गाडी नचढ्ने मेयर साम्पाङको घोषणा, भन्छन्– ‘करोडको गाडी चढेर जनताको समस्या देखिँदैन’

“म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्किएका सडक देखिँदैनन्,” मेयर हर्क साम्पाङले भने, “त्यसैले म सडकमै हिँड्न चाहन्छु। भत्किएका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु।”

नेपालभ्युज

गाडी नचढ्ने मेयर साम्पाङको घोषणा, भन्छन्– ‘करोडको गाडी चढेर जनताको समस्या देखिँदैन’

धरान। धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले करोडको गाडी चढेर जनताको समस्या नदेखिने बताएका छन्। उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए।

“म करोडौँ पर्ने गाडी चढेर हिँडेँ भने बाटोका खाल्डा र भत्किएका सडक देखिँदैनन्,” मेयर साम्पाङले भने, “त्यसैले म सडकमै हिँड्न चाहन्छु। भत्किएका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु।”

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर समेत सार्वजनिक गरेका छन्। उनले पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएमा आफूलाई खबर गर्न समेत आग्रह गरेका छन्।

उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को स्कोर्पियो तयारी अवस्थामा राखेकाे छ। उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए। “हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो”, अधिकृत खतिवडाले भने।

मंगलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन्। आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने मेयर साम्पाङले बताएका छन्।

लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए। मंगलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन्। खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनकाे भनाइ छ।

राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरिसकेका छन्। कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन्।

कार्यदलले धरानको कर वैज्ञानिक भए/नभएको, आयस्रोतको पहिचान गर्ने र दररेट निर्धारणका लागि अध्ययन गरी सुझाव दिइने प्रमुख राईले जानकारी दिए। सर्वदलीय सहभागितामा धरानको विकासमा मिलेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved