३२ वर्षीय बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित

स्थापित तेस्रो, उपमेयरमा एमालेकी सुनिता भारी मतले विजयी

नेपालभ्युज

३२ वर्षीय बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित

काठमाडौं । देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन्।

आजबाट काठमाडौंका सबै (३२) ओटै वडाको मतगणना सकिएपछि उनी निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ। ‘लौरो’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका बालेनले शुरुआती अवस्थादेखि नै अग्रता बनाइराखेका थिए।

उनको अग्रतालाई कुनै पनि दल तथा उम्मेदवारले एक पटक पनि उछिन्न सकेनन्। बालेनले ६१ हजार ६७६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३ सय ४१ मत पाइन्। त्यस्तै नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाए।

र्‍यापर तथा इन्जिनियर बालेनले सिंहभन्दा २३ हजार ४ सय २४ मत बढी ल्याए। स्थापितले भने सिंहभन्दा २२४ कम मत पाए। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७ सय ७० मत ल्याए। उनी ‘आँखीझ्याल’ चुनाव चिह्नबाट उम्मेदवार बनेका थिए।

काठमाडौं महानगरपालिको उपमेयर नेकपा एमालेले जितेको छ। एमालेकी सुनिता डंगोलले सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गरिन्। सुनिताले ६८ हजार ६१२ मत पाइन् भने श्रेष्ठले २३ हजार ८०६ मत पाए।

काठमाडौं महानगरपालिकामा १ लाख ९२ हजारभन्दा बढी मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved