो गीतको स्थायी र अन्तराको गाम्भीयर्तालाई अँगाल्दै। पछि एउटा गीत चर्चित भयो र केही विवादित पनि। विवादितचाहिँ शब्दशिल्पीको नामलाई लिएर। ‘जनताका गीतहरू’ मा समेटिएको त्यो गीत थियो, ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर…।’ जेवी टुहुरेको सुरिलो स्वरमा गुन्जिन थालेपछि गीतले निकै प्रसिद्धि बटुल्यो। घन्किन थाल्यो, जनजनबीच। त्यो गीतको रचनाकारको नाम थियो- ‘अज्ञात’।

को अज्ञात ? गीतले चर्चाको चुली टेकेपछि एकदेव ज्ञवालीले त्यो गीत आफूले लेखेको दाबी गरे। वामपन्थी सांस्कृतिक वृत्तमा लामै समय बहस चल्यो, फैसला चाहिँ एकदेवकै पक्षमा भयो। तर त्यो गीत लेखनमा देवानको पनि वैचारिक शिल्प पोखिएको थियो। भन्छन्, “त्यो गीत एकदेवजी र हामी मिलेर लेखेका हौं। जुन गीतले सामन्ती राज्यव्यवस्थाप्रति तिखो प्रहार गरेको थियो।”

अर्को एउटा गीत पनि चर्चित भयो-

‘हजार वर्ष बितेर गयो, घाम अझै लागेन
तुसारोमाथि ठिहीले खायो गुराँस फुलेन
फूलहरू फुल्ने फूलको बोटमा लासहरू झुल्दछन्
देखिन्छ रातो खोलाको छाती रगत बग्दछन्…।’

एउटा इतिहास कहेको छ, यो गीतले। २०३६ सालको जनमतसंग्रहताका धनकुटाको खोकु, छिन्ताङमा तत्कालीन व्यवस्थाका हर्ताकर्ताहरूले भयावह नरसंहार रचे। दर्जनौं निर्दोषका रगत वनजंगल र अरूण नदीभरि बगे। यही पीडाबोधलाई अँगाल्दै लेखिएको थियो, यो ‘वेदना-व्यथा’।

तत्कालीन समयमा रचिएका र अहिलेका गीतबीच तुलना गर्दै भन्छन्, “त्यतिबेलाका गीतहरूले स्रोताहरूमा सानोतिनो घर गरेको थियो, अचेल भने वैचारिक खालका भन्दा पनि शृंगारिक रसले भरिएका गीतहरूको बाहुल्य रहन थाल्यो।”

धरानप्रति चिन्तनशील

बितेको साढे पाँच दशकदेखि धरानको नसा-नसालाई छाम्दै आएका छन्, देवानले। उनलाई थाहा छ- कुन नसामा रक्तप्रवाह भइरहेको छ र कुनमा छैन ? राजनीति होस्, सामाजिक होस्, साहित्यिक-सांस्कृतिक हरेक क्षेत्र नै किन नहोस्, उनले गहिराइबाटै बुझेका छन्।

पछिल्लो समय भने धरानप्रति उनको चिन्ता बढ्दो छ। भन्छन्, “पहिला धरानसँग जुन युगीन चेतना थियो, अहिले त्यस्तो रहेन। व्यक्तिवाद बढ्दो छ। मनोगत पक्ष हावी हुँदै गएको छ। संगठन, सिद्धान्त भन्ने कुरा ओझेलमा पर्दैछन्। पहिलाजस्तो धरान रहेन अब।”

जुनसुकै किसिमले पनि आफ्नो स्वार्थ पूरा गर्ने, आर्थिक लालचतिर उन्मुख हुने प्रवृत्तिका कारण धरानले अँगाल्दै आएको पूर्ववर्ती मूल्य-मान्यता बिस्तारै क्षयग्रस्त हुँदै गएको देवानको मूल्यांकन छ। भन्छन्, “विदेश गएर हुन्छ कि, मानिसहरूलाई ढाँटछल गरेर हुन्छ, जसरी भए पनि कमाउनुपर्छ भन्ने गलत मान्यता हावी हुँदै गएको छ।”

कोरोनापछि लेखन सुस्त

कोरोना-कालको भयग्रस्त अवस्थामा पनि कतिपय स्रष्टाले सिर्जनशील धरातललाई नाप्न छाडेनन्। तर देवानका निम्ति भने भइदियो उल्टो। भन्छन्, “कोरोना शुरू भएयता मैले कविता नै लेखिनँ र अहिलेसम्म लेखेको छैन।”

कोरोनाले पूर्ववर्ती दिनदेखि चल्दै आएको सामाजिक-सांस्कृतिक वा आर्थिकलगायतका शृंखलालाई भत्काइदिएको उनको बुझाइ छ, “छिमेकी र साथीहरूका बीचमा पनि टाढापनको भावना पलायो। घरमा आए पनि नआइदिए हुन्थ्यो, फोनबाटै कुरा गरे हुन्थ्यो जस्तो बनाइदियो। एकापसमा हुनुपर्ने सौहार्दता, घुलन-मिलनमा पनि ठुलो संकट निम्त्याइदियो।”

कोरोना-कहरले विश्वलाई गाँज्नुअघि भने उनी लेखनमा सक्रिय नै थिए। प्रायः कविता र लेखहरू लेख्दै आएका उनले तिनै विधालाई निरन्तरता दिए। कोरोनाले त उनको लेखन-यात्रालाई दुर्जेय नै तुल्याइदियो। तर हारेका छैनन्, हिम्मत। केही नयाँ योजनामा छन्।

दुई कविताकृति निस्किएका छन्, अहिलेसम्म उनका। २०२९ सालमै प्रकाशित ‘हाम्रो गीत, हाम्रो आवाज’ पछि प्रकाशनमा निकै लामो शून्यताको रजगज चल्यो । २०७३ तिर आएर बल्ल निस्कियो, ‘आगोको खेती’। ‘हेलिहाङको सेपाङ’ नामक कविताकृतिको पाण्डुलिपी एकजना शुभेच्छुकले प्रकाशन गर्ने हेतुले लिएर गएका छन्। त्यो काव्यकृति चाँडै आउने प्रतिक्षामा छन् उनी।

“एउटा-दुइटा कविताकृतिको पाण्डुलिपी तयार पारेको छु। तर अहिलेको विश्व परिस्थिति हेर्दा मेरा कविता सान्दर्भिक हुन्छ कि, हुँदैन, हेर्दै छु”, भन्छन् उनी। उनलाई दुःखेसो त प्रकाशकहरूसँग पनि छ। भन्छन्, “कवितासंग्रह निकाल्न खोजिरहेको छु तर हाम्रा प्रकाशकहरूले कविता प्रकाशन गर्न नरुचाउँदा रहेछन्।”

प्रकाशकहरू उदासीन रहे पनि उनी भने लेखिरहेका छन् निरन्तर। आफूभित्र उमठिएका भावनालाई शब्दमार्फत पोख्न कुनै साइत जुराइरहेका छैनन्।

अतः तीन दशकअघि नै प्रकाशित उनका यी हरफलाई सलाम गर्दै भन्न सकिन्छ- “उनको लेखनले अझै गति समाते हुन्थ्यो।”

‘हरेक साँझ साँझसँग जिस्किँदै
जूनजस्तो उदाउन पाए हुन्थ्यो
हरेक बिहान बिहानसित जिस्किँदै
घामजस्तो उदाउन पाए हुन्थ्यो
चाहना पनि केके भएको
यो अनुभूतियुक्त जिन्दगीमा
हरेक तारामाथि चढेर
तारालाई घोडा जस्तै कुदाउन पाए हुन्थ्यो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved