ओलीको टिप्पणी ‘स्तरहीन’ भनेपछि ससंद्मा एमाले सांसदको विरोध

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयल निगम सम्बन्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी ‘स्तरहीन’ भनेपछि संसदमा सांसदहरूले विरोध गरेका छन्।

नेपालभ्युज

ओलीको टिप्पणी ‘स्तरहीन’ भनेपछि ससंद्मा एमाले सांसदको विरोध
फाइल तस्वीर

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आयल निगम सम्बन्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी ‘स्तरहीन’ भनेपछि संसदमा सांसदहरूले विरोध गरेका छन्।

बिहीबारको संसदमा नीति तथा कार्यक्रमको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाल आयल निगमलाई सरकारले निजीकरण गर्न लागेको टिप्पणी गरेका थिए। ओलीको उक्त टिप्पणी ‘स्तरहीन’ भनेपछि एमालेका सांसदले विरोध गरेका हुन्।

बडूले बोलिरहेकै बेला एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै उनको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए। एमाले प्रमुख सचेतक विशाल भट्टराईले बडूले बोलेको शब्द रेकर्डबाट हटाउन संसदमा आग्रह गरे। सभामुख सापकोटाले रेकर्ड हेरेर आवश्यक प्रक्रिया पुरा गर्ने बताए। तर सांसदले अवरोध कायमै राखेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको
छ।

शुक्रबार संसदमा सम्बोधनका क्रममा मन्त्री बडूले ओलीको अभिव्यक्ति आधारहीन, भ्रामक एवम् अराजक राजनीतिक पूर्वाग्रहपूर्ण टिप्पणी स्तरहीन र खेदजनक रहेको बताएका थिए। उनले आरोप पुष्टि गर्न ओलीलाई चुनौती समेत दिएका छन्। उनले भने, ‘‘सम्मानित सदनको रोष्टम प्रयोग गरेर जनतालाई आधारहिन र झुटा सन्देशहरू सम्प्रेषण गर्ने प्रतिपक्षी दलका नेतालाई म आरोप पुष्टि गर्न चुनौती दिन्छु।’’

आयल निगमलाई निजीकरण नभई व्यवस्थापकीय रूपमा सुधार गरी चुस्त, दुरुस्त राख्दै प्रतिस्पर्धी बनाउने विषयमा अध्ययन भइरहेको उनले बताए। पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज र प्रतिस्पर्धी बनाउन आयल निगमका साथै निजी क्षेत्रलाई समेत आपूर्तिमा सहभागी बनाउने विषयमा पनि आवश्यक सुझाव पेस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल गठन गरिएको उनले जानकारी दिए।

आयल निगमको विकल्प खोज्न थालेको वा निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार सुम्पन लागेको भन्ने कुरामा कुनै सत्यता नभएको उनले स्पष्ट पारे। आयल निगमको भविष्य र पेट्रोलियम पदार्थको सहज आपूर्ति र दिगो व्यवस्थापनका बारेमा सरकार सचेत रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved