१५ देश पुग्यो मंकीपक्स, नेपालमा बढाइयो निगरानी

नेपालमा पनि यसकाे सम्भावित जाेखिम रहेकाे भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ।

नेपालभ्युज

१५ देश पुग्यो मंकीपक्स, नेपालमा बढाइयो निगरानी

काठमाडौं। मंकीपक्सको संक्रमण विश्वका १५ देशमा फैलिसकेकाे छ।

पछिल्लो समय अष्ट्रेलिया, इजरायल, स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको छ। नेपालमा पनि यसकाे सम्भावित जाेखिम रहेकाे भन्दै सरकारले विशेष सावधानी अपनाउन आम नागरिकहरूलाई आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताए। विदेशबाट आउने नेपाली नागरिक र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म बाहिर कुनैपनि सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल सफा गर्न उनकाे सुझाव छ।

सहप्रवक्ता अधिकारीले मंकीपक्सको संक्रमणबाट बच्न सरकारले आवश्यक कदम चालिसकेको र सीमा नाकाहरूमा निगरानी बढाएको जानकारी दिए। विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा भएको कार्यालयसँग नियमित सम्पर्कमा रहेर प्राप्त प्राविधिक सुझावका आधारमा आवश्यक निर्णय गर्दै जाने उनले बताए।

‘‘स्वास्थ्य सावधानी अपनाउँदा हामीमा यदि भाइरस आएको छ भने पनि निष्क्रिय भएर जान्छ। मास्ककाे प्रयाेग गर्ने, साबुनपानीले हात धुने गर्नुपर्छ,’’ सहप्रवक्ता अधिकारीले भने, ‘‘संक्रमण फैलिएकाे ठाउँबाट आएका व्यक्तिमा जो ज्वरो आएको छ, शरीरमा फोका आएको छ, शरीर चिलाउँछ भने तत्काल नजिकमा रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। ’’

सहप्रवक्ता अधिकारीका अनुसार मंकीपक्सका भाइरस शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिबिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्छ। उनले यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि आग्रह गरे।

मंकीपक्स भएर मृत्यु हुनेको दर १० प्रतिशत रहेको उनले जानकारी दिए। उनले मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करीब तीन महिनापछि आफैँ हराएर जानसक्ने भएकोले डराउन आवश्यक नरहेको भएपनि स्वास्थ्य सुरक्षा भने अपनाउनु पर्ने बताए। मंकीपक्स भएको तीनदेखि ४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नसक्ने सम्भावना रहेको उनकाे भनाइ छ।

अधिकारीका अनुसार मंकीपक्सको भ्याक्सिन उत्पादन भएर प्रयोगमा आइसकेको छ। याे संक्रमण आफैँ हराएर पनि जान सक्ने उनले बताए। कसैलाई ३ देखि ४ हप्तासम्म पनि लक्षण रहन सक्छ। शरीमा भाइरस प्रवेश गरेकाे दुईदेखि तीन हप्ताभित्रमा लक्षण देखाउँछ। अरु व्यक्तिमा सर्ने सभवना पनि यही समयावधि नै हो।

मंकीपक्स मध्य र पश्चिमी अफ्रिकी देशहरूका घना जंगलमा रहेका जनावरहरूको सम्पर्कमा आउने मानिसहरूमा हुनसक्ने भाइरस हो। प्रायः मुसा प्रजातीका जनावरहरूमा यसको भाइरस रहन्छ। ती जनावरहरूको शरीरबाट निस्किएका थुकका छिटाहरू, र्‍याल, तरल पदार्थ र प्रत्यक्ष सम्पर्कमा आउने जस्ता माध्यमबाट सर्ने एवं मरेका वा त्यस्ता जनावरहरूको मासु प्रयोग गर्ने मानिसहरूमा यो संक्रमण हुनसक्छ।

यो संक्रमण मान्छेबाट मान्छेमा सर्ने सम्भावना न्यून रहेको हालसम्मको अध्ययनले देखाएको छ। पछिल्लो समय यसको संक्रमण दर बढेसँगै मान्छेबाट मान्छेमा नै संक्रमण सरेकाे अनुमान गरिएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved