गुजरातसँग फाइनल खेल्नका लागि लखनउ र बैंगलोर आज भिड्दै

हारपछि पनि राजस्थानको फाइनल पुग्ने सम्भावना भने सकिएको छैन। अब आज (बुधबार) राति हुने एलिमिनेटरको विजेतासँग राजस्थानले दोस्रो क्वालिफएरमा प्रतिस्पर्धा गर्नेछ।

नेपालभ्युज

गुजरातसँग फाइनल खेल्नका लागि लखनउ र बैंगलोर आज भिड्दै

काठमाडौं। नवप्रवेशी क्लब गुजरात टाइटन्स् इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेलेको पहिलो वर्षमा नै फाइनलको यात्रा तय गर्न सफल भएको छ।

गएराति भएको पहिलो क्वालिफायर खेलमा राजस्थान रोयल्स्लाई सात विकेटले हराउँदै गुजरातले फाइनलमा स्थान सुरक्षित गरेको हो।

राजस्थानले दिएको १८९ रनको विशाल लक्ष्य गुजरातले अन्तिम तीन बल खेल्नुअगाडि मात्र तीन विकेटको नोक्सानीमा पूरा गर्‍यो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले जस बट्लरको शानदार ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रनको ठूलो स्कोर खडा गरेको थियो।

बटलरले ५६ बलमा १२ चौका र दुई छक्काको सहयोगमा ८९ रनको योगदान दिएका थिए। त्यसैगरी कप्तान सन्जू स्यामसनले ४७ रन जोडे।

जवाफमा ठूलो लक्ष्य पच्छाएको गुजारतले शून्य रनमै पहिलो विकेट गुमायो भने ८५ रन जोड्दा उसको तीन विकेट खसिसकेको थियो। तर, त्यसपछि कप्तान हार्दिक पाण्डेय र डेभिड मिलरले निकै सम्हालिएर ब्याटिङ गर्दै चौथो विकेटको लागि अविजित १०६ रनको शतकीय साझेदारी गरे।

पाण्डेयले ४० रन जोड्दा मिलरले ३८ बलमा ६८ रनको योगदान दिएका थिए। अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता छँदा शुरुआती तीन बलमा मिलरले लगातार तीन छक्का प्रहार गर्दै गुजरातको फाइनल यात्रा पक्का गरेका थिए।

यो हारपछि पनि राजस्थानको फाइनल पुग्ने सम्भावना भने सकिएको छैन। अब आज (बुधबार) राति हुने एलिमिनेटरको विजेतासँग राजस्थानले दोस्रो क्वालिफएरमा प्रतिस्पर्धा गर्नेछ।

एलिमिनेटर खेलमा आज अर्को नवप्रवेशी क्लब लखनउ सुपर जाइन्टस् र रोयल च्यालेन्जर्स बैंगलोरबीच भिडन्त हुँदैछ। यी दुई बीचको विजेता र राजस्थानबीच हुने दोस्रो क्वालिफाएर जित्ने टिम नै फाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved