नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

नेपालभ्युज

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित
फाइल तस्वीर

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए।

नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।

सांसदहरु डा. बेदुराम भुसाल, शेखरकुमार सिंह, डा. विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र भगवती न्यौपानेले स्पष्टीकरण माग गरेका थिए। स्पष्टीकरण मागपछि जवाफ दिने क्रममा कानूनमन्त्री कोइरालाले सबै जिज्ञासा स्वाभाविक भएको बताउँदै जडीबुटी उत्पादन र प्रशोधनलाई सरकारले प्राथमिकतामा राखेको र आउँदो बजेटमा त्यसलाई समेटिने विश्वास दिलाए।

मन्त्री कोइरालाले पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने कुरा अन्तर्राष्ट्रिय बजारले प्रभावित पार्ने हुँदा त्यसमा सरकारको खासै नियन्त्रण नरहने स्पष्ट पारे। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा भने सर्वोच्च अदालतले बिहीबार गरेको फैसलाको अझैसम्म पूर्ण पाठ प्राप्त भइनसकेकाले थप कुरा भन्न नसक्ने स्पष्ट पारे।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न राष्ट्रियसभामा बिहीबार र शुक्रबारका लागि दिन तोकिएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ १५ गते दिउँसो ३ बजे बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved