पहिलो सहभागितामै गुजरात क्वालिफायरमा, राजस्थान भिड्दै

नेपालभ्युज

पहिलो सहभागितामै गुजरात क्वालिफायरमा, राजस्थान भिड्दै

काठमाडौं। इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को पहिलो क्वालिफाएर खेलमा आज (मंलगबार) राति गुजरात टाइटन्स् र राजस्थान रोयल्सबीच खेल हुँदैछ।

लिग चरणका खेल सकिएपछि आजदेखि फाइनल प्रवेशका प्लेअफ चरणका खेलहरू शुरु हुन लागेका हुन्। यो खेल कोलकताको इडन गार्डेनमा नेपाली समयअनुसार साझ ७ः४५ बजे शुरु हुनेछ।

लिगमा अंक तालिकाको शीर्ष दुई स्थानमा पर्न सफल भएको आधारमा यी दुईले पहिलो क्वालिफायर खेल्न पाएका हुन्। यो खेलको विजेताले आईपीएलको फाइनलमा स्थान सुरक्षित गर्नेछ भने हार्ने टिमलाई भने अर्को एक मौका रहन्छ।

खेल हार्ने टिमले लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमबीचको एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा खेल्नेछ।

यसै सिजनबाट आईपीएलमा नयाँ टिमको रुपमा प्रवेश गरेको गुजरातले पहिलो वर्ष नै लिगमा शीर्ष स्थान प्राप्त गर्‍यो। भारतीय अलराउण्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरातले लिग चरणको १४ मा १० खेल जित्दै सर्वाधिक २० अंक जोडेको थियो। त्यसैगरी १४ मध्ये नौ खेल जित्दै राजस्थानले १८ अंकसहित दोस्रो स्थानमा रहेर लिग चरणको खेल सकेको थियो।

आईपीएलमा प्रवेश गरेको पहिलो वर्षमै उपाधि जित्दै इतिहास रच्ने गुजरातको तयारी छ। यता सन् २००८ को पहिलो संस्करणको उपाधि जितेयता ट्रफी उचाल्न नपाएको राजस्थान पनि दोस्रो आईपीएल उपाधिको खोजीमा छ।

राजस्थानका लागि यो पटक यसै महीना हृदयघातका कारण निधन भएका अष्ट्रेलियन क्रिकेटर शेन वर्नलाई राम्रो सम्मान दिने मौका छ। उनकै कप्तानीमा नै राजस्थानले २००८ मा एकपटक मात्र लिग उपाधि जितेको थियो।

सन् २०११ यता राजस्थानले लिगको शीर्ष दुईमा स्थान बनाउन सकेको थिएन। यो सिजन भने राजस्थान गतिलो फर्ममा छ। जारी लिगमा सर्वाधिक रन जोड्ने इंलिस ब्याटर जस बट्लर र सर्वाधिक विकेट लिने युजवेन्द्र चहल दुवै राजस्थानकै टिममा छन्।

तर जारी लिगमा ३ शतक प्रहार गरिसकेका बट्लरको ब्याट पछिल्ला केही खेलमा भने चल्न सकेको छैन। राजस्थानलाई यस खेलमा जितका लागि बट्लर फर्म आउनु आवश्यक छ।

राजस्थानको भर ने बट्लर र कप्तान सन्जु स्यामसनसँगै माथिल्लो क्रमका चार ब्याटरमा छ। यो सिजन सर्वाधिक ११६ छक्का प्रहार गर्ने टिम पनि राजस्थान नै हो। त्यस्तै बलिङमा टिमको हतियार भनेको स्पिनरद्वय चहल र रविचन्द्र आश्विनको जोडी हो।

गुजरात भने मिडिल अर्डर ब्याटिङमा निर्भर छ। गुजरातलाई जितका लागि कप्तान पाण्ड्यासँगै अलराउण्डर राशिद खान, राहुल तिवतिया र डेभिड मिलरको ब्याटिङ चल्नु आवश्यक छ। यिनै अलराउण्डरको भरमा गुजरातले लिग चरणमा रन चेज गरेको सात भध्ये ६ खेल जितेको थियो।

लिग चरणमा भएको यी दुईबीच एक मात्र खेल गुजरातले ३७ रनले जितेको थियो। राजस्थान उक्त हारको बदला लिन चाहन्छ। आफ्नो कोर टिमलाई नै विश्वास गर्नु र प्रायः खेलमा एउटै टिमलाई निरन्तरता दिनु नै यी दुवै टिमको हालसम्मको सफलताको राज हो। दुवै टिम ६ ब्याटर र पाँच बलरको एकै शैलीमा मैदानमा उत्रने गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved