खोटाङमा एमाले तेस्रो

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ।

खोटाङमा एमाले तेस्रो

खोटाङ। ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार नेकपा (एमाले) दुई पालिका प्रमुख, दुई उपप्रमुख र १९ वडाध्यक्षमा सीमित भएको छ।

विसं २०७४ को चुनावमा पाँच पालिका प्रमुख, सात उपप्रमुख र ३६ वडाध्यक्ष जितेको एमालेले यस पटकको निर्वाचनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख र उपप्रमुख, ऐँसेलुखर्क गाउँपालिकामा प्रमुख तथा रावाबेँसी गाउँपालिकामा उपप्रमुख जितेको हो।

अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, रावाबेँसी गाउँपालिकामा प्रमुख र उपप्रमुख तथा ऐँसेलुखर्क र बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको थियो।

यस वर्षको निर्वाचनमा सत्तारुढ चार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएपछि अघिल्लो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेले ठूलो क्षति व्यहाेरेकाे हो। विसं २०७४ मा चार प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यस पटक छ प्रमुख, चार उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ।

कांग्रेसले यस पटकको निर्वाचनमा हलेसी तुवाचुङ नगरपालिकामा प्रमुुख र उपप्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी, बराहपोखरी, साकेला र रावाबेँसी गाउँपालिकामा प्रमुख तथा ऐँसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकामा उपप्रमुख जितेको हो। यसअघि कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रमुख तथा उपप्रमुख, ऐँसेलुखर्क र बराहपोखरीमा प्रमुख तथा साकेलामा उपप्रमुख जितेको थियो।

अघिल्लो निर्वाचनमा एक प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यस पटक दुई प्रमुख, दुई उपप्रमुख र २३ वडाध्यक्ष जितेको छ। विसं २०७४ मा साकेला गाउँपालिका प्रमुख जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ।

खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्तारुढ चार दलबीच चुनावी गठबन्धन थियो भने साकेला गाउँपालिकामा एक्लाएक्लै प्रतिस्पर्धा भएको थियो। भर्खरै स्थापना भएको नेकपा (एकीकृत समाजवादी)ले एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ। चुनावी तालमेलमा सहभागी एकीकृत समाजवादीले सत्तारुढ चार दलीय गठबन्धनको तर्फबाट बराहपोखरी गाउँपालिकामा उपप्रमुख जितेको हो।

यस्तै जनता समाजवादी पार्टीले पनि एक उपप्रमुख र दुई वडाध्यक्ष जितेको छ। कांग्रेस बाहेक तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच चुनावी तालमेल भएको केपिलासगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट जसपाले उपप्रमुख जितेको हो। अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एउटा वडाध्यक्ष जितेको राप्रपाले यस पटकको निर्वाचनमा एउटा सदस्यसमेत जित्न सकेन। खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन्।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐँसेलुखर्क, खोटेहाङ, जन्तेढुङ्गा, बराहपोखरी र रावाबेँसी गाउँपालिकामा कांग्रेससहितको चुनावी गठबन्धन भएको थियो। हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र साकेलामा भने कांग्रेस एक्लै प्रतिस्पर्धामा थियो।

कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको पालिकामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी मात्रको चुनावी तालमेल भएको थियो। कतिपय ठाउँमा तालमेल नमिल्दा गठबन्धनले पनि हार बेहोरेका छन्।

गठबन्धन भएको ऐँसेलुखर्क गाउँपालिकामा गाउँपालिका प्रमुखका साझा उम्मेदवार माओवादी केन्द्रका श्रीबहादुर राई र रावाबेँसी गाउँपालिकामा उपप्रमुखका साझा उम्मेदवार लीलानारायण श्रेष्ठ पराजित भएका छन्।

स्थानीय तहको निर्वाचनमा जिल्लामा १९ वटा राजनीतिक दलले भाग लिएका थिए। एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ८७ हजार ८८ जना मतदाताले मतदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved